आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पहिलोपटक नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्रीले दिए यस्तो प्रतिक्रिया

प्रकाशित
337
SHARES

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारे ।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए। “भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो ”, कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने ।

रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए ।

चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत हुन् ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

गत वर्षको अक्टोबर महिनामा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेयता चीनबाट नेपाल भ्रमण गर्ने उनी उच्च पाहुना हुन् । पछिल्लोपटक चिनियाँ रक्षामन्त्रीले सन् २०१७ मा नेपालको भ्रमण गरेका थिए । त्यसपछि नेपालको तर्फबाट दुईपटक रक्षामन्त्री र सेनापतिले छुट्टाछुट्टै चीनको भ्रमण गरेका थिए । यस हिसावले चिनियाँ रक्षामन्त्रीको भ्रमण नियमित हो ।

चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षता चिनफिङ आफैंले गर्ने हुँदा राष्ट्रपति र रक्षामन्त्रीको एकदमै निकटको सम्बन्ध हुन्छ । त्यसमाथि पनि उनी चिनियाँ राष्ट्रपतिको कोर टिम भित्रका व्यक्ति हुन् । त्यसैले यतिबेला उनको भ्रमण हुनुले निकै महत्व राख्छ तर यस विषयमा केही जानकारी दिइएको छैन ।

विशेषत अफिसियल भ्रमणमा बढी औपचारिक कार्यक्रमहरु हुने गर्दछन् तर वर्किङ भ्रमणमा भने औपचारिक कार्यक्रमहरु कम र अनौपचारिक बढी हुन्छ । चिनियाँ रक्षामन्त्रीको पनि औपचारिक भन्दा अनौपचारिक भेटघाट र कार्यक्रम रहेको छ ।

सैन्य सहकार्य सुदृढ बनाउने – नेपाल र चीनको बिचमा पछिल्लो समयमा सैन्य क्षेत्रमा सहकार्य निकै बाक्लिएको छ । तर सन् २०२० मा कोभिड–१९ का कारण सैन्य सहकार्य रोकियो । सन् २०१७ बाट दुवै मुलुकले संयुक्त अभ्यास गरे तर यस वर्ष त्यो हुन सकेन । यति मात्र होइन, चीनले नेपाललाई प्रदान गर्ने भनेको सैन्य सहयोग पनि महामारीका कारण रोकिएको छ ।

आगामी वर्षमा चाहिँ समयमा नै सैन्य अभ्यास गर्ने प्रस्ताव चीनले पठाएको छ । गत वर्ष तत्कालीन रक्षामन्त्री ईश्वर पोखरलेलको चीन भ्रमणको समयमा चीनले नेपाललाई गर्ने सैन्य सहयोग र प्रोटोकलको विषयमा सहमति भएको थियो तर त्यो कार्यान्वयन हुन सकेको छैन ।

त्यसैगरी चिनियाँ सेनाले नेपाली सेनाका अधिकृतलाई प्रदान गर्ने सहयोग पनि यस बिचमा रोकिएको छ । यसबाहेक अन्य द्विपक्षीय भ्रमण आदान प्रदानका विषय छन् । झण्डै दुई घन्टा सैन्य मुख्यालयमा बिताउने चिनियाँ रक्षामन्त्रीले यी सबै विषयमा कुराकानी गर्नेछन् । नेपाली सेनाले उनलाई गार्ड अफ अनर दिने कार्यक्रम छ ।

सीमा विवादको प्रसंग – केही महिनायता हुम्लामा चीनले नेपाली भूभाग मिचेको विषय निकै चर्चामा छ । तर नेपाल सरकार र चीनले भने त्यसको खण्डन गर्दै कुनै पनि नेपाली भूभाग नमिचिएको बताउँदै आएका छन् । चीनले सीमा मिचेको सम्बन्धमा केही समययता सडकमा प्रदर्शनहरु समेत भइरहेका छन् ।

समाचार स्रोतका अनुसार यो विषयलाई चीनले निकै गम्भीर रुपमा लिएको छ । यस विषयलाई लिएर विशेषत प्रमुख विपक्षी नेपाली कांग्रेस र काठमाडौस्थित चिनियाँ दुतावासको बिचमा पत्रको आदानप्रदान समेत भएको छ । समाचार स्रोतका अनुसार नेपाली नेतृत्वसँगको भेटमा उनले यस विषयमा समेत कुराकानी गर्नेछन् ।

चिनियाँ राष्ट्रपतिको सन्देश – चिनियाँ रक्षामन्त्री राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आउन लागेका हुन् । दुईृ देशको बिचमा रहेको राजनीतिक सम्बन्ध, बेल्ट एण्ड रोड लगायतका अन्य द्विपक्षीय सम्बन्धमा चिनियाँ राष्ट्रपतिको सन्देश उनले प्रधानमन्त्री र राष्ट्रपतिलाई सुनाउने छन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समयमा धेरै विषयमा सहमति भयो तर त्यसलगत्तैको कोभिड–१९ का कारण सहमति कार्यान्वयन हुन सकेनन् ।

यसबाहेक अन्य क्षेत्रीय सुरक्षाका विषयहरुमा समेत छलफल हुने स्रोतको भनाइ छ । नेपालले एक चीन नीतिप्रति लामो समयदेखि प्रतिवद्धता जनाइरहेको छ । यद्यपि नेपालमा हुनसक्ने चीन विरोधी गतिविधिप्रति चीनको जहिले पनि गहिरो चासो हुने गरेको छ ।

चिनियाँ रक्षामन्त्रीले हालै भारत र अमेरिकाको बिचमा भएको रक्षा सम्झौता, इन्डोप्यासेफिक रणनीति र त्यसले नेपाललगायत दक्षिण एसियाली मुलुकमा पार्न सक्ने असरको बारेमा पनि छलफल गर्नेछन् । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरेर फर्केको एक दिनपछि चिनियाँ रक्षामन्त्री काठमाडौं आएका हुन्।

प्रतिक्रिया