आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पुष्पलालको सपना साकार पारेको प्रधानमन्त्री ओलीको दाबी

प्रकाशित
869
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन अहिले एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली वक्तव्य जारी गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले पुष्पलालको साङ्गठनिक राजनीतिक चाहनालाई आफूहरुले साकार बनाएको बताए।

‘‘विभाजित कम्युनिष्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको छ, पार्टीले करीब दुईतिहाइ बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ’’, उनले भने, “पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो हामीले धेरै हदसम्म पूरा गरेका छौं।”

प्रधानमन्त्री ओलीले अहिले नेकपाको सरकार समानता र समृद्धिका लागि अघि बढिरहेको भन्दै पुष्पलालको सपना साकार पार्ने बाटोमा सरकारले महत्वपूर्ण काम गरेको समेत वक्तव्य मार्फत बताएका छन्।

प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली वक्तव्यमा पुष्पलालकै अगुवाइमा कम्युनिष्ट आन्दोलनको संस्थागत थालनी, समाजको तत्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र सङ्गठनको स्थापना भएको उल्लेख गरेका छन्।

यसैबीच नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने प्रवृत्ति मौलाएको भन्दै त्यसविरुद्ध दृढतापूर्वक उभिन आह्वान गरेका छन् । पुष्पलाल स्मृति दिवसका सन्दर्भमा विज्ञप्ति जारी गर्दै नेता नेपालले व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुने सम्झाएका हुन ।

विज्ञप्तिमा नेपालले उल्लेख गरेका छन् , ‘अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ । आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ ।’

‘कम्युनिस्ट पार्टी र नेता–कार्यकर्ताहरूले जतिसुकै कठिन परिस्थितिमा पनि विचलित हुनहुँदैन र जनतालाई गोलबन्द गर्नबाट पछि हट्नु हुन्न भन्ने उनको दृढतालाई सिर्जनशील रुपमा अलवम्बन गर्दै कम्युनिस्ट पार्टीहरूले विभिन्न कालखण्डमा काम गर्न सकेकै कारण आज हामीले यति विशाल पार्टी निर्माण गर्न सकेका छौँ’ नेता नेपालले थपेका छन्, ‘दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर हामीले हाम्रा संस्थापक महासचिव कमरेड पुष्पलालको सपनालाई साकार मात्र पारेका छैनौँ, नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन ठोस योगदान समेत गरेका छौँ ।’

संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरिरहेको यस घडीमा नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्धतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको नेता नेपालले औल्याएका छन् ।

प्रतिक्रिया