आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी

प्रकाशित
1.6K
SHARES

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाभित्रका मन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समिति र डिसीसीएमसीको बैठकले मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा जारी सर्कुलरअनुसार जिल्ला भित्रका मन्दिर र शक्ति पीठहरुमा असोज ३० गते राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

विज्ञप्तिमा जिल्लाभरी संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । प्रशासन कार्यालयले मन्दिर र शक्तिपीठहरुमा भीड नगरिदिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

यस्चातै डपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् ।

जारी निषेधाज्ञाअनुसार वडादशैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ । चाडपर्व मनाउँदा एकाघरमा बसोवास गर्दै आएका परिवारका सदस्यको बीचमा मात्र मनाउन पाइनेछ । अनावश्यकरूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।

“घरमै बसी पूजाआजा गर्ने, चाडपर्वको अवसर पारेर कुनै पनि राजनीतिक दल, सङ्घसंस्था, क्लब, समूह तथा सञ्जालहरुको भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायत क्रियाकलाप गर्न पाइने छैन ।” प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको निषेधाज्ञामा अवैध मदिरा उत्पादन बिक्री, वितरण तथा उपभोग गर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, होहल्ला गर्ने र तीव्ररुपमा सवारी साधान चलाउने कार्य गरेको पाइए कानूनी कारवाही गरिने उल्लेख गरिएको छ ।

चाडपर्वका अवसरमा जुवातास र गैरकानूनीरूपमा चिठ्ठा खोल्ने तथा कहीँकतै त्यस्ता क्रियाकलाप भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत भनिएको छ । यसैबीच कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार भक्तपुरका ५ जना, काठमाडौंका ३, ललितपुरका २ तथा मकवानपुर, धादिङ, रामेछाप, बाग्लुङ, रुकुम पश्चिम, सुर्खेत, रुपन्देही, मोरङ, सिराहा र रौतहटका १/१ जनाको मृत्यु भएको छ ।

बालकोट, भक्तपुरकी ३८ वर्षीया महिलाको सशस्त्र प्रहरी अस्पतालमा बुधबार मृत्यु भएको छ । उच्च रक्तचाप र दमको समस्या भएकी उनलाई १७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने १८ गते अस्पताल भर्ना भएकी थिइन् ।

भक्तपुर नगरपालिका-४, भक्तपुरकी ४४ वर्षीय पुरुषको बिहीबार मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी हृदयघात भएर २८ गते अस्पताल भर्ना भएका थिए ।

लिवाली, भक्तपुरकी ७४ वर्षीया महिलाको बिहीबार भक्तपुर अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २८ असोजमा अस्पताल पुगेकी उनलाई २९ गते संक्रमण पुष्टि भएको थियो ।

थिमी, भक्तपुरका ४२ वर्षीय पुरुषको बिहीबार भक्तपुर अस्पतालमा मृत्यु भएको छ । २० असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी हृदयघात भएर २९ असोजमा अस्पताल पुगेका थिए । उनमा मधुमेहको समस्या समेत थियो ।

भक्तपुर नगरपालिका-७, भक्तपुरका ३४ वर्षीय पुरुषको बुधबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । उनी हृदयघात, शक र निमोनिया भएर २७ असोजमा अस्पताल भर्ना भएका थिए । उनमा मधुमेहको पनि समस्या थियो ।

नयाँ बानेश्वर, काठमाडौंका ७६ वर्षीय पुरुषको शुक्रबार नोबेल अस्पतालमा मृत्यु भएको छ । १८ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वास र मुटुमा समस्या भएर २३ गते अस्पताल भर्ना भएका थिए ।

तारकेश्वर, काठमाडौंकी २३ वर्षीय महिलाको शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । कलेजो र फियोको रोगबाट ग्रसित उनी निमोनिया भएर २७ असोजमा अस्पताल भर्ना भएकी थिइन् ।

पुतलीसडक, काठमाडौंकी ५२ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको छ । २५ असोजमा अस्पताल भर्ना भएकी उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

ललितपुरकी ७० वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको छ । उनी २० असोजमा अस्पताल भर्ना भएकी थिइन् र सोही दिन संक्रमण पुष्टि भएको थियो ।
ललितपुरकी १७ वर्षीया महिलाको शुक्रबार बयोधा अस्पतालमा मृत्यु भएको छ । रक्तअल्पता र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी निमोनिया र शक भएर २८ असोजमा अस्पताल भर्ना भएकी थिइन् र, सोही दिन संक्रमण पुष्टि भएको थियो ।

हेटौंडा-९, मकवानपुरका ६६ वर्षीय पुरुषको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । २७ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते संक्रमण पुष्टि भएको थियो । उनमा दम र उच्च रक्तचापको पनि समस्या थियो ।

धादिङका ४५ वर्षीय पुरुषको बिहीबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । २८ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २९ गते अस्पताल भर्ना भएका थिए ।
रामेछापकी ३३ वर्षीया महिलाको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । फोक्सोको क्यान्सरबाट पीडित उनलाई १७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९ गते अस्पताल भर्ना भएकी थिइन् ।

ढोरपाटन नगरपालिका-७, बाग्लुङका २५ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा मृत्यु भएको छ । उनी मुस्ताङमा कार्यरत सशस्त्र प्रहरी जवान हुन् । २५ असोजमा अस्पताल भर्ना भएका उनलाई २७ गते संक्रमण पुष्टि भएको थियो ।

चौरजहारी नगरपालिका-१४, रुकुम पश्चिमका ३३ वर्षीय पुरुषको शुक्रबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २१ असोजमा अस्पतालमा भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो ।

गुर्भाकोट नगरपालिका-२, सुर्खेतका २२ वर्षीय पुरुषको बिहीबार कणर्ाली प्रदेश अस्पतालमा मृत्यु भएको छ । घरमा बेहोस भएका उनलाई २८ असोजमा देउती अस्पताल भर्ना गरिएको थियो । अवस्था जटिल भएपछि प्रदेश अस्पताल लगिएको थियो ।

तिलोत्तमा नगरपालिका-२, रुपन्देहीका ६७ वर्षीय पुरुषको शुक्रबार बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उनलाई २१ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगर महानगरपालिका-३, मोरङका ६५ वर्षीय पुरुषको शुक्रबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचापको समस्या भएका उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

लाहान नगरपालिका-१, सिराहाका ६३ वर्षीय पुरषको बिहीबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । कटहरिया नगरपालिका-७, रौतहटका ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उता चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रहेको पाइएको छ । बिहीबार द ल्यान्सेट जर्नलमा प्रकाशित एक रिर्पोटका अनुसार चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ ।

उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको बताइएको छ । खोपको परीक्षणमा १८ देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई सहभागी गराइएको थियो ।

अध्ययनका अनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा एन्टीबडी बन्न बढी समय लागेको थियो । यो उमेर समूहका व्यक्तिमा एन्टीबडी बन्न ४२ दिनसम्म लागेको अध्ययनमा उल्लेख छ । युवा उमेर समूहका सहभागीमा भने २८ दिनसम्ममा एन्टीबडी विकास भएको बताइएको छ । उमेर समूहअनुसार एन्टीबडीको मात्रा पनि फरक रहेको अध्ययनमा पाइएको छ । कम उमेर समूहका व्यक्तिमा भन्दा वृद्धवृद्धामा एन्टीबडीको मात्रा कम भएको अध्ययनमा देखिएको छ ।

उक्त अनुसन्धानमा सहभागीमध्येका एक प्राध्यापक जियायोमिङ याङ भन्छन्, ‘कोरोना भाइरसको संक्रमणका कारण पाका उमेर समूहका व्यक्तिहरु बढी जोखिममा रहेकाले कोभिड–१९ खोपको सफल रुपमा विकास गरी उनीहरुको ज्यान जोगाउनु नै अनुसन्धानको प्रमुख उद्देश्य हो ।’ उनी अगाडि भन्छन्, ‘तर कहिलेकाहीँ पाका उमेरकै व्यक्तिमा खोपको प्रभावकारिता कम भएको पाइएको छ । त्यसैले ६० वर्षभन्दा माथिका बीबीआईबीपी–कोरभी खोपले एन्टीबडी विकासमा कसरी काम गर्छ भन्ने कुराको अध्ययन गर्नु महत्वपूर्ण छ ।’

अध्ययनमा सहभागी व्यक्तिहरुलाई १८–६० र ६० भन्दा माथिका गरी दुई समूहमा विभाजन गरी खोप दिइएको थियो । २८ दिनको अन्तरालमा २ मिलिग्राम, ४ मिलिग्राम र ८ मिलिग्रामको डोज दिइएको थियो । अध्ययनमा सहभागीमध्ये २१ वा २८ दिनको अन्तरालमा ४ मिलिग्रामको डोज दुई पटक लिनेहरुमा एन्टीबडीले राम्रोसँग काम गरेको बताइएको छ । कोरोनाविरुद्ध चिनियाँ कम्पनी सिनोभाक र क्यानसिनोले पनि तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिरहेका छन् ।

कोरोना भाइरस उपचार: कोभिड-१९ भएका बिरामीमा रेम्डेसिभिर ‘खासै प्रभावकारी देखिएन’

विश्व स्वास्थ्य सङ्गठनका अनुसार रेम्डेसिभिर नामक औषधिको कोभिड-१९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको छ। फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको बताएको छ।

उक्त परीक्षणमा रेम्डेसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११,००० बिरामीमा प्रयोग गरिएको थियो। ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको देखिएन।

तर रेम्डेसिभिर औषधि निर्माता कम्पनी गिलियड साइन्सेसले प्रतिक्रिया दिँदै उक्त परीक्षणको आँकडा मिल्दो नदेखिने दाबी गरेको छ। सो अध्ययनबाट कुनै निष्कर्ष निकाल्न सकिनेमा पनि उसले संशय व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड उपचारका लागि लिएका औषधिमध्ये रेम्डेसिभिर पनि एक थियो।

पहिलेको परीक्षणले जगाएको थियो आशा
गत एप्रिलमा अमेरिकामा गरिएका परीक्षणमा रेम्डेसिभिरमा कोरोनाभाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका थिए। विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको थियो।

रेम्डेसिभिरको विकास इबोलाको उपचारको लागि गरिएको हो। यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ। एप्रिलको अनुसन्धान नतिजापश्चात् विश्वभरि नै अस्पतालहरूले कोभिडको उपचारमा रेम्डेसिभिरको प्रयोग गर्दै आएका थिए।

कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएपछि यसविरुद्ध प्रयोग गर्न सकिने पहिलोमध्येको औषधिको रूपमा रेम्डेसिभिरको उपयोगिता पत्ता लागेको थियो। पछि जुन महिनामा ब्रिटेनमा गरिएको अनुसन्धानमा सस्तो र सुलभ रूपमा पाइने डेक्सामेथासन नामक स्टेरोइड औषधिले कोभिडबाट ज्यान जोगाउन सक्ने पाइएको थियो।

कोभिडका कारण गम्भीर अवस्थामा पुगेका बिरामीमा अहिले डेक्सामेथासनको धेरै प्रयोग हुने गरेको र यसले धेरैको ज्यान जोगाइरहेको बताइन्छ।

 

प्रतिक्रिया