आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशमा फेरी भारी वर्षा हुनसक्ने, महाशाखाले दियो यस्तो चेतवानी

प्रकाशित
1.1K
SHARES

काठमाडौँ । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ४ प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

आज देशभर सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा दिउँसो भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको तथा पूर्वी भू–भागमा नेपाल नजिक रहेकाले दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले चेतवानी दिएको छ ।

यसैबीच राति ३ बजे आसपास तामाकोशी नदी बुस्ती स्थित जलसतहमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेकोमा अहिले तल र घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बागमती नदीको खोकनास्थित जलसतहमापन केन्द्रमा जलसतह सतर्कता तह तल र घट्दो रहेको क्रममा रहेको विभागले जानकारी दिएको छ ।

यसैबीच त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । सातघुम्तीमा पहिरो खसेपछि आज विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए । अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया