आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनको चुही नदीको शक्तिशाली बाँध बि’ष्फोट

प्रकाशित
1.2K
SHARES

काठमाडौँ । पछिल्ला दिन लगातार परिरहेको भीषण वर्षापछि आएको बाढीमा परेर १०० जनाभन्दा बढीको मृत्यु भएको छ । अविरल वर्षापछि नदीहरुमा पानीको सतह ह्वात्तै बढेको छ भने केही बाँधहरु समेत फुटेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्याम सीसीटिभीका अनुसार चीनको ठूलो नदीमध्ये याङ्त्जी नदीको सहायक नदी चुही नदीमा बाँधिएको शक्तिशाली बाँध विष्फोट भएको छ ।

अविरल वर्षापछि यी नदीहरुको पानीको सतह असामान्य रुपमा बढिरहेको समेत बताइएको छ । अविरल वर्षापछि पानीको सतह १५ मिटरभन्दा माथि पुगेपछि विश्वकै सबैभन्दा ठूलो मानिने याङ्त्जी नदीमा रहेको बाँध गत हप्ता खोलिएको थियो । त्यहाँका आधिकारिक मिडिया रिपोर्टकाअनुसार जुन महिनामा मात्र त्यहाँ अविरल वर्षापछिको बाढीमा परेर १४० जनाको ज्यान गएको बताइएको थियो ।

पछिल्लो बाढीका कारण ३८ लाख मानिसहरु नराम्री प्रभावित भएको बताइएको छ भने २.२४ लाख मानिसहरु विस्थापित भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार बिहानदेखि सोमबार बिहानसम्म तिब्बत, युन्नान, गुईझोउ र गुआंशीका केही भागमा भारी वर्षा र आँधीबेहरीको पूर्वाअनुमान गरिएको त्यहाँका सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यता नेपालमा पनि लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ ।

गाउँपालिकाको वडा नम्बर १ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका हुन् । सोमबार दिउँसोदेखि डुबानमा परेका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राथिमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको थियो ।

बस्तीमा पानीको मात्रा केही घटेकाले मिलनबस्तीका ६० परिवार भने मंगलबार बिहान घर फर्किएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । मिलनबस्तीका २१ परिवार भने घर फर्किन सक्ने अवस्था नरहेको उनले बताए ।

बाढीले कन्काई नदी किनारको ३ सय मिटर बाँध भत्काएको हो । नदीमा आएको बाढीले चार दिनदेखि लगातार कटान गरेको थियो । बाँध भत्काएर बस्तीतर्फ सोझिएको बाढीले करिब एक हजार बिघा धान खेतसमेत डुबाएको छ ।

‘बाढीले कटान सुरु गरेपछि हामीले तत्काल रोक्ने प्रयास गर्‍यौं । तर, त्यो सम्भव भएन,’ वडा नम्बर २ का अध्यक्ष नेत्रबहादुर खड्काले भने । त्यस्तै सडकबारीका ५५ घर डुबानको उच्च जोखिममा छन् । भत्किएको बाँध तत्काल निर्माण गर्न नसके मिलनबस्ती, सडकबारी, सालमारा, लसुनगञ्जलगायतका बस्तीका सयौं घरपरिवार डुबानमा पर्ने अध्यक्ष साहले बताए ।

उता पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ मा पहिरोले घर बगाउदा दुई जना बेपत्ता भएका छन् । सोमबार राति खसेको पहिरोले सुतिरहेको अवस्थामा घरसहित ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीलाई बगाएको हो ।

स्थानीयले अहिले पहिरो हटाएर बेपत्ताको खोजी गरिरहेका बुलिङटार गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेमबहादुर थापा मगरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मोहनबहादुर खाँडले प्रहरी नायब निरीक्षकको कमाण्डमा घटनास्थलतर्फ प्रहरी खटाइएको र खराब मौसमको कारण समयमा नै घटनास्थल पुग्न नसकिएको बताए ।

यस्तो छ तीन दिनको पुर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको पूर्वानुमान गर्दै आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबारसम्म नै भारी वर्षा हुने जनाइएको छ ।

साउन ६ गते (मंगलबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ८ गते (बिहीबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश तथा प्रदेश ५ को थोरै स्थानहरुमा र बागमती प्रदेशको एक वा दुई भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदुरपश्चिम प्रदेश को थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया