आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खाल्डोमा जमेको पानीमा डुबेर झापामा तीन जना बालकको ज्यान गयो

प्रकाशित
1.3K
SHARES

काँकडभिट्टा । झापाको भद्रपुरमा खाल्डोमा जमेको पानीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भद्रपुर–२ डिगाउँका १० वर्षका अंकुश तामाङ, भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १२ र १४ वर्षका करण र अर्जुन थामी खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार बुधबार दिउँसो तीनै जना बालक कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा गएका थिए ।

घरमा कसैलाई नभनी गएका तीन जना बालक अबेरसम्म घर फर्किएका थिएनन् । खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजे तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । बिहीबार बिहान थामी दाजुभाइको शव पनि त्यही पोखरीबाट फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

निर्माण कम्पनीले जथाभावी खाल्डो खनेर छाडेका कारण दुर्घटना भएको भन्दै मृतकका परिवार र स्थानीयवासीले नगरपालिका र निर्माण कम्पनीप्रति आक्रोश पोखेका छन् । उता नुहाउने क्रममा खोलाले बगाउँदा अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीको शीतगंगा–१४ का ५८ वर्षीय कर्णबहादुर दर्जीलाई स्थानीय बाणगंगा खोलामा नुहाउँदा बगाएको हो ।

नुहाउन गएका दर्जीलाई खोलाले बगाएर धेरै तल पुर्याएको र कपिलवस्तु बाणगंगा ८ मधुवन नजिकै खोलाको किनारमा प्रहरी र स्थानीयले आज बिहान उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो खोलाले दर्जीलाई बगाएपछि अर्घाखाँचीको सिमलपानी प्रहरी चौकीका प्रहरी जवान र स्थानीयले खोजी कार्यलाई तिव्र पारेका थिए । तर दर्जीलाई खोलाले बगाएर धेरै टाढा लगेपछि ईप्रका पिपराको प्रहरी टोलीले मधुवन नजिकै खोलाको किनारमा शव फेला पारेको हो ।

शवलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया