आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भालुवाङ नै हुने भयो प्रदेश ५ को स्थायी राजधानी, कति पर्यो पक्ष र विपक्षमा मत ?

प्रकाशित
1.2K
SHARES

काठमाडाैं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ नै रहने भएको छ। मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ५ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

दाङको राप्ती गाउँपालिकाको भालुवाङ बजार भौगोलिक दृष्टिकोणले बुटवलदेखि १०० किलोमिटर पश्चिम भागमा पर्छ। यसरी हेर्दा राजधानी १०० किलोमिटर पश्चिममा सरेको छ। प्यूठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला भने प्रदेशको स्थायी मुकामकै सीमामा पर्छन।

दाङ जिल्लाको पूर्वीभागमा रहेको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ बजार तुलसीपुरबाट ८९ किलोमिटर पूर्व, घोराहीदेखि ६६ किलोमिटर पूर्वमा अवस्थित छ। गाउँपालिकाको केन्द्र भने भालुवाङबजार भन्दा ७ किलोमिटर पश्चिम मसुरियामा अवस्थित छ।

त्यस्तै बाँकेसँग सीमाना जोडिएको अमेलिया बजारबाट ६० किलोमिटर पूर्व र लमही बजारवाट २५ किलोमिटर पूर्वी भागमा भालुवाङ बजार रहेको छ। भालुवाङ बजार नेपाल-भारत सीमा नाका कोइलावास ३४ किलोमिटर दक्षिणमा पर्छ। कोइलावास नाका गढवा गाउँपालका वडा नं. ८ मा पर्छ।

अहिले कोइलावास सडक खण्ड कालोपत्रे भइसकेको छ। पूर्व-पश्चिम राजमार्ग निर्माण भएपछि २०२४/०२५ सालदेखि कोइलावास नाका आझेलमा परेको हो। यही कोइलाबास नाकामार्फत दाङसहित रोल्पा, प्यूठान, अर्घाखाँची, सल्यान, रुकुम, जाजरकोटसम्मका सर्वसाधारणले विगतमा नुनदेखि सुनको व्यापार गर्ने गरेको पुराना पुस्ता बताउँछन्।

दाङको देउखुरी राजधानी भएपछि कोइलाबास नाकाले पुनर्जीवन पाउने आशा गरिएको छ। यस्तै प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ।

प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। प्रदेशको नामाकरण गर्न भएको मतदानमा ८७ मध्ये ८३ जनाले भोट हालेका छन्। लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए।

मुख्यमन्त्रीले के भने ?

मुख्यमन्त्री शंकर पोखरेलले सरकारले बहुमतका आधारमा नभई संसदीय सुझाव समितिको राय र विज्ञ समूहको सुझावअनुसार नै राजधानी दाङ तोकिएको बताए । समिति र विज्ञको सुझावमा पहिलो नम्बरमा दाङ, दोस्रोमा रुपन्देही र तेस्रोमा कपिलवस्तु राजधानीका लागि उपयुक्त स्थान भएको सुझाव दिएको उनले जनाए ।

मुख्यमन्त्रीले प्रदेशको राजधानी दाङ जिल्ला मात्रै नभएर लुम्बिनी र राप्ती अञ्चलको मनोविज्ञान जोड्ने स्थान भएको दाबी गरे । ‘प्रदेशको राजधानी तोकिएको क्षेत्र राप्ती नदीले चर्चेको किनार जसले लुम्बिनी अञ्चल र राप्ती छोएको छ,’ उनले भने, ‘यसले भेरीका बाँके र बर्दियाको मनोभाव र विकासलाई पनि जोड्ने छ।’

मुख्यमन्त्री शंकर पोखरेलले नमुना व्यवस्थित सहर बनाउने योजनाअनुसार प्रदेश राजधानी तोकिएको बताए । ‘२ वर्षभित्रै तपाईं त्यो देख्न पाउनु हुनेछ,’ उनले भने, ‘राजधानी तोक्नका लागि तोक्ने र त्यसपछि सुतेर बस्ने छैनौं । काम गर्नेछौं ।’ एक वर्षभित्र विस्तृत अध्ययन गरेर निर्माणको काम थाल्ने उनले बताए ।

मुख्यमन्त्रीले प्रदेश राजधानी आफ्नो ठाउमा लग्यो भन्ने आरोप लागेको बताउँदै त्यसको खण्डन गरे । ‘मुख्यमन्त्रीको गाउँबाट भालुवाङ आउन र बुटवलबाट भालुवाङ आउन उत्तिकै समय लाग्छ,’ उनले भने, ‘मैले मेरो होइन प्रदेशको स्वार्थ हेरेको हुँ ।’

राजधानी सारियो भनेर लुम्बिनी क्षेत्रले मन दुखाउन नहुने बताए । रुपन्देही , कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय र सांस्कृतिक राजधानीका रुपमा अगाडि बढाउन लागेको उनले जनाए । ‘यस क्षेत्रका उद्योगी व्यवसायीले मन दुखाउनु पर्ने म मान्दिनँ । लुम्बिनी क्षेत्र ६ जिल्लाबाट रुपान्तरण भएर प्रदेशका १२ जिल्लामा फैलिएको छ,’ उनले भने, ‘ जति ठूलो क्षेत्र हुन्छ । व्यापार व्यवसायका लागि बस्तु त्यति ठूलो ठाउँमा पुग्छ । कसैले मन खुम्चाउनुपर्छ भन्ने मलाई लाग्दैन ।’

मुख्यमन्त्रीले नवलपरासीको सुस्तामा बन्दरगाह बनाउनेबारे अध्ययन भइसकेको बताए । यसपछि कलकत्ताबाट सामान सिधै परासी आउने र यसक्षेत्रको विकासले फड्को मार्ने बताए ।

प्रतिक्रिया