आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीतिक दलका नेता, कार्यकर्तालाई भीडभाडमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

प्रकाशित
131
SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई भीडभाडमा नजान आग्रह गरेको छ ।मन्त्रालयले राजनीतिक दलका ठूला नेताहरु समेत कोरोना संक्रमित हुन थालेपछि उनीहरुलाई भीडभाडमा नजान, कार्यकर्ता नभेट्न आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने, ‘दलका नेता, कार्यकर्ता र समाजका अन्य सामाजिक व्यक्तिहरु भिडभाड जाने त्यहीबाट संक्रमण सरेको सुनिएको छ। त्यहाँबाट संक्रमण देखिएकोले भिडभाडमा नजानु हुन अनुरोध छ।’ प्रवक्ता गौतमले यस्ता व्यक्तिहरुलाई सभा, गोष्ठि, जुलुसमा नजान समेत आग्रह गरेका छन्।

शिक्षामन्त्री गिरीराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टाराई, राप्रपाका अध्यक्ष कमल थापा, पूर्व स्वास्थ्यमन्त्री गगन थापालगायत नेताहरू कोरोना संक्रमित भएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो। मंगलबार पर्साको बिन्दवासनीमा जनता समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा पनि सयौंको संख्यामा कार्यकर्ता तथा नेताहरू सहभागी भएका थिए।

यस्तै सुक्रबार देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार ३७ हजार ३ सय ८२ जना संक्रिय संक्रमित मध्य २५ हजार ४६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १५ हजार ९ सय ६८ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ६५, प्रदेश २ मा ७ सय ३२, लुम्बिनी प्रदेशमा २ हजार १ सय ६५, सुदूरपश्चिम प्रदेशमा ४ सय ७०, गण्डकी प्रदेशमा ९३० र कर्णाली प्रदेशमा ७१६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय २२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा ८८ हजार ४० संक्रमित उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ५४ हजार १ सय ६७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ४ हजार ८ सय ८ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३७ हजार ३ सय ८२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया