आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै फेरि लकडाउन गर्ने ओली सरकारको तयारी

प्रकाशित
2.7K
SHARES

काठमाडौँ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुन: लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको छ।

यसको सङ्केत मन्त्रालयले तीन दिनअघि गरेको नियमित प्रेस ब्रीफिङमा दिइसकेको छ। दशैँ, तिहार तथा छठ मुखमै आएको बेला महामारीका कारण फेरि लकडाउन भएर फेरि असजिलो हुने हो कि हो कि भन्ने आशङ्का धेरैमा छ।

“धेरैको चासो यतिखेर दशैँ-तिहारमा फेरि लकडाउन गरिन्छ कि भन्नेमा छ। तर त्यसको जबाफ त्यही २५ हजारको सीमासँग जोडिन्छ,” मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने। यसअघि लगाइएको लकडाउन र निषेधाज्ञा हटाइएपछि केही जिल्लामा सङ्क्रमणको दर नरोकिएको तथ्याङ्कले देखाउँछ।

सङ्क्रमणबाट निको दर पनि केही सातायता ७० प्रतिशतभन्दा माथि कायम छ। शुक्रवार नेपालमा सङ्कक्रमितको कुल सङ्ख्या ७० हजार नाघेको थियो। रोगमुक्तहुने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८ सय पुग्दा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार नाघेको थियो।

भदौ २४ गतेदेखि दैनिक १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। दैनिक थपिने सङ्क्रमितमध्ये आधाजसो काठमाडौँ उपत्यकामा हुने गरेका छन्। उपत्यकामा बाहेक अहिले मोरङ, सिराहा, चितवन र रूपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै छ।

पछिल्ला दिनमा दैनिक १० हजारको हाराहारी पीसीआर परीक्षण हुने गरेको छ। विगतमा परीक्षण गरिएका नमुनाको सङ्ख्यासँग ‍तुलनामा गर्दा अहिले सङ्क्रमित भेटिने सङ्ख्या बढेको देखिन्छ। तर यतिखेरको खास समस्या परीक्षणभन्दा पनि स्वास्थ्य मापदण्ड पालना नहुनु भएको सरकारी पक्षको दाबी छ।

सहप्रवक्ता अधिकारी भन्छन्, “मानिसहरूको आउजाउ निकै बढेको छ। तर उनीहरूले १४ दिन क्वारन्टीनमा बस्ने मापदण्ड पालना गरेका छैनन्। अबको समस्याको जड त्यो हुने देखिन्छ।” तर परीक्षणलाई जटिल बनाइएका कारण क्वारन्टीन नबस्नुलाई समस्या देखिएको मान्यता पनि केही विज्ञहरूको छ।

जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी परीक्षणको रकम अझै महँगो हुनुको बाँकी समस्यासँग सम्बन्ध भएको तर्क गर्छन्। त्यसकै कारण नेपालमा दैनिक २३ हजार वटाभन्दा धेरै परीक्षण गर्ने सरकारी क्षमता रहेको बताइँदा पनि त्यसको आधाजित सङ्ख्यामा मात्र पीसीआर हुने गरेको छ।

“सस्तोमै र सहजै परीक्षण गर्न सक्ने व्यवस्था हुन्थ्यो भने हरेक यात्रा वा सार्वजनिक कार्यक्रमका अगाडि तिनलाई अनिवार्य बनाउन सकिन्थ्यो। अझै त्यो नेपालीको हैसियतभन्दा महँगो छ,” डा. मरासिनीको भनाइ छ। “सरकारले चाहने हो भने अहिलेको अधिकतम २ हजार रुपैयाँ लाग्ने परीक्षणको मूल्यलाई आधाभन्दा बढीले कम गर्न सकिन्छ।”

जनस्वास्थ्यविज्ञ मरासिनी भन्छन्: “महामारी व्यवस्थापनको स्पष्ट रणनीति नहुँदा अहिले अवस्था धेरै बिग्रिएको र सरकारले जोडबल गरेर सम्पर्क व्यक्ति पहिचानको काम गर्न छाडेको बताउँछन्। कम्तीमा परिवारका अन्य सदस्यको मात्रै परीक्षण सुनिश्चित गर्न सके पनि राम्रै हुन्थ्यो।”

सङ्क्रमित व्यक्तिलाई समेत कमजोर परामर्श र जाँच नतिजाकै जानकारी ढिलो हुने गरेकाले त्यसको प्रभावकारिता कम देखिएको उनी ठान्छन्। मन्त्रालयका सहप्रवक्ता अधिकारीले देशभरि जहाँसुकै हुने परीक्षणको विवरण सरकारलाई बुझाउनै पर्ने नियम बनाइएको र त्यसकै आधारमा सम्पर्क व्यक्ति पहिचानको काम नटुटेको दाबी गर्छन्।

बिहीवार अहिलेसम्मकै उच्च एकै दिन १७ जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको सरकारले पुष्टि गर्‍यो। गत साता दैनिक सङ्क्रमितको सङ्ख्याले समेत २ हजार नाघिसकेकोले त्यस्ता अवस्थामा २५ हजार सङ्क्रमित पुग्न एक साता नै काफी हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका थिए। तर सङ्क्रमितहरू थपघट हुने क्रम चलिरहेको छ।

जनस्वास्थ्यविज्ञ मरासिनी भन्छन्, “न त अन्यत्र झैँ नेपालमा तत्काल हर्ड इम्यूनिटी हुने सम्भावना छ, न भाइरस निष्क्रिय हुनसक्ने देखिएको छ। नेपालको अवस्था अझै सङ्क्रमणको दोसाँधमा छ।”

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भने अहिलेसम्म नेपालमा जोखिम वर्गमा पर्ने जेष्ठ नागरिकहरू अन्यत्र जसरी धेरै प्रभावित नभएकाले त्यो कायम राख्नुपर्ने चुनौती रहेको बताउँछन्। उनी भन्छन्, “दशैँ-तिहारमा त्यो कायम राख्ने सबैभन्दा ठूलो चुनौती यतिखेर हामीसँग छ।” बीबीसीबाट

कोरोना भाइरस नेपालः भेन्टिलेटर ब्याङ्क – ‘सरकारी अस्पताललाई सित्तै, निजीबाट दैनिक रु ३००० भाडा’

कोरोनाभाइरस महामारीसँगै पछिल्लो समय प्लाज्मा ब्याङ्कको अवधारणा सुनिँदै गर्दा पाँच जनाको एउटा समूह नेपालमा ‘भेन्टिलेटर ब्याङ्क’ स्थापना गर्ने सोचका साथ अघि बढ्यो। कुरा गत चैत महिनातिरको हो जब कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गर्‍यो।

त्यतिबेला सङ्क्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद्‌ले कोरोनाभाइरस सङ्क्रमणका गम्भीर बिरामी बढ्दै गए आईसीयू र भेन्टिलेटरको अभाव हुनसक्ने भन्दै राज्यलाई सचेत गराउन थालिसकेका थिए।

“यो पृष्ठभूमिमा कुनै सिकिस्त बिरामीले भेन्टिलेटरकै अभावमा ज्यान गुमाउन नपरोस् भनेर हामीले भेन्टिलेटर ब्याङ्क स्थापना गर्ने सोच बनायौँ,” नेपाल भेन्टिलेटर सर्भिसेजका संस्थापकमध्येका एक डा. विशाल ढकालले बीबीसी न्यूज नेपालीसित भने। “ब्याङ्क भनेपछि रकमको कारोबार गर्नेलाई भन्ने गरिएको कुरा आयो। त्यो भएर अन्ततः नेपाल भेन्टिलेटर सर्भिसेजको नाममा संस्था दर्ता भयो।”

वैशाखको मध्यतिर गैरनाफामूलक संस्थाको रूपमा कम्पनी ऐनअन्तर्गत दर्ता भएको नेपाल भेन्टिलेटर सर्भिसेजले यथास्थितिमा फिर्ता लिनेगरी अस्पतालहरूलाई भेन्टिलेटर उपलब्ध गराउँदै आएको अर्का संस्थापक तथा नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले बताए।

“सरकारी अस्पतालले हामीलाई भाडा तिर्नुपर्दैन, ओसारपसार लगायतका खर्च कुनै संस्थाले बेहोरिदिन्छन्। निजी अस्पतालले चाहिँ एउटाको दैनिक तीन हजार रुपैयाँ तिर्नुपर्ने गरी हाम्रा भेन्टिलेटर पाउँछन्।”

“निजी अस्पतालले भेन्टिलेटर प्रयोग गरेबापत एउटा बिरामीबाट दैनिक ८-९ हजार रुपैयाँ लिने गरेकोमा हामीले तीन हजारमा उपलब्ध गराउँदा चार हजारसम्ममा बिरामीले पाऊन् भनेर लागत खर्च उठ्ने गरी दिने गरेका छौँ,” खनालले थपे।

ढकालका अनुसार नेपाल भेन्टिलेटर सर्भिसेजले काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पताल, ललितपुरको पाटन अस्पताल, वीरगञ्जको नारायणी अस्पताल, जनकपुरस्थित जनकपुर अस्पातल र नेपालगञ्जको भेरी अस्पताल लगायतलाई गरी करिब ३० वटा भेन्टिलेटर असोज पहिलो हप्तासम्म उपलब्ध गराइसकेको छ।

सात प्रदेशमध्ये पाँच प्रदेशका अस्पतालमा आफूहरूले भेन्टिलेटर उपलब्ध गराएको उनी बताउँछन्। “हामीकहाँ अवस्था कस्तो छ भने भेन्टिलेटर कहाँ छ त्यो हेरेर सिकिस्त बिरामीलाई त्यहीँ पुर्‍याउनुपर्छ। त्यसो भएर भेन्टिलेटर भएको ठाउँमा बिरामी दौडिने होइन कि बिरामीसम्म भेन्टिलेटर दौडिनुपर्छ भन्ने हाम्रो अवधारणा हो। अर्को कुरा भेन्टिलेटर सेवा सस्तोमा पाइयोस्,” खनालले भने।

विपद्‌मा राहतको सास
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज पहिलो सातासम्म नेपालमा हाल ९३० वटा भेन्टिलेटर छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, “देशभरि हाल ९३० वटा भेन्टिलेटर र २,६०० आईसीयू बेड छन्। लकडाउनअघि ७७१ वटा भेन्टिलेटर १,५५१ वटा आईसीयू बेड थिए।”

नेपालमा हाल उपलब्ध कुल भेन्टिलेटर र आईसीयू बेडमध्ये अधिकांश सङ्घीय राजधानी काठमाण्डूमा भए पनि सिकिस्त बिरामीको सङ्ख्या ह्वात्तै बढे यहाँ पनि सम्हाल्न गाह्रो हुने चिकित्सकहरू बताउँछन्।

“काठमाण्डूमा आईसीयू र भेन्टिलेटर दुवै चाहिने तीन सय जति बिरामी भए भने हाम्रो क्षमताले थेग्नै सक्दैन। सरकारी अस्पताल अहिले नै व्यस्त छन्,” सघन उपचारसम्बन्धी स्वास्थ्यकर्मीहरूको समूह नेप्लिज सोसाइटी अफ क्रिटिकल केअर मेडिसिनका महासचिव डा. हेमराज पनेरूले भनेका थिए।

जानकारहरूका अनुसार आवश्यक बजेटको जोहो गर्नसक्ने भए पनि कोरोनभाइरस महामारीबीच हाल बजारमा भन्नेबित्तिकै भेन्टिलेटर किन्न सक्ने अवस्था छैन।

“यस्तो अवस्थामा उहाँहरूले उपलब्ध गराएको एउटा भेन्टिलेटर र दुई आइप्रो नेजल क्यानुलाको पूर्ण रूपमा प्रयोग भइरहेको छ। कोभिड-१९ का बिरामीका लागि हामीसँग एउटा मात्र भेन्टिलेटर भएको अवस्थामा अहिले सहज भएको छ,” भेरी अस्पतालका मेडिकल सुपरिटेन्टेन्ड प्रकाशबहादुर थापाले भने।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई पनि कोरोना संक्रमण भएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पीसीआर परीक्षण गरेकी थिइन । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बसेको डा शाहले बताइन ।

आफ्नो सम्पर्कमा रहेकाहरुलाई जानकारी गराएको बताउँदै उनले प्रधानमन्त्री ओलीसँग भने लामो समयदेखि भेटघाट नभएको बताएकी छन् । यस्तै नेपालमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा १ हजार २०७ जनामा कोरोना स‌ंक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । आज १ हजार १४७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५३ हजार १३ जना निको भएका छन् । यस्तै नेपालमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ८ जनाको मृत्यु भएको जानकारी गराएको हो । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।

प्रतिक्रिया