आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि १ महिना देशव्यापी लकडाउनको घोषणा

प्रकाशित
517
SHARES

कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।

कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबैले घरबाटै काम गर्न आह्वान गरेका छन् । शुक्रबारदेखि सुरू हुने लकडाउन नोभेम्बर अन्त्यसम्म जारी रहनेछ । लकडाउन भए पनि विद्यालय र अत्याव्शयक उद्योग भने खुल्न दिइने भएको छ ।

अत्यावश्यक नठानिएका उद्योग, रेस्टुरेन्ट र बार भने बन्द हुने छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा थप ३६ हजार ४३७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि अन्त्य गरिएको छ ।लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दालाई सहज भएको छ । भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन् ।

लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ । सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।

यस्तै कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ । यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८५ लाख ३ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा धेरै निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २७ लाख नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९१ लाख १८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८० लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ६९ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५७ हजार ४५४ जनाको मृत्यु भएको छ । ९१ लाख ५ हजार २३७ जना संक्रमित भएकोमा ३६ लाख ४ हजार ८३३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया