आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

११ वटा पालिका कोभिड १९ को उत्कृष्ट व्यवस्थापन गर्ने स्थानीय तहको सूचीमा

प्रकाशित
361
SHARES

पाेखरा । गण्डकी प्रदेशका ११ वटा पालिका कोभिड १९ व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ प्रदेशका जिल्लाबाट एक–एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले कोरोना संक्रमणको व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको ११ स्थानीय तहको सूची गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए ।

उत्कृष्ट व्यवस्थापन गर्नेको सूचीमा कास्कीको पोखरा लेखनाथ महानगरपालिकासहित ११ वटै जिल्लाका एक एक वटा स्थानीय तह परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका, पर्वतको जलजला गाउँपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, तनहुँको देवघाट गाउँपालिका उत्कृष्ट स्थानीय तहको सूचीमा परेका छन् ।

यस्तै, लमजुङको सुन्दरबजार नगरपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपरासी (ब.स.पू) उत्कृष्ट व्यवस्थापनको सूचीमा परेका छन् ।

महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, सङ्क्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरुको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए ।

यसैबीच धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास–२ की २२ वर्षीया सुत्केरीको आज बिहान २:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई जनकपुर सिटी अस्पतालले प्रतिष्ठानमा पठाएको थियो । प्रतिष्ठानमा लगिएपछि गत मंसिर २ गते गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया