आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डको आदेशमा किन रोकियो मन्त्रिपरिषद् पुनर्गठन ? यस्तो छ कारण

प्रकाशित
494
SHARES

काठमाडाैं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन अन्तिम समयमा आएर एकाएक राेकिएकाे छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको स्रोतले जनाएको छ ।

आज (आइतबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन हिजो साँझ नै आग्रह गरेका थिए । तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको हो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरु रावल र बुढालाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही जुटेका छन् ।

नेता नेपाल पक्षका सात सांसद अविश्वासको प्रस्तावबाट पछि हटेपछि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गरेका छन् । सोही सहमतिअनुसार, कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् ।

ओली निकट यमलाल कँडेलको नेतृत्वमा नेकपाकै १८ सांसदले हस्ताक्षर गरी तयार भएको अविश्वासको प्रस्ताव अगाडि बढाउने गुलाबजंग शाहलाई प्रमुख सचेतकबाट बर्खास्त गर्दै मुख्यमन्त्री शाहीले सीता नेपालीलाई प्रमुख सचेतक नियुक्ति गरिसकेका छन् ।

तर, ओली-प्रचण्डले थप निर्णय नलिन निर्देशन दिएपछि मुख्यमन्त्री शाही आफूले गरेको सहमति कार्यान्वयन गर्नबाट रोकिएका थिए । कर्णालीका नेताहरुसँग छुट्टा-छुट्टै बसेका ओली र प्रचण्ड बीच पनि विवाद हल गर्नेबारे सहमति नजुटेपछि मुख्यमन्त्री शाही अगाडि बढ्न खोजेका छन् ।

त्यसैअनुसार, सामाजिक विकास विकासमन्त्री रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढालाई राजीनामा गर्न मुख्यमन्त्री शाहीले आग्रह गरे । तर, प्रधानमन्त्री ओलीले राजीनामा नगर्न, बरु हटाए हट्न भनेपछि मन्त्री रावलले सामाजिक सञ्जाल मार्फत् मन्त्रालयबाट विदाइ हुने संकेत दिएका थिए । जुन फेसबुक स्टाटस उनले हटाइसकेका छन् ।

तर, प्रचण्डको निर्देशनपछि ओली पक्षका दुवै मन्त्रीलाई मुख्यमन्त्री शाहीले आजै हटाउने तयारी भने रोकिएको छ । नेपाल समूहले मन्त्रीका लागि चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम सिफारिस गरेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा ३३ सांसद नेकपाका छन् ।

नेकपाको एकीकृत अस्तित्व संकटमा : महासचिव पौडेल

यसैबीच नेकपा महासचिव विष्णु पौडेलले पार्टी फूटतर्फउन्मुख भएको बताएका छन् । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो मतभेद सतहमा आएकै बेला महासचिव पौडेलले नेकपाको एकीकृत अस्तित्व गम्भीर संकटमा परेको बताएका हुन् ।

केही दिन अगाडि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्रीको समेत जिम्मा पाएका महासचिव पौडेलले आइतबार दिउँसो ट्वीटमार्फत एकताका लागि योगदन गर्नसमेत सबैसँग आग्रह गरेका छन् ।

‘यतिबेला नेकपाको एकीकृत र अभिभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछु’ महासचिव पौडेलको ट्वीटमा छ ।

दुई अध्यक्ष ओली र दाहालबीच ११ दिनपछि शनिबार भेट भए पनि पार्टी सचिवालय बैठक बोलाउने विषयमा सहमति जुटन सकेको थिएन । योसँगै उनीहरुबीचको विवाद थप बढेको आंशका भैरहँदा महासचिव पौडेलले पार्टी एकतामा संकट आएको बताएका हुन् ।

गत भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद र भारतीय गुप्तचर रअका प्रमुखको अचानक भएको नेपाल भ्रमणले ओली र दाहालबीच विवाद बढाइदिएको छ ।

आइतबार नै कर्णाली प्रदेशमा मन्त्रिपरिषद् हेरफेरको तयारी भए पनि अन्तिम समयमा रोकिएको छ । पछिल्लो विवादलाई लिएर प्रधानमन्त्री ओलीले आइतबार बिहान निकट नेताहरुसँगसमेत बालुवाटारमा परामर्श गरेका थिए ।

प्रतिक्रिया