आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालको राजनीतिबारे भारतीय जनता पार्टीले मुख खोल्यो

प्रकाशित
648
SHARES

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले नेपालको राजनीतिक अवस्थाका बारेमा आफ्नो दृष्टिकोण स्पष्ट पारेको छ । नेपाल–भारत सम्बन्ध सुधार भइरहेको अवस्थामा भाजपाको मातृ संगठन राष्ट्रिय स्वंयसेवक संघले आफ्नो मुखपत्र ‘पाञ्चजन्य’मार्फत नेपालको राजनीतिका बारेमा टिप्पणी गरेको हो । २०२० डिसेम्बरको संस्करणमा सो पत्रिकाले ‘चीन के चगुंल मे नेपाल की राजनीति’ अर्थात् ‘चीनको नियन्त्रणमा नेपालको राजनीति’ शीर्षकमा लेख प्रकाशित गरेको छ ।

काठमाडौंबाट पंकज दासले लेखेको सो लेखमा नेपालको राजनीति चीनको नियन्त्रणमा रहेको दावी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारततर्फ ढल्केको पनि सो लेखमा उल्लेख छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रथम प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने दाउमा रहेको र संविधान संशोधन गरी कसरी बहुदलीय व्यवस्था समाप्त गरेर देशमा एकदलीय शासन प्रणाली लागु गर्न सकिन्छ भने प्रचण्डको सोच रहेको पनि सो लेखमा उल्लेख छ ।

सो पत्रिकामा उल्लेख गरिएअनुसार संविधान संशोधनका लागि दुई तिहाइ बहुमतको आवश्यकता पर्ने तर सत्तारुढ नेकपासँग त्यसका लागि १५ जना सांसद कम भएका कारण प्रचण्डकै योजनामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराइएको थियो ।

संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सामेल गर्ने कुरा त्यतिबेला नै ओलीलाई मन नपरेको पनि सो पत्रिकाले उल्लेख गरेको छ । त्यतिमात्र होइन, प्रचण्डकै योजनामा डा.बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भएको पनि सो पत्रिकाले दावी गरेको छ ।

नेपालमा दुई पार्टी (एमाले र माओवादी) लाई मिलाउने काम चीनले गरेको उल्लेख गर्दै उक्त लेखमा दुई ठुला कम्युनिस्ट पार्टी मिलेर बनेको नेकपाको आडमा चीनले नेपालमा आफ्नो बर्चस्व देखाउने प्रयास गरिरहेको उल्लेख छ । तर नेपाल र भारतबीचको सम्बन्धले गर्दा चीनलाई गाह्रो भइरहेको र त्यसका लागि चीनले भारतका खुफिया एजेन्सी ‘रअ’सँग आफ्नो सम्बन्ध बनाउन थालेको जिकिरसमेत लेखमा गरिएको छ । चीनले दिल्लीको ‘साउथ ब्लक’सँग आफ्नो सम्बन्ध बनाउन नेपालका बामपन्थी नेताहरुलाई पठाउन थालेको उल्लेख गर्दै लेखमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा.भट्टराई कुनै बेला ‘रअ’को निकै नजिक रहेको दावी गरिएको छ ।

चीनले नेपालमा ‘साइलेन्ट डिप्लोमेसी’ गरिरहेको लेखमा बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी जो तत्कालीन एमालेको प्रभावशाली नेतृ थिइन्, उनले नेपालमा चिनियाँ मोडेलको शासन व्यवस्था अपनाउन इन्कार गरेको पनि राष्ट्रिय स्वयंसेवक संघको मुखपत्रमा प्रकाशित लेखमा उल्लेख छ । राष्ट्रपति भण्डारीले त्यसलाई इन्कार गरेपछि प्रधानमन्त्री ओलीलाई पनि बल पुगेको र अहिले सोही बलका आधारमा उनी प्रचण्डसँग भिडिरहेको जिकिर गरिएको छ । अहिले नेकपा विभाजनको अवस्थामा पुगे पनि चीनले कुनै पनि हालतमा नेकपामा विभाजन नहोस् भन्ने चाहेको जिकिर लेखमा गरिएको छ ।

चीनले नेकपाभित्रको विवाद सुल्झाउनका लागि प्रधानमन्त्री ओलीमाथि दुईमध्ये एक पद छाड्न दबाब बनाइरहेको तर ओलीले चीनको सुझावलाई अस्वीकार गर्दै आएको पनि ‘पाञ्चजन्य’ मा प्रकाशित लेखमा उल्लेख छ । अहिले ओलीकै अगुवाईमा नेपाल र भारतबीचको सम्बन्धमा सुधार भइरहेको र यो कुरालाई चीन र प्रचण्डले पचाउन नसकेको उक्त लेखको निष्कर्ष छ । पार्टी विभाजन रोक्नका लागि चीनले आफ्ना रक्षामन्त्रीलाई नेपाल भ्रमणमा पठाएको पनि लेखमा उल्लेख छ ।

आरएसएस र भाजपाको सम्बन्ध
भारतको राजनीतिमा आरएसएस अन्तर्गत नै भाजपा क्रियाशील रहँदै आएको छ । आरएसएसको सयभन्दा बढी विभिन्न संगठन छन्, त्यसमध्ये भाजपा पनि एक हो । भाजपाको रिमोट कन्ट्रोल आरएसएससँगै हुन्छ । भाजपाले गर्ने कुनै पनि महत्वपूर्ण निर्णय पहिला आरएसएसबाट पारित भएर आउनुपर्छ ।

भाजपामा शक्तिशाली मानिएको पद ‘महासचिव’ आरएसएसबाटै चयन हुन्छ । केन्द्रमा मात्र होइन, प्रदेशमा पनि त्यही नीति लागु हुने गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं आरएसएसका प्रचारक हुन् । उनीमात्र होइन, केन्द्र सरकारका अधिकांश मन्त्री तथा पार्टीका पदाधिकारीहरु आरएसएसका प्रचारक हुन् ।

आरएसएसले लिने नीति नै भाजपाको नीति मानिन्छ । त्यसैले नेपालको वर्तमान राजनीतिका बारेमा आरएसएसले आफ्नो मुखपत्र पाञ्चजन्यमा उल्लेख गरेको विषय आरएसएसकै दृष्टिकोण र भाजपाका लागि मार्गदर्शकका रुपमा लिने गरिन्छ ।

सो लेखमार्फत नेपालको बारेमा भाजपाले आफ्नो दृष्टिकोण स्पष्ट पारेको कतिपयको विश्लेषण छ । सरकारको नेतृत्व गरेको कारण भाजपाले सिधै टिप्पणी गर्न नमिल्ने भएकाले पनि आरएसएसमार्फत नेपालको राजनीतिबारे आफ्नो धारणा स्पष्ट पारेको उनीहरुको तर्क छ । उक्त लेखका लेखक दास स्वयं पनि आरएसएसका प्रचारक भएको बताइएको छ ।

प्रतिक्रिया