आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्रान्ति हुने कुरा पनि हो, गर्ने कुरा पनि हो

प्रकाशित
1.1K
SHARES

कतिपय मित्रहरू भन्ने गर्नुहुन्छ– खै तपाईंहरूको क्रान्ति ? कहाँ पुग्यो तपाईंहरूको जनक्रान्ति ? कहिले हुन्छ क्रान्ति ? सामाजिक फासिवादी ओली सरकारद्वारा राजनीतिक प्रतिबन्धसहित यत्रो फासिवादी दमनका बिचमा पनि मित्रहरूको यस्ता जिज्ञासाले मलाई क्रान्तिसम्बन्धी लेनिनको यो भनाइ स्मरण गराउँछ । लेनिनले भन्नुभएको थियो, ‘क्रान्ति हुने कुरा पनि हो, गर्ने कुरा पनि हो ।’ क्रान्ति अलि अलि संयोगको कुरा पनि रहेछ । क्रान्ति अलि अलि प्रचारको कुरा पनि रहेछ । रुसमा सन् १९०५ को क्रान्ति सामान्य थियो र ! त्यसको १२ वर्षपछि सन् १९१७ मा महान् अक्टोबर क्रान्ति सम्पन्न भयो । महान् अक्टोबर क्रान्ति भएको पनि थियो, अक्टोबर क्रान्ति गरिएको पनि थियो ।
दोस्रो विश्वयुद्धपश्चात् विश्व दुई ध्रुवमा बाँडियो । एउटा ध्रुवको नेतृत्व अमेरिका र, अर्को ध्रुवको सोभियत सङ्घले गरेको थियो ।

शीतयुद्ध शब्दको प्रयोग अमेरिका र सोभियत सङ्घबिच त्यो समयमा रहेको तनावपूर्ण सम्बन्धलाई लिएर गरिन्छ । विश्वयुद्धको समयमा रूस र सोभियत सङ्घ एकार्काका सहयोगी पनि थिए । भन्न त शीतयुद्ध भनियो तर त्यो शीतयुद्ध कहिलै शीतल थिएन, शीतल भएन । त्यसैले शीतल नभएको शीतयुद्धलाई नाटो र वार्साको अन्तर्सङ्घर्षको परिणाम थियो । महान् सोभियतको सङ्घको क्रान्तिकारी आलोकमा विश्वमा झन्डै दुईतिहाइ भू–भागमा क्रान्ति सम्पन्न भए । विश्वमा जहाँ जहाँ क्रान्ति गरियो, जहाँ जहाँ क्रान्ति भयो; त्यहाँ त्यहाँ क्रान्ति सम्पन्न भएका छन् । विश्वमा क्रान्ति गरिने तर नहुने अवस्थामा क्रान्ति सम्पन्न भएनन् । यसमा नीति, नेतृत्व, राजनीतिक कार्यदिशा, जनसमुदायको तत्परता, आत्मगत र वस्तुगत अवस्थाको उपयुक्त सम्मिलनजस्ता कुराहरू पर्दछन् । त्यसैले, क्रान्ति हुने कुरा मात्र होइन, गरिने कुरा पनि हो । क्रान्ति गरिने कुरा मात्र होइन, हुने कुरा पनि हो ।

समयको अन्तरालमा मनोविज्ञान फेरिए । भौतिकीले मानसिक अवस्थामा ठूलो बाधा पु¥याउन थाल्यो । ठुल–ठुला राजनीतिक ब्यारिगेटहरू ढल्न थाले । बर्लिनको पर्खाल ढलेसँगै शीतयुद्धको समाप्ति भयो भनिए पनि त्यो विभिन्न स्वरूपमा अभिव्यक्त भरहेको थियो र छ । यतिखेर साम्राज्यवादी राष्ट्र अमेरिका, भारतहरू नेपालका कम्युनिस्ट सिद्धियून्, त्यो अन्य राष्ट्रमा नफैलियून् भन्ने चाहन्छन् । नेपाललाई शक्तिकेन्द्रहरूका ‘थ्रेटजोन’ बनाइँदै छ । नेपाललाई भयानक राजनीतिक दाउपेचको ‘खेलमैदान’ बनाइँदै छ । नेपालका शासकहरू बेसरमी दलाल बनेका छन् ।

क्रान्तिकारीहरूले यही खेलमैदानमा दुश्मनलाई पराजित गर्ने कुरा छँदै छ । दुःखद् कुरा, त्यो महान् सोभियत सङ्घ ढल्यो । विश्वमा समाजवादी क्रान्ति सम्पन्न भएका देशहरू पनि उल्टिए । पुँजीवादहरूका तुलनामा समाजवादीहरूले आफूलाई सुदृढीकरण र गतिशीलीकरण गर्न सकेनन् । योजनाबद्ध रूमा केही विचारकहरूका नाममा इतिहासको अन्त्य, विचारको अन्य, केन्द्रको अन्त्य भन्दै समाजवादी राजनीतिक शिविरमाथि भयानक धावा बोलियो । उनीहरूले अशान्ति, असुरक्षा, ध्वंस र तनावको केन्द्र साम्राज्यवादको प्रश्रय गरिरहे । आज महान् सोभियत रहिरहेको भए विश्वको राजनीतिक मञ्च अर्कै पनि हुन सक्तथ्यो । अबका क्रान्तिकारीहरूले विश्वको राजनीतिक मञ्च नै फेर्ने अभियान चलाउन आवश्यक छ ।

भनिन्छ, जङ्गलमा जुन ठाउँबाट बाटो बिराइएको हो, त्यही ठाउँमा सही बाटो खोज्नुपर्दछ । त्यसैले प्रचण्डहरूले जहाँ–जहाँबाट क्रान्तिको बाटो बिराएका थिए, हामीले त्यही त्यही ठाउँबाट बाटो निदृष्ट गर्ने प्रयत्न गरेका छौँ । उनीहरूले जहाँबाट क्रान्ति छाडेका थिए, हामीले त्यही त्यही विन्दुबाट जनक्रान्ति अघि बढाएका छौँ । राष्ट्रको ऐतिहासिक आवश्यकता र वस्तुगत धरातलमा उभिएर नेपाली समाजमा विकास भएको नवीन विशेषताका आधारमा एकीकृत जनक्रान्तिको रातो झन्डा उठाइएको हो । अन्धविश्वास र अन्धराष्ट्रवाद्वारा साम्राज्यवादलाई बेस्सरी मलजल गरिरहेको यतिबेला हामीले क्रान्तिकारी हतियारलाई तिखार्दै छौँ । गोपनीयता पार्टी तथा क्रान्तिको सबैभन्दा ठूलो हतियार हो ।

आम जनसमुदायको साथमा उच्च प्रविधिको उपयुक्त र उच्च प्रयोग क्रान्तिको अर्को महत्वपूर्ण कार्यभार हो । क्रान्ति कुशल व्यवस्थापनको अर्को नाम पनि हो । क्रान्तिका विभिन्न आधार हुन्छन् । क्रान्तिको विजयको आधारलाई केही विदेशी राजनीतिक विश्लेषकहरू ‘मास ग्यादरिङ, टेक्नोलोजिकल डेभलपमेन्ट एन्ड वेल म्यानेजमेन्ट’ पनि भन्दा रहेछन् । यो आंशिक सत्य हो, पूर्ण होइन । सूचनामा विशेष ध्यान दिने, दुश्मनको मुख्यालयमा बसेर उसकै मुख्यालय खाली गर्ने तथा जनसंस्कृतिको उपयुक्त सम्मिलनमा हामीले जोड दिनैपर्दछ । वैज्ञानिक समाजवाद भनेको कलात्मक व्यवस्थापन पनि हो । आफैँ अस्तव्यस्त र गन्जागोल भएर समाजवादको गफ हाँक्नु नैतिकदृष्टिले उपयुक्त हुँदैन । एनजीओ र आईएनजीओको छाता ओढेर समाजवादको कुरा गर्न झन् सुहाउँदैन । यी त कम्युनिस्टलाई खत्तम पार्ने खडा गरिएको संरचना हुन् । कम्युनिस्टहरूका लागि संसद्वाद आदर्श हुनै सक्तैन । संसद्वादले समकालीन राजनीतिक निकास पनि दिनै सक्तैन ।

केही मित्रहरू भन्ने गर्नुहुन्छ– पार्टी–सङ्गठनमा गम्भीर समीक्षा चाहियो । नेपाली कम्युनिस्ट आन्दोलनमा काममा रुची नहुने तर समीक्षामा रुची हुने एउटा ठुलै तप्का छ । विश्व कम्युनिस्ट आन्दोलनमा पनि यस्तै देखेपछि स्तालिने यसो भन्नुभएको हुनुपर्दछ, ‘फुर्सद भए मात्र समीक्षा गरे हुन्छ, नत्र नगरे पनि हुन्छ ।’ राजनीतिमा कहिलेकाहीँ यस्तो सन्दर्भ पनि आउँछ कि सङ्गठन वा पार्टी बचाउने कि क्रान्ति ? कहिलेकाहीँ क्रान्तिको रक्षाका लागि सङ्गठन वा पार्टीको बलिदान गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा समाजवादी क्रान्तिको रक्षार्थ स्तालिनले निर्वाह गर्नुभएको भूमिका विशेष मननीय छ । यो व्यक्ति–व्यक्तिका बिचमा, राष्ट्र–राष्ट्रबिचमा, नीति–नेतृत्वका बिचमा उत्पन्न अन्तर्विरोधको हल गर्ने कुरा पनि हो । वैज्ञानिक समाजवादी क्रान्तिले मात्रै आजको नेपाली समाजको अन्तरविरोधको हल गर्न सक्तछ । हामीले अङ्गीकार गरेको राजनीतिक कार्यदिशाले माक्र्सवादका सङ्घटक अङ्गसित तादात्म्यता राख्नैपर्दछ ।

साम्राज्यवादी भारत यतिखेर नेपालको राज्यमेसिनरीलाई आफ्नो मुट्ठीमा कस्दै समग्र नेपाललाई कमजोर बनाउन चाहन्छ । भारतकै कारण अबको लडाइँको केन्द्र पनि भारत नै बन्दै छ । नेपालका संसदीय राजनीतिक दलहरूले आ–आफ्ना दलमा ब्युरोक्याटिक मेकानिजम खडा गरेका छन्, यसबाट क्रान्तिकारी शक्तिले आफूलाई बचाउनुपर्दछ । राजनीतिक विश्लेषकहरू भन्छन्– ‘नेपालको कम्युनिस्ट आन्दोलनमा स्कुल अफ थट नै परिवर्तन गर्न आवश्यक छ ।’ यही कुरालाई मध्यनजर गरेर नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो चरणमा एकीकृत जनक्रान्तिको स्कुल सुरु गरेको छ । महाभारतमा युद्ध गर्न नमानेको अर्जुनलाई युद्ध गर्न तयार पारेका कृष्णले अन्तिममा उनै अर्जुनलाई ‘अर्जुन तिमीले गुरु शिष्यको सम्बन्धलाई ख्याल गर’ भनेर बहस गर्नबाट रोकेका थिए । दरबारमा बहस चर्किदै गएपछि विदुषी गार्गीलाई राजा याज्ञवल्क्यले ‘गार्गी योभन्दा बढी प्रश्न ग¥यौ भने तिम्रो शिरोच्छेदन हुन्छ’ भनेर बहसमा रोक लगाएका थिए । के नेपालको कम्युनिस्ट आन्दोलनको स्कुलिङ योभन्दा पृथक छ र ! नेपालको कम्युनिस्ट आन्दोलनमा प्रश्नकर्ताको राजनीतिक जीवन समाप्त पारिँदै आएको कटु–यथार्थ सबैका सामु छर्लङ्गै छैन र !

हरेक समस्याका समाधान तीन किसिमबाट हुन्छ– भागेर, आत्मसमर्पण गरेर र सामना गरेर । डबल नेकपाका एक अध्यक्ष केपी ओली अहिले भागेर समस्याको समाधान गर्न खोजिरहेका छन् । उही पार्टीका अर्का अध्यक्ष प्रचण्ड आत्मसमर्पण गरेर समस्या समाधान गर्न खोजिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव एकीकृत जनक्रान्तिमार्फत नेपालको राजनीतिक समस्याको समाधान गर्न खोजिरहनुभएको छ । नेपालको राजनीतिक परिस्थिति कुनै पनि हालतमा यथास्थितिको बन्दी हुने अवस्थामा छैन । जनताले भन्न थालिसके– हामीलाई क्रान्ति चाहियो ।

एकीकृत जनक्रान्ति जनताबाट कटेर र क्रान्तिको परम्परागता ढाँचाको आधारमा क्रान्ति हुन्छ भन्ने कुरामा विश्वास गर्दैन । केही मानिस क्रान्तिलाई असाध्यै जटिल बनाइदिन्छन्, हामीले क्रान्तिलाई सरल बनाइदिनुपर्दछ । पार्टी–जीवनको रक्तधमनी सदैव सुचारु भइरहनुपर्दछ । राम्रो उद्देश्य बोकेर राम्रो काम गर्न थालेपछि अर्कै कित्ताका मान्छेहरूले पनि सकारात्मक टिप्पणी गरेका हुन्छन् । जस्तो कि पूर्वप्रधानमन्त्री मरिचनमानसिं श्रेष्ठले मर्ने बेलामा ‘विप्लवहरू राम्रा र असल छन्’ भन्नुभएको थियो रे ! अर्का पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्ट ‘केही गरे विप्लवहरूले गर्छन्’ भन्नुहुन्थ्यो रे ! हामीले सबैतिरका सकारात्मक पक्षलाई क्रान्तितिर फर्काउनुपर्दछ । लेनिनले भन्नुभएको थियो, ‘सानो खराबीले पनि ठूलो आनन्दलाई ध्वस्त बनाउँछ ।’ हामीले खराबीहरू घटाउनुपर्दछ, आनन्दहरूलाई सङ्केन्द्रित गर्नुपर्दछ, जसले क्रान्तिलाई नजिक नजिक ल्याइदेओस् ।

२०७२ सालमा आएको भूकम्पपछि नेपाली समाजमा पराकम्पन शब्द निकै प्रचलनमा आयो । हुन त हरेक राजनीतिक पार्टीमा त्यस्ता पराकम्पन आइरहेका हुन्छन् । यस्ता पराकम्पन व्यक्तिमा पनि आइरहेको हुन्छ । जस्तो कि बुटवलबाट प्रचण्डकहाँ जान भनेर हिँडेका आँपेकान्छा काठमाडौंमा पुग्दा बाबुराम भट्टराईको नयाँ शक्तिमा भित्रिए । अक्टोबर क्रान्ति दिवस मनाउन टुँडीखेल–खुलामञ्च हिँडेका टेकबहादुर बलम्पाकी प्रचण्डको हातबाट टीका थाप्न लाजिम्पाट पुगे । यस्ता पराकम्पनको प्रभाव सत्ता वा सत्ताइतर दुवैतिर परिरहेको हुन्छ । राज्य र उत्पीडित जनताका बिचको लडाइँ निरन्तर चलिरहेको यतिबेला राजनीतिक पराकम्पनलाई क्रान्तिकारी धु्रवीकरणमा परिणत गरिदिनुपर्दछ ।

भारतले दलाई लामालाई जस्तै प्रचण्डलाई उपयोग गर्न चाहेको उहिल्यैदेखिको हो । आज पनि प्रचण्डमा यही धङधङीले काम गरिरहेको छ । आजको वस्तुगत परिस्थितिले जो कोहीलाई हँसियाबिना घाँस काट्न अनुमति दिन सक्तैन । भनिन्छ– सिरियाका विद्रोहीले माओको दीर्घकालीन जनयुद्धको अध्ययन गरेर सिरियामा विद्रोह सुरु गरेका थिए । कम्युनिस्ट भनेको पार्टी बनाउने र पार्टी चलाउने कुरा मात्र होइन; आर्थिक, राजनीतिक, वैचारिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्नु हो । जनमुक्तिको ढोका खोल्नु हो । यसको उद्देश्य मालेमावादका आधारित हुनुपर्दछ ।

माओवादी धारबाट गएर एमालेको तबेलामा सुस्ताइरहेका केही मान्छे भन्दै छन्– नेपालमा राजनीतिक क्रान्ति पूरा भइसक्यो, अब आर्थिक क्रान्ति गर्ने हो । क्रान्ति भएको भए हिजोको बद्नाम र बद्मासलाई जेल हालिन्थ्यो होला, क्रान्तिकारीहरू मुक्त हुन्थे होलान्, राजनीतिक मुद्दाहरू फिर्ता हुन्थे होलान् । राज्यसत्तामा परिवर्तन हुन्थ्यो होला, आर्थिक क्षेत्रमा आमूल परिवर्तन हुुन्थ्यो होला तर त्यस्तो केही पनि भएको देखिँदैन । नेपालको सबै सूचकाङ्क नकारात्मकताले भरिएको छ ।

क्रोनी समाजवाद हाबी भएको यतिबेला नेपाल आर्थिक रूपमा दलाल पुँजीवाद, राजनीतिक रूपमा सामाजिक फासिवाद र सांस्कृतिक रूपमा सामन्तवाद एवम् भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादका रूपमा क्रियाशील छ । जब राजनीतिक दल संयुक्त मोर्चा वा गुटहरूको महासङ्घ बन्छ, तब ती पार्टीभित्रको पार्टीको मृत्यु हुन्छ । नेपालमा कहिलेकाहीँ पुष्पलालको संयुक्त सङ्घर्षको चर्चा भएको पाइन्छ । क्रान्तिकारीहरूले न्युनतम आधारलाई मूल एजेन्डा बनाएर संयुक्त सङ्घर्ष उठाउन पहल गर्नुपर्छ । नेपालमा संयुक्त सङ्घर्षको आलोकमा वैज्ञानिक समाजवादी क्रान्ति नजिक देखिन्छ ।

दक्षिण एसियाको समकालीन राजनीतिमा दुईजना मैमत्तबहादुर देखिएका छन्– भारतका मोदी र नेपालका ओली । तिनै मोदी र ओलीका बिचमा समानताको आधिक्यता देख्न सकिन्छ । मोदीले भारतीय क्रान्तिकारी माओवादी एवम् आदिवासी जनजातिमाथि निरन्तर दमनचक्र चलाइरहेका छन् । ओलीले नेपालका क्रान्तिकारी, देशभक्त माओवादीहरूमाथि प्रतिबन्ध मात्र लगाएका छैनन्, क्रान्तिकारीकहरूको हत्यासमेत गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेर जेल तथा हिरासत भरेका छन् । मोदी र ओली दुवैमा सामाजिक फासिवादी अहङ्कार चुलिएको छ । ‘कम्युनिस्ट’ र ‘समाजवाद’ शब्दको हुर्मत लिनेगरी डबल नेकपाले अमेरिकी सैन्य रणनीति ‘एमसीसी’ सारङ्गीको यसै ¥याइँ¥याइँ गरिरहेको छैन । डबल नेकपाले कम्युनिस्ट पार्टी, यसको दर्शन, सिद्धान्त, विचार र संस्कृतिलाई ‘दक्ष प्रजापतिको टाउको’ बनाइदिएको छ ।

दलाल पुँजीवादको सच्चा प्रतिनिधि बनेर पनि नपुगेपछि आफ्नो राजनीतिक भविष्य भयानक कृष्णभिर नजिकै देखेपछि प्रचण्डको नेतृत्वमा माओवादीको एउटा समूह एमालेमा विलय भएको थियो, जो यतिबेला चरम विलखबन्दमा छटपटाइरहेको छ । डबल नेकपाको मूल नेतृत्व भारतीय साम्राज्यवादबाट गम्भीर रूपमा प्रभावित रहेको कुरामा कुनै शङ्का छैन । साथै, त्यहाँ सीआईएको प्रभाव पनि गहिरो र जब्बर देखियो । यतिबेला भारतमा नरेन्द्र मोदी र आरएसएसका बिचमा अन्तरविरोध चुलिएको बताइन्छ । त्यसको परिणाम ‘ओलीको कुर्सी भाँच्ने र मुड्की’, प्रचण्ड र माधव नेपालको ‘ओलीप्रति कडा प्रतिक्रिया’ एवम् राष्ट्रपतिले ‘अफ द रेकर्ड’ भन्दै एक हुल पत्रकारलाई दिएको भोज हो । आरएसएसले केपी ओलीलाई उचालिरहेको छ भने मोदीले प्रचण्ड–माधवलाई उचालिरहेछ । यथार्थतः उनीहरूको खेत एउटै हो, कुन बाली लगाउने भन्ने झगडा मात्र हो ।

अहिले डबल नेकपामा अन्त्यहीन नाटक चलिरहेको छ । राजनीतिमा यति बहस र दन्तबजान भइसकेपछि अब कि त ओलीले प्रचण्ड–माधवलाई निलिदिनुपर्दछ, कि त प्रचण्ड–माधवहरूले ओलीलाई निलिदिनुपर्दछ, कि त आ–आफ्नो बाटो लाग्नुपर्दछ । तत्कालीन माओवादी पार्टीमा चलेको बहस र दुईलाइन सङ्घर्षमा तत्कालीन अवस्थामा ‘प्रचण्डले बाबुराम भट्टराईलाई निलिदिएको भए’ वा ‘मोहन वैद्य ‘किरण’ हरूले प्रचण्ड–बाबुरामलाई निलिदिएको भए’ वा ‘विप्लवहरूको नेतृत्वमा विचलित र स्खलित भएको नेतृत्वको एउटा समूहलाई निलिदिएको वा पन्छाइदिएको भए’ सम्भवतः माओवादी पार्टीमा विभाजन आउँदैनथ्यो । मोठरूपमा पार्टी विपरीतहरूको एकत्व त हो, त्योभन्दा पनि बढी सजातीयहरूको एकत्व हो । पार्टीमा विजातीय तत्व वा प्रवृत्ति देखिएपछि कि त त्यसलाई खाएर, निलेर पचाइदिनुपर्दछ, कि त त्यसलाई पार्टीबाट निकालिदिनुपर्दछ । राजनीतिक संस्कार भएका र नियम बुझेकाहरू यस्तो अवस्थामा एकै ठाउँमा बस्दा पनि बस्दैनन् । यो द्वन्द्ववादी नियम हो । क्रान्तिकारीहरूले यो द्वन्द्ववादी नियमलाई आत्मसात् गर्नुपर्दछ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा आत्मकेन्द्री व्यक्तिवाद र अराजकतावाद ठूलो समस्याको रूपमा देखिँदै आएको छ । माक्र्सले भन्नुभएको थियो, “सङ्घर्षको सुख नै सर्वश्रेष्ठ सुख हो ।” व्यक्तिवाद अराजकताको मूल स्रोत हो । माक्र्स–एङ्गेल्सको अर्को एक गज्जबको भनाइ हेरौँ, “अराजकतावाद बाकुनिन साहेबको महाजङ्गी घोडा हो, जसले केही नारालाई छोडेर समाजवादी प्रणालीबाट केही पनि आत्मसात गरेको छैन ।” लेनिनको भनाइ थियो, “अराजकतावाद अर्को किसिमको पुँजीवादी व्यक्तिवाद हो । व्यक्तिवाद समग्र अराजकतावादी विश्वदृष्टिकोण आधारशिला हो । अराजकतावाद नैराश्यताको उपज हो ।

अस्थिर बुद्धिजीवी वा आवाराहरूको मनोविज्ञान हो, न कि सर्वहारावर्गको । अराजकतावाद भनेको सङ्गठनको भूमिका र मजदुरहरूको शिक्षा बुझ्न असफल हुनु हो । यससँग सिद्धान्त र क्रान्तिकारी शिक्षा हुँदैन । यो मजदुर आन्दोलनको विखण्डन हो । यसले राजनीतिको निषेधको बहानामा मजदुरवर्गलाई बुर्जुवा राजनीतिको सेवक बनाउँछ ।” स्टालिनको पनि यस्तो भनाइ थियो, “अराजकतावादको आधार हो, व्यक्ति अराजकतावादको सिद्धान्तअनुसार व्यक्तिको स्वाधीनता जनताले पुरै समूहको स्वाधीनताको पहिलो र सबैभन्दा प्रमुख सर्त हो । अराजकतावादको भनाइ छ कि जबसम्म व्यक्तिलाई स्वतन्त्रता मिल्दैन, तबसम्म जनताको स्वतन्त्रता मिल्न असम्भव छ । त्यसकारण अराजकतावादको नारा हो– सब यो व्यक्तिको निम्ति हुनुपर्छ ।”

क्रान्तिमा कोही आइरहेका हुन्छन्, कोही गइरहेका हुन्छन् । यो क्रान्तिको नियम हो तर यस्ता घटनाबाट केही मित्रहरू अलि बढी चिन्तित हुने गरेको मेरो अनुभव छ । ‘लौ, उसले पनि छोड्यो, ऊ पनि अर्कैतिर लाग्यो, फलानो पनि गिरफ्तारीमा प¥यो, फलानोले पार्टीको नाममा अकूत चन्दा उठायो, अब के पो हुने हो जस्ता टिप्पणी सुनिन्छ । क्रान्ति र प्रतिक्रान्ति सँगसँगै आइरहेको हुन्छ । हामीलाई उतिबेला ‘मुख–मुख क्रान्ति, घाँटी–घाँटी प्रतिक्रान्ति’ को प्रशिक्षण दिइएको अहिले सम्झना छ । यो क्रान्तिको नियम हो । क्रान्तिले कैयौँ महाविपत्तिका काला पहाड छिचोल्नुपर्दछ । क्रान्तिले कैयौँ वक्ररेखा पार लगाउनुपर्दछ । यस्तो बेला को आफ्नो कमरेड र को दुश्मन भनेर चिन्ने अवसर पनि हुन्छ । हामीले साथी मात्र होइन, केही दुश्मन पनि बनाउनुपर्ने रहेछ । चे ग्वेभाराले भन्नुभएको थियो, “साथीहरू नहुनु भनेको दुःखलाग्दो कुरा हो । तर सत्रुहरू नहुनु भनेको त्योभन्दा झन् बढी दुःखलाग्दो कुरा हो ।”

लेनिनका अनुसार दम्भ, निरक्षरता र घुसखोरी मानिसका तीन मुख्य सत्रु हुन्, त्यसमा पनि दम्भ खतरनाक सत्रु हो । लेनिनले भन्नुभएझैँ नेपालका सामाजिक फासिवादी दम्भी केपी ओलीहरू कम्युनिस्टहरूको खतरनाक सत्रु बनेका छन् । ओली प्रभृत्ति र प्रवृत्तिले मालेमावादको सैद्धान्तिक, वैचारिक र दार्शनिक दीपलाई हरतरहले निभाउन खोजे पनि त्यो निभ्नेवाला छैन । उनीहरूले क्रान्तिको मार्गमा जतिसुकै जाल, झेल र तिकडम गरे पनि, जतिसुकै र जस्तोसुकै एम्बुस बिछ्याए पनि जनक्रान्तिको मार्ग अवरुद्ध हुनेवाला छैन । नेपालमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा जनक्रान्ति भइरहेको छ, नेपाल क्रान्तिकारीहरूले क्रान्ति गरिरहेका छन् । यसर्थ, क्रान्ति हुने कुरा पनि हो, क्रान्ति गर्ने कुरा पनि हो ।

प्रतिक्रिया