आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

किसानलाई दुख दिने बैंकलाइ ठेगान लगाउदै विप्लव, ब्याज र किस्ता उठाउन रोक

प्रकाशित
839
SHARES

काठमाडौँ । विप्लव नेतृत्वको बिद्रोही नेपाल कम्युनिस्ट पार्टी अछामले गाउँका किसानसँग ब्याज र किस्ता उठाइरहेका कर्मचारीलाई गाउँ प्रवेशमा रोक लगाउनुका साथै बैंकले उठाएको ब्याज र किस्ता रकम नियन्त्रणमा लिएको छ ।

नेकपा अछामले कोरोना महामारीको अबधीभर किसानसँग ब्याज र किस्ता नउठाउन आफ्नो पार्टीले दिएको निर्देशनलाई अटेर गर्दै लघुवित्तीय संस्थाले किसानसँग निरन्तर रकम उठाएको भन्दै उक्त कार्य नगर्न चेतावनी दिंदै उठाईरहेको रकम समेत नियन्त्रणमा लिएको छ ।

ओली नेतृत्वको सरकारले कोरोनाको बढ्दो सङ्क्रमण रोक्न स्थानिय तह सिल गरेको अवस्थामा पनि कमलबजार नगरपालिका वडा नं ६ हात्तीवाजमा जनतालाई भेला गरी ब्याज र किस्ता उठाइरहेको निर्धन लघुवित्त वित्तीय संस्था शाखा मङ्गलसेन अछामका फिल्ड कर्मचारीलाई ब्याज र किस्ता उठाउन नदिई फिर्ता पठाइदिएको नेकपा अछामले सञ्चारकेन्द्रलाई बताएको छ ।

यस्तै जम्मा गरिएको नगद २६ हजार ६ सय ३० पनि नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको रकम पत्रकार सम्मेलन गरी सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गरिने नेकपाले जनाएको छ ।

यस्तै नेकपा मातहातको थारुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद् कैलालीले शेखमुनिर खान अहमदका नाममा पासबन्धकी भएको जग्गा कब्जामा लिएको छ । धनगढीस्थित वडा नं ७ निवासी भोजराज विकको जग्गा विभिन्न प्रलोभन देखाई अहमद मुनिरखानले पछि फिर्ता गर्ने सर्तमा ११ कट्ठा १० धुर जमिन आफ्नो नाममा पास गरेका थिए । उक्त जग्गाको हालको मूल्य प्रतिकट्ठा ५० लाखदेखि ७० लाखसम्म खरिदबिक्री भइरहेको पाइएको छ ।

दुई वर्षपहिले जग्गाधनी भोजराज विकले छोराको पढाइखर्च र घरायसी खर्चका लागि केही रकम अहमदसँग लिएको र पछि उक्त रकमको सावाँ र ब्याज फिर्ता लिई जग्गा फिर्ता गर्न खान तयार नभएपछि विकले आफ्नो जमिन फिर्ता लिन अदालत धाएर पनि न्याय नपाएपछि जनअदालतमा आएका थिए ।

अदालतलाई खानले आफ्नो प्रभावमा पारेर उक्त मुद्दा पटकपटक तामेलीमा राखी किसानको जग्गा कब्जा गर्ने रणनीति लिएको नेकपाको अनुसन्धानबाट खुलेको जनाइएको छ । मुनिरखान विभिन्न पार्टीका नेता, प्रशासन र अदालतको संरक्षणमा अवैध मिटरब्याज, ढुकुटीमा संलग्न व्यक्ति रहेको पनि जनअदालतले ठहर गरेको छ ।

भोजराज विकले जिल्ला प्रशासन कैलाली र जिल्ला अदालत कैलालीले न्याय नदिएपछि नेकपा कैलालीको न्याय तथा कानुन विभागमा मुद्दा दर्ता गराएका थिए । उक्त निवेदनमाथिको छलफलमा न्याय तथा कानुन विभागले मुनिरखानले दिएको रकमको बैङ्किङ ब्याज र सावाँ फिर्ता लिई जमिन फिर्ता गर्न वा दिएको रकमबराबरको जमिन लिई बाँकी जमिन फिर्ता गर्न आदेश दिएको थियो ।

उक्त आदेश कार्यान्वयन नभएपछि जिल्ला जनपरिषद्लाई कारबाहीका लागि जिल्ला न्याय तथा कानुन विभागले सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार पार्टीले जग्गा कब्जा गरेको नेकपा कैलालीले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ ।

प्रतिक्रिया