आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमण झन् बढेपछि कर्फ्यू लगाउने निर्णय

प्रकाशित
1.4K
SHARES

काठमाडौँ । सरकारले लकडाउनको अन्त्य गरेको घोषणा गरेको केहि दिन भित्र नै स्थानिय प्रसाशनले कर्फ्यु लगाउनुपर्ने अवस्था आएको छ । देशभर लकडाउन खुकुलो भए पनि पर्सा जिल्ला प्रसाशनले भने भोलि बिहान ५ बजेबाट लागु हुने गरि कर्फ्यु लगाउने निर्णय गरेको हो ।

कोरोना समुदाय स्तरमा फैलिन सक्ने अनुमान गरेपछि जिल्ला प्रसाशन पर्साले यसरी कर्फ्यु नै लगाएर स्थिति नियन्त्रणमा लिन खोजेको हो । बीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या बढ्ने क्रम तिब्र भएपछि प्रसाशनले कर्फ्यु लगाउने निर्णय गरेको जनाएको छ ।

सुक्रवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठक बसेर शनिबार बिहान ५ बजेबाट अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागु गर्ने निर्णय गरेको पर्सा प्रसाशन कार्यालयले जनाएको छ।

कर्फ्यु अवधिभर औषधी उपचार खाद्यान्न ओसारपसार, पानी, दुधलगायत अत्यावस्यक बाहेक अन्य कुनै पनि बहानामा कोही पनि घर बाहिर निस्कन नपाउने प्रसाशनले जारी गरेको सुचनामा जनाइएको छ । प्रसाशनको कर्फ्यु आदेश जारी भएपछि बजार पसल, उद्योगधन्दा, कलकारखाना, यातायात सबै बन्द रहनेछन् ।

नेपालमा लकडाउन अन्त्य भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या बढेकाे छ । शुक्रबार मात्रै थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साकी एक महिलाको कोरोनाले मृत्यु भएको छ । वीरगञ्ज -११ की ८५ वर्षीय महिलाको नारायण अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिनमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ भने काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी, गोरखा पालुङटार नगरपालिका- ७ पुर्नेपिपलका ४४ वर्षीय पुरुष, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुष, क्वारेन्टाइनमा ज्यान गुमाएका बागलुङको निसीखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यसैगरी काठमाडौं महानगरपालिका १० शंखमूलका ६० वर्षका पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरी-६ का ४५ वर्षीय पुरुष र रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु छ भने धनुषाका ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यस्तै ५९ वर्षीय चिनयाँ महिलाको साउन २ गते काठमाडौं ग्रान्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिबि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको छ । त्यसैगरी वीरगञ्जको माइस्थानका ७० वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको गत साउन ७ गते मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालमा आज थप एक जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास आवश्यक पर्ने बताएको छ । मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिदै आएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले पासको सम्बन्धमा पुरानै निर्णय यथावत रहेको जानकारी दिए । उनका अनुसार साउन मसान्तसम्म यो निर्णय यथावत रहनेछ । मन्त्रिपरिषदले १ भदौदेखि लामो दूरीको यातायात पनि चल्न दिने भनेको छ । तर, त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मादण्ड बनाउने भनिएको छ । भदौपछिको हकमा यातायात मन्त्रालयले भने बमोजिम हुने गृहमन्त्रालयले स्पष्ट पारेको छ ।

विज्ञ भन्छन्- लकडाउन सकियो, जोखिम बढ्यो

सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै सम्बन्धित विज्ञहरूले यसबाट कोरोना संक्रमणको जोखिम थप बढेको बताएका छन्। कोरोना जोखिम कायम रहेकाले अब आफैं सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।

‘लकडाउन सकिए पनि कोरोना सकिएको छैन। आगामी दिनमा थप सजग हुनुपर्छ,’ संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मन्त्रिपरिषदको निर्णयपछि भने, ‘लकडाउन सकियो भन्दैमा कोरोना नै सकिएजस्तो व्यवहार नदेखाऔं। शारीरिक दुरी कायम राख्न, साबुन पानीले हात धुन र मास्कको अनिवार्य प्रयोग गर्न हेलचेक्र्याइँ नगरौं।’

सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।

विज्ञहरूले भने काठमाडौंजस्तो ठूलो जनघनत्व भएका ठाउँमा यसले थप जोखिम बढेको बताएका छन्। यहाँ संक्रमण कायम रहेकाले लकडाउन अन्त्य भएको अवस्थामा थप सतर्क हुनुपर्ने आवश्यकता उनीहरूले औंल्याए।

‘अधिकांश संक्रमितलाई लक्षण देखिएको छैन। कोबाट कसलाई संक्रमण सर्छ भन्ने टुंगो छैन। अब हरेक व्यक्तिलाई संक्रमित हो कि भन्ने सोचेर आफैं सावधानीका उपाय अपनाउनुपर्छ,’ डा. पुनले भने।

उनले लकडाउन अन्त्य गर्ने सरकारको निर्णय भने स्वाभाविक नै रहेको तर्क गरे। ‘तथ्यांकले संक्रमण कम हुँदै गएको देखाएको छ। लकडाउन गरेको धेरै भइसकेको थियो। यो दीर्घकालीन उपाय पनि होइन,’ उनले भने, ‘कुनै न कुनै दिन त हामीले आफैं सतर्क भएर सावधानीका उपाय अपनाउनैपर्ने थियो।’

लकडाउन खुलेको नाममा व्यक्तिगत सावधानीमा सम्झौता गरियो भने आगामी दिनमा फेरि संक्रमण बढ्ने सम्भावना उनले औंल्याए। यस्तो अवस्थामा बढी जोखिममा रहेका वृद्धवृद्धा र दीर्घरोगका बिरामीलाई सुरक्षित रहन उनले सुझाए।

‘परिवारमा वृद्धवृद्धा छन् भने उहाँहरूलाई सुरक्षित राख्नुपर्छ। यसमा युवा उमेरका व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुन्छ। कामको सिलसिलामा धेरै बाहिर घुलमिल हुने र रोग सार्नसक्ने कामकाजी युवा समूहले नै हो। उहाँहरूले आफ्नो परिवारमा रहेका त्यस्ता जोखिमपूर्ण सदस्यहरूको ख्याल राख्नुपर्छ,’ डा. पुनले भने।

लकडाउन अन्त्यपछि जोखिम बढे पनि संक्रमण ठ्याक्कै कुन अवस्थामा पुग्छ भन्ने अहिल्यै आकलन गर्न नसकिने उनले बताए। सरकारलाई कोरोना रोकथाममा सुझाव दिइरहेका नेपाल मेडिकल काउन्सिलका अध्यका डा. भगवान कोइरालाले पनि लकडाउन अन्त्यको निर्णय ठिक रहेको भन्दै अब सतर्कता र जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने बताएका छन्।

‘समुदायमा संक्रमण फैलिनसकेकाले लकडाउन अन्त्य गर्नु ठिकै हो, तर अब थप सतर्कता अपनाउनुपर्छ,’ उनले सेतोपाटीसँग भने, ‘लापरबाही गरियो भने फेरि ह्वात्तै फैलिन्छ।’ सरकारले अब दुई-दुई साताको अवस्था विश्लेषण गरेर थप निर्णय लिँदै जानुपर्ने उनको सुझाव छ। ‘संक्रमण दर बढ्यो भने जुनसुकै अवस्थामा थप कडाइ गर्ने गरी निर्णय गर्न सरकार तयार रहनुपर्छ,’ उनले भने।

पछिल्लो समय संक्रमण घटे पनि समुदायमा फैलिएको छैन भनेर ढुक्क नबस्न उनले भनेका छन्। लकडाउन खुलेपछि होटल, रेस्टुरेन्ट, जिमजस्ता बढी आवतजावत हुने स्थानमा थप सतर्कता अपाउनुपर्ने उनले बताए।

त्यस्तै मापदण्ड पालना नगर्नेहरूलाई कानुनको दायरामा ल्याउन पनि विज्ञहरूले जोड दिएका छन्। लापरबाही र मापदण्ड पालना नगर्दा नै संक्रमण फैलिने भन्दै सरकारले यी कुराको कडा निगरानी गर्नुपर्ने उनीहरूले बताएका छन्। जनस्वास्थ्यविद् डा. राजेन्द्र बिसीले अबको संक्रमणको जोखिम भनेको वृद्धावृद्धा र दीर्घरोगीहरूलाई जोगाउनु रहेको बताए।

‘संक्रमणको दर त बढ्छ नै, तर बढी जोखिम बुढापाका र दीर्घरोगीहरूलाई छ,’ उनले भने, ‘अधिकांश संक्रमितलाई लक्षण देखिँदैन अनि लक्षण नदेखिएपछि मानिसहरू कसरी परीक्षण गर्न जान्छन्? परीक्षण नभएपछि उनीहरू आफ्ना परिवारमा रहेका बुढापाका र दीर्घ रोगीको सम्पर्कमा पुगे भने सबभन्दा जोखिम त्यहाँ रहन्छ।’

उनले अगाडि भने, ‘अब जे गर्नुपर्छ मैले नै गर्नुपर्छ भन्ने सोच सबैले लिनुपर्यो। मेरो परिवारलाई म आफैं बचाउँछु भनेर सोच्नुपर्यो। यसरी सोचियो भने धेरै हदसम्म संक्रमणबाट जोगिन सकिन्छ।’ स्वास्थ्य मन्त्रालयको विज्ञ टोली भने सरकारको निर्णयबाट असन्तुष्ट छ।

‘हामीले अहिले नै निर्णय गर्नुपर्ने जरुरी थिएन,’ विज्ञ टोलीका एक सदस्यले भने, ‘कम्तीमा दुई-दुई साताको अवस्था विश्लेषण गरेर निर्णय गरेको भए धेरै उचित हुन्थ्यो।’

उनले सबैले आ-आफ्नो स्वार्थ अघि सारेका कारण लकडाउन अव्यवस्थित तरिकाले अन्त्य गरिएको जनाए। ‘पर्यटन व्यवसायी, उद्योगी सबैले आ-आफ्नो स्वार्थ राखे। त्यसैले पनि सरकारलाई एकैचोटि लकडाउन अन्त्य गर्न दबाब भयो,’ उनले भने।

सरकारले लकडाउन अन्त्य गर्ने निर्णय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी ‘सिसिएमसी’ को सिफारिसमा गरेको हो। सिसिएमसीको छलफलमा मन्त्रालयका विज्ञ समूहलाई बोलाइए पनि उनीहरूको सुझाव भने कार्यान्वयन गरिएन।

‘हामीले त अहिले एकैचोटि सबै खुला नगरौं भनेर सुझाव दिएका थियौं। माेटरसाइकलमा पनि केही समय जोर-बिजोर प्रणाली यथावत् राखौं भनेको हो,’ उनले भने, ‘तर यहाँ सबैको आ-आफ्नै स्वार्थले यो कायम रहन सकेन। हामीले कम्तिमा साउन २० गतेसम्म अहिलेको स्थिति यथावत् राख्ने र अवस्था हेरेर थप निर्णय गर्न सकिने कुरा राखेका थियौं।’

सरकारले लकडाउनलाई कडाइ गर्न नसकेको उनीहरूको तर्क छ। अहिले सपिङ मलहरू खोल्ने निर्णय नगरिएको भए पनि कडाइ गर्न नसक्दा व्यवसायीहरूले आफैं खोल्दै गएको उनीहरू बताउँछन्।

लकडाउन एकैपटक अन्त्य हुँदा संक्रमण दर बढ्नसक्ने विज्ञहरूले चेतावनी दिएका छन्। ‘काठमाडौं प्रवेश गर्ने सबैको परीक्षण भएको छैन। कति मानिस लुकिछिपी प्रवेश गरेका छन्,’ विज्ञ समूहका एक सदस्यले भने, ‘कति मानिस गाडीमा आउने र नाकामा आएपछि फेरि हिँडेर प्रवेश गर्ने गरेको देखियो। त्यस्ता व्यक्तिको परीक्षण भएको छैन। त्यसैले उपत्यकामा संक्रमण बढ्छ भन्ने छ।’

प्रतिक्रिया