एजेन्सी । अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक गरिएको मतगणनामा पनि जो बाइडेन विजयी भएका छन् । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियाले मतगणनाका लागि आग्रहमा जर्जियामा गरिएको तेस्रो पटकको मतगणनामा पनि ट्रम्पको पराजय भएको हो ।
रिपब्लिकनहरुको पकड रहँदै आएको राज्य जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पारेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरले तेस्रो पटक भएको मतगणनाको नतिजा घोषणा गरेका हुन् ।
ट्रम्पले भने अझै पनि बिना प्रमाण धाँधलीको आरोप लगाउँदै पराजय स्वीकारेका छैनन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ ।
बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउने पक्का भएको छ । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् । अमेरिकामा गएको नोभेम्बर ३ मा चुनाव भएको थियो ।
यसैबीच अमेरिकामा थप १ लाख ९८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९८ हजार ७९२ जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५३ लाख ६९ हजार ४६ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८९ लाख ८२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६० लाख ९६ हजार ३५७ जनामध्ये २६ हजार ४५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ९० हजार नाघेको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०८ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९० हजार ४४३ पुगेको छ ।
प्रतिक्रिया