आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्ता छन् ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले उठाउने एजेण्डा

प्रकाशित
826
SHARES

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठकमा उठाउने एजेण्डा तय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार शीर्ष नेताहरूको बैठक बोलाएर छलफल गरेका थिए । कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने कांग्रेसको तयारी छ ।

प्रधानमन्त्री ओलीले यसअघि गएको जेठमा भारतले लिपुलेक-कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागी नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ । पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए । नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए ।

शर्माले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सम्बोधन गरेर पेश गरेको विशेष प्रस्तावमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको उल्लेख गरिएको छ ।

आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाएका हुन् ।

प्रतिक्रिया