आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कर्णालीमा थप ३० जनामा कोरोना संक्रमण, २४ जना दैलेखका

प्रकाशित
1.2K
SHARES

सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । दैलेखको आठबीस नगरपालिका वडानम्बर १ का दुई महिलासहित ११ जना रहेका छन् । उनीहरु ४ देखि ४१ वर्षका छन् ।

सोही नगरपालिकाको वडानम्बर ७ का एकजना पुरुष संक्रमित भएका छन् । यस्तै, दैलेखकै महाबु गाउँपालिका वडानम्बर १ का १४ देखि ७३ वर्षका ८ जना पुरुष रहेका छन् । महाबुकै वडानम्बर ३, ४ र ५ का ४९ देखि ७० वर्षका तीनजना पुरुष पनि संक्रमित भएका छन् । दैलेखका अर्का एकजना संक्रमित डुङ्गेश्वर गाउँपालिका-१ का पुरुष हुन् ।

यस्तै सुर्खेतका संक्रमित भेरीगंगा नगरपालिका १, ४ र ८ नम्बर वडाका तीनजना पुरुष र चौकुन गाउँपालिका वडानम्बर ७ का दुई महिला रहेका छन् । एकजना सल्यानको छत्रेश्वरी गाउँपालिका-३ का ३८ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना स्क्रमितको संख्या १८१३ पुगेको छ ।

हालसम्म प्रदेशमा १५५२ जना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबारमात्रै ६ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या २५५ रहेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा एक मृत व्यक्तिसहित पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिए ।

एडभान्स मेडिकेयर हस्पिटलमा उपचारका क्रममा कोरोना संक्रमणको शंका लागेपछि गत मंगलबार नारायणी अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । वीरगन्ज माइस्थान निवासी ७० वर्षीय ती पुरुषको मंगलबार साँझ नै मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा.उदय नारायण सिंहले जनाए ।

१७ जना संक्रमितमध्ये एक जना नारायणी अस्पतालका र एक जना बाहिर कार्यरत चिकित्सक हुन् । सुख्खा बन्दरगाहका दुईजना स्टाफ, ट्रक चालक र एक निजी स्कुलका कक्षा १० का विद्यार्थी समेतमा कोरोना संक्रमण देखिएको छ । बुधबार साँझ संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टाइनमा नबसेका व्यक्ति हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमित १७ जनामध्ये ९ जना पैसा तिरेर(सेल्फ पेड) परीक्षण गराएका र अन्य चिकित्सक सिफारिसमा परीक्षणका लागि आएका थिए ।

प्रतिक्रिया