आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खुला मञ्‍चमा गरिबलाई खाना खुवाउन रोक लगाउने महानगरको निर्णयप्रति साझा पार्टीको विरोध

प्रकाशित
648
SHARES

काठमाडौँ । खुला मञ्‍चमा असहायहरुलाई खाना वितरणमा काठमाडौं महानगरपालिकाले रोक लगाएकोमा साझा पार्टीले आपत्ति जनाएको छ । केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौंको खुलामञ्चमा असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले विज्ञप्तिमार्फत भर्त्सना गरेको हो ।

पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।’

महानगरपालिकाको कदमको विरोध जनाउन बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने प्रवक्ता पाठकले जानकारी दिए । ‘साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले,’ विज्ञप्तिमा भनिएको छ ।

तुरुन्त आफ्नो निर्णय फिर्ता गर्न र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गर्न सरकारलाई साझा पार्टीले अनुरोध गरेको छ ।

अभियन्ता बद्रीप्रसाद ढुंगानाले नेतृत्व गरिरहेको निःशुल्क खाना वितरण अभियान बिगत ३७ दिनदेखि जारी छ । अभियानमा लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिन सिटी, मानवी क्रिएटिभ एसोसिएसन र सेभ एसोसिएसन नेपालले सहकार्य गरेका छन् । उनीहरूले खुलामञ्चमा प्लेटमा दाल, भात, तरकारी र अचार खुवाउने गर्छन् ।

यता काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नागरिककै आग्रहमा निःशुल्क खाना वितरण रोक्ने निर्णय गरिएको बताए । लकडाउन खुलेपछि खुलामञ्चलगायत ठाउँमा मान्छेको आवतजावत बढेको, सवारीसाधन चल्न थालेको र बाहिर त्यतिकै खुवाउँदा शोभनीय नदेखिएकाले त्यस्ता ठाउँमा खाना वितरण रोक्नु आवश्यक भएको डंगोलको जिकिर छ ।

‘खाना खाएर हात धुने ठाउँ छैन, शौचालय छैन, यत्रतत्र फोहोर गरेको छ, अरू मान्छेलाई हिँडडुलमा समस्या भएको छ । यो त ठीक भएन नि,’ उनी भन्छन्, ‘यस्तो अव्यवस्थित काम रोक्न नागरिकबाट व्यापक गुनासो आएको छ । हामीले नागरिककै आवाज सुनेका हौं ।’ लकडाउनका बेला सुनसान भएकाले खुलामञ्चलगायत खुलाक्षेत्र खाना खुवाउन ठिकै भए पनि अहिले उपयुक्त नभएको उनले बताए । कोरोना त्रास बढेसँगै गत चैत ११ गतेबाट देशव्यापी लकडाउन भयो ।

दैनिक ज्याला-मजदुरी गरेर जीविकोपार्जन गरिरहेकाहरूलाई लकडाउनले आहत बनायो । बिहान–बेलुका छाक टार्नै धौधौ भएर छटपटिएकालाई राजधानीका खुलामञ्च, कालीमाटी, पशुपतिलगायत ठाउँमा मनकारीहरूले निःशुल्क खाना खुवाउन सुरु गरेका थिए, जुन अधिकांश क्षेत्रमा अझैं निरन्तर छ । चैत १४ गतेबाट हन्ड्रेड ग्रुपले यो पुण्यकर्म थालनी गरेको थियो ।

यसका संस्थापक बब्लु गुप्ताका अनुसार अहिले पनि पशुपति र खुलामञ्चमा दैनिक ४ सय जनालाई निःशुल्क खाना खुवाइन्छ । यसमा ‘हाम्रो सानो प्रयास’ लगायत अन्य अभियानले सहकार्य गरेका छन् । गुप्ताले पनि महानगरको निर्णयको विरोध गरे । ‘हामी दैनिक खुलामञ्च र पशुपतिमा खाना खुवाउँछौं, अहिलेसम्म महानगरपालिकाले रोकेको छैन,’ गुप्ताले भने, ‘तर, कतिपय साथीहरूलाई रोकेको र महानगरपालिकाले रोक्ने निर्णय गरेको भन्ने सुनें । हामी यसको प्रतिवाद गर्छौं ।’

प्रतिक्रिया