आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमणबाट नेकपा नेता चौधरीको मृत्यु

प्रकाशित
222
SHARES

सप्तरी। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मानपुर चौधरीको निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले जानकारी दिए । ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्या भएका चौधरीलाई गत कात्तिक ३ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिराटनगरमा उपचारपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएको थियो । चौधरीको स्वास्थ्य समस्या बढेपछि कात्तिक २ गते राति नै धरान रेफर गरिएको थियो । उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

उनको धरानस्थित बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो । चौधरी २०७० सालको संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।

यस्तै पाल्पामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक महिला र पुरुषको सोमबार राति मृत्यु भएको हो । पूर्वखोला गाउँपालिकाकी ६९ वर्षीय महिलाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

दुर्घटनामा परेर अस्पताल ल्याइएकी ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो । उनमा कोरोनाका लक्षण समेत देखिएको अस्पतालले जनाएको छ । रुपन्देहीमा भेन्टिलेटर नपाएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न आएका तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको पनि सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पतालका अनुसार ती पुरुषमा श्वासप्रश्वासको समस्या थियो । पाल्पामा हालसम्म १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ सय ५८ जना निको भएका छन् । २ सय ३२ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया