आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोलि आइतबार देशैभरी आकस्मिक र कोभिडबाहेकका सेवा ठप्प गर्ने चिकित्सक संघको घोषणा

प्रकाशित
411
SHARES

काठमाडौँ । सत्याग्रही डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको निष्कर्ष निकाल्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । यसअघि सेवा बहिष्कारको घोषणा गरिएकोमा वार्ता सकारात्मक भएकाले स्थगित गरिएको भन्दै संघले वार्तामा सरकार गम्भीर नभएकाले आइतबार देशैभरी आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ ।

आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थमा यसभन्दा कडा आन्दोलन गर्ने संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संघले यसअघि शुक्रबार सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । तर, सरकारले वार्ता टोली गठन गरेर वार्ता सुरु भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो ।

शुक्रबार राति स्थगित भएको सरकार र केसी पक्षको वार्ता त्यसपछि सुरु हुन सकेको छैन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीका साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार दिउसो बालुवाटार पुगेका थिए । तर, उनको टोली त्यहाँबाट निस्किएपछि पनि वार्ता भएन ।

बरु २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई सरकारी वार्ता टोलीले फेरि अनशन अन्त्य गर्न आग्रह गरेको छ । शिक्षा मन्त्रालयको लेटर प्याडमा विज्ञप्ति जारी गर्दै सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले मुलुक कोरोनाले आक्रन्त रहेको बेला अनशन अन्त्य गर्न अनुरोध गरेका हुन् ।

यो समेत सरकारले १९ औं अनशनमा रहेका डा. केसीलाई सरकारले तेस्रोपटक अनशन तोड्न आग्रह गरेको हो । यसअघि सरकारका प्रवक्ता प्रदीप ज्ञवाली र शिक्षा मन्त्रीले पनि अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।

शुक्रबार राति डा. केसीको पक्षका वार्ता टोलीसँग बिना निर्ष्कष वार्ता टुंगिएको थियो । केहीबेर अघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए । त्यसपछि विज्ञप्ति आएको हो । ‘कोरोनाको विषम परिस्थितिलाई आत्मसात गर्दै अनशन अन्त्य गर्न वार्त समिति विनम्रपूर्वक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

बिहीबार र शुक्रबार केसी पक्षसँग सरकारी टोलीले वार्ता गरेको थियो । वार्ताका क्रममा केसीका मागबारे सरकारको धारणा स्पष्ट पारिएको मैनालीले जनाए । चिकित्सा शिक्षा ऐन, नियमावली जारी भईसकेको, चिकित्सा शिक्षा आयोग बनेर एकीकृत प्रवेश परीक्षा, सिट निर्धारण, एकीकृत शैक्षिकसत्र र सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति लगायत नियमन सम्बन्धि व्यवस्था गरिएको विज्ञप्तिमा जनाइएको छ ।

गेटा मेडिकल कलेजको भवन निर्माण सम्पन्न भइसकेको जनाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पठनपाठनका लागि मूल्याङ्कन प्रतिवेदन प्राप्त भइसकेको सरकारी वार्ता टोलीले जनाएको छ ।

प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिबास, बुटबल, सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजनाको काम भइरहेको तथा केसीको मागअनुसार अन्य ठाउँमा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन भइरहेको मैनालीले बताए ।

शुक्रबार राति वार्ता स्थगित भएपछि डा. केसी पक्षले दबाबका लागि सडक आन्दोलनको घोषणा गरेको छ । केसी पक्षीय वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले वार्ताको सम्भावना पूरै बन्द नभएको र वार्ताकै माध्यमबाट समस्याको समाधान गर्न आफूहरु लागिरहेको बताए ।

यसैबीच सरकारले डा. केसीका माग पुरा गर्नुको साँटो अनसन तोड्न आग्रह गरेको भन्दै उनका समर्थकहरु आक्रोशित बनेका छन् । उनीहरुले देशव्यापी आन्दोलन चर्काउने चेतवानी दिएका छन् ।

प्रतिक्रिया