आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजावादी सडकमा आएपछि ओलीले चाले यस्तो कदम

प्रकाशित
799
SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । देशभर राजावादीहरुको आन्दोलन बढेसँगै यसबारे छलफल गर्नका लागि ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको पुष्टि गरे ।

संघीय संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाइएको बताइएको छ । पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएका छन् । गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए ।

नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए । शर्माले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सम्बोधन गरेर पेश गरेको विशेष प्रस्तावमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको उल्लेख गरिएको छ ।

नेकपाको सरकार र गृह प्रशासनले यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको भन्दै संघीयताको पक्ष्यधर सबै पार्टीहरुको बीचमा छलफल आयोजना गरी जनभावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

कोरोना महामारीका बीच नै गणतन्त्रमाथि प्रश्न उठाउँदै ठूलो संख्यामा युवाहरु सडकमा आएपछि तरंग उत्पन्न भएको छ । यसअघि प्रधानमन्त्रीले गत वैशाखमा भारतले सीमा मिचेपछि सर्वदलीय बैठक बोलाएका थिए ।

यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा रहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली पार्टी एकतामा गम्भीर नदेखिएको आरोप लगाएका छन् ।

उनले पार्टी कमिटीको बैठक बोलाउन निवेदन हाल्नुपर्ने परिस्थिति आएको भन्दै ओलीले पार्टीलाई अपमान गरेको तथा पार्टी एकतामा गम्भीर नदेखिएको आरोप लगाएका हुन ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले निवेदन हाल्नुपर्ने अवस्था पार्टीकै लागि लज्जाबोधको विषय भएको समेत टिप्पणी गरे। बैठकमा दाहालले दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउन आफूले अध्यक्ष पद त्याग्न तयार रहेको पनि बताएका थिए ।

यसअघि गत १३ मंसिरमा बसेको पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दोस्रो पुस्तामा नेतृत्व दिन तयार रहेको बताउँदै प्रचण्ड तयार भए नभएकोबारे प्रश्‍न उठाएका थिए।

अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा अध्यक्ष र प्रधानमन्त्रीको पदभन्दा ठूलो गणतन्त्रको रक्षा र पार्टी एकता बचाउने काम भएकाले आफ्ना लागि पद गौण कुरा भएको बताए।

अध्यक्ष दाहालले आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बैठकमा बताए । अर्का अध्यक्ष ओलीले उनको प्रस्तावलाई अभियोग पत्र र ‘आरोप पत्र’ भनिरहेका बेला उनले त्यो प्रस्ताव फिर्ता नुहने मत राखेका हुन्। बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले ओलीले पठाएको पत्र पढेर सुनाएका थिए ।

स्थायी कमिटी सदस्य भीम रावलले ओली भौतिक रूपमा उपस्थित नभए पनि पत्र पठाएपछि त्यसलाई उपस्थिति नै मान्नुपर्ने तर्क गरेका थिए । स्थायी कमिटीको बैठकपछि सञ्चारकमीसँग कुराकानी क्रममा उनले भने, ‘उहाँले आजको बैठकमा पत्र पठाएपछि आएसरह नै हो।

बैठकमा आगामी बैठकमा आउनुहुन्छ, लपार्टीभित्र देखिएका समस्या समाधानका लागि गम्भीर रुपमा छलफल गरेर जानुपर्छ।’ पार्टीभित्रको संकट स्थायी कमिटी र केन्द्रीय कमिटी बसेर नै समाधान गर्नुपर्ने उनले बताए । भने, ‘उहाँले पत्रमा बैठक बहिष्कार गर्छु भन्नुभएको छैन।’

रावलले अध्यक्ष दाहालले सम्बोधनका क्रममा पार्टी एकतामा नै सबैजना दृढ हुनुपर्ने मत राखेको बताए। दाहालले बैठकमा एकताको विकल्प एकता नै भएको चर्चा गर्दै मिलेर जानुमा नै सबैको भलो हुने धारणा राखेको रावलले सुनाएका थिए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्सिर २८ गतेसम्म बैठक स्थगित गर्ने निर्णय भएको जानकारी गराए । यसअघि मङ्सिर २५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस ५ गते बस्ने निर्णय भएको छ ।

प्रतिक्रिया