आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकसाथ एकै परिवारका ८ जनाकाे मृत्यु भएपछि शोकमा डुब्याे स्याङ्जा ?

प्रकाशित
230
SHARES

काठमाडाैँ । स्याङ्जा बुधबारदेखि देशभर निरन्तर पानी परिरहेको छ । पानीले कतै बाढी पहिरो त कतै डुबान बनाएर हैरान पारेको छ । यसैबीच स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर-१४ मा पहिरोमा पुरिएका ९ जनाको शव फेला परेको छ। प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बिहीबार बिहान पहिरो जाँदा पुरिएकामा एकै परिवारका ८ जना रहेका छन्। एक जना पाहुना आएकी महिला छिन्।

मृत्यु भएका सबैको पहिचान खुलेको बोगटीले बताए। मृत्यु हुनेमा टिकामाया नेपाली (४७), स्थानी नेपाली (२३), दीपक नेपाली (२४), कुलद्वीप नेपाली (२२), विक्रम नेपाली (१५), पाहुना आएकी उमाकला नेपाली (३०), विनिता नेपाली (२१) ९ महिने शिशु शिशिर नेपाली र ९ वर्षका विवश नेपाली छन्।

बिहीबार बिहान माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए। तीमध्ये १ जनाको जीवितै उद्दार गरी उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। पहिरोले ९ एकै परिवारका ८ सहित ९ जनाको मृत्यु भएपछि स्याङ्जा शोकमा डुबेको छ ।

पहिरोमा पुरिएकामध्ये १७ वर्षीया मनिषा नेपाली घाइते छन्। घाइते मनिषालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ। भिरालो जमिनमा सडक माथिबाट पहिरो खस्दा घर पुरेको थियो। बिहान साढे ५ बजे पहिरो गएपछि प्रहरी उद्धारका लागि खटिएको थियो।

रुपन्देहीमा तिनाउ नदीकाे कटान सुरु

रुपन्देहीको तिनाउ नदीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा कटान सुरु गरेको छ । तिनाउमा आएको बाढीले बुटवल–११ बुद्धनगर, माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेको हो ।

क्षतिको पूर्व आकलन गर्न भन्दै बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीसहितको टोलीले तिनाउ किनारको स्थलगत अनुगमन गरेको छ । अहिलेसम्म बुद्धनगर, मझुवा र मैनाबगर जोड्ने सडकको केही भाग र नदी कटान रोक्न मझुवामा बनाइएको तारजाली र ड्याम बगाएको स्थलगत अनुगमनमा गएका बुटवल–११ का वडाध्यक्ष रामचन्द्र खनालले बताए । ‘कटान सुरु भएँसगै नदी आसपासका बस्तीमा जोखिम बढेको छ,’ उनले भने, ‘पानी नरोकिए साँझसम्म आसपासका केही बस्ती खाली गर्नुपर्ने छ ।’

नदीले बिहान ५ बजेदेखि सतर्कताको तह पार गरेको छ । ५.२ सतर्कताको तह रहेको तिनाउ नदीमा बिहानदेखि ५.७१ पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सतर्कताको तह नाघेर खतराको तहमा पुगेपछि पाल्पाको तिनाउ गाउँपालिका दोभानमा रहेको बाढी पूर्व सूचना प्रणालीले निरन्तर साइरन बजाएको छ । साइरन बजेलगत्तै बुटवल उपमहानगरले नदी छेउका बासिन्दालाई सुरक्षित हुन सूचना प्रवाह गरेको छ ।

चुरेबाट भेल लिएर बग्ने भएकाले बाढीका लागि यस क्षेत्रको सबैभन्दा जोखिम तिनाउ नदी हो । पाल्पाका करिब २० वटा खहरे खोलाहरू तिनाउमा मिसिने गरेका छन् । पछिल्लो समय जनताको तटबन्धअन्तर्गत नदी किनारमा तारजाली गर्ने र पर्खाल लगाउने गरेपछि पछिल्लो वर्षमा नदीको उपद्रो केही घटेको छ । यद्यपि नदीको बहाव क्षेत्र मिचिएकाले ठूलो पानी पर्‍यो कि कटान हुने क्रम रोकिएको छैन ।

नारायणीको जलसतह खतराको तहभन्दा माथि

उता लगातार वर्षासँगै आएको बाढीले नारायणी नदीमा खतराको तह पार गरेको छ । बिहीबार बिहान ९ बजे नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले एसएमएस पठाएर बाढी अझै बढ्दो क्रममा रहेका कारण चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । नारायणीमा बिहीबार बिहान साढे ३ बजे नै बाढीले सतर्कताको तह पार गरेको थियो ।

बाढी बढ्दै गए चितवनतर्फ भरतपुर महानगरपालिकाअन्तर्गतका मंगलपुर, गुन्जानगर, दिव्यनगर र मेघौली क्षेत्रमा डुबान र कटानको समस्या आउन सक्छ । महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख प्रेमराज जोशीले नदी तटका साथै पहाडी क्षेत्रका बासिन्दालाई पनि सजग रहन अपिल गरेका छन् ।

प्रतिक्रिया