आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्व माओवादी नेताहरुलाई निवासमै बोलाएर प्रचण्डले यस्तो तयारी गरेपछि हल्लियो बालुवाटार, अब के हुन्छ ?

प्रकाशित
2K
SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पूर्व माओवादी नेताहरुसँग व्यापक छलफल गरेका छन् । उनले पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुलाई आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् ।

छलफलमा प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरेको एक नेताले संचारकेन्द्रलाई जानकारी दिए।

पूर्वमाओवादी भनेर बैठक गर्नु उपयुक्त नभए पनि अहिलेको परिस्थिति अलि जटिल भएकाले राय सल्लाह लिन बोलाएको हुँ भन्दै प्रचण्डले बैठक सुरु गरेका थिए । पार्टी एकता भएपनि सांगठनिक एकताका काम बाँकी भएको भन्दै उनले पूर्वमाओवादीको गुट नबनाउने तर विचारका हिसाबले बेलाबेला छलफल गर्दै जाने बताए । यसरी नै पूर्व एमालेसँग छलफल गर्ने उनले बताए ।

बैठकमा अध्यक्ष प्रचण्डसहित सबै स्थायी कमिटी सदस्यले पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘पार्टी एकता जोगाउने मात्र होइन, विभाजन गर्न खोज्नेहरुलाई निरत्साहित गर्नुपर्छ भन्नेमा सबैको एकमत छ’ एक नेताले भने । मंसिरमा पार्टी महाधिवेशन गर्ने अर्का अध्यक्ष ओलीको प्रस्तावमा सहमत हुन नसक्ने प्रचण्डले बताएका छन् ।

शनिबार भएको सचिवालय बैठकमा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । महाधिवेशनबाट प्रचण्डलाई अध्यक्ष बनाउने तर जनताको बहुदलीय जनवाद (जबज)लाई स्वीकार गर्नुपर्ने ओलीको प्रस्ताव रहेको प्रचण्डले सुनाए ।

त्यही प्रस्तावमा सहमति गराउन सचिवालय बैठक लगतै प्रधानमन्त्री ओलीले उनलाई राष्ट्रपति कार्यालय शीतल निवास बोलाइएको थियो । तर आफू सहमत नभएको प्रचण्डले बताए । वैचारिक विषय नटुंग्याई महाधिवेशन गर्दा पदका लागि मात्र गरेको सन्देश जाने उनले बताए ।

आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्‍याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको आफूलाई महसुस भएको प्रचण्डले खुमलटारमा उपस्थित नेताहरुलाई बताएका छन् ।

प्रचण्डलाई कसरि पुर्याइयो बालुवाटार ?

शनिबार दिउँसो साढे ३ बजेदेखि करिब साढे ७ बजेसम्म सचिवालय बैठक सकिएर उठ्नैलाग्दा महासचिव विष्णु पौडेलले प्रचण्डलाई एसएमएस पठाए । सो एसएमएसमा प्रधानमन्त्रीले छलफल गर्न चाहनुभएको छ भनिएको थियो ।

बैठक सकेर निवासतिर फर्किन लागेका प्रचण्ड महासचिवको एसएमएसपछि नजिकै रहेको प्रधानमन्त्री क्वार्टरतर्फ लागे । तर, प्रधानमन्त्री ओली क्वार्टरमा थिएनन् । लगत्तै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन आयो, ‘म त यता शीतलनिवासतिर आइसके, तपाई पनि आउनुहोस् राष्ट्रपतिज्यूले छलफल गरौं भन्नुभएको छ ।’

प्रचण्ड केहीबेर बिलखबन्दमा परे । एकाएक शीतलनिवासमा ? राष्ट्रपतिले नै बोलाएको हो भने नजाऔं पनि कसरी ? त्यसपछि उनको गाडी खुमलटारतिर नलागी शीतलनिवासतिर हानियो । शीतल निवासमा पुग्दाखेरि त्यहाँ राष्ट्रपति र प्रधानमन्त्रीका साथमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि थिए । शंकर पोखरेल पनि थिए ।

अब दुई अध्यक्ष आपसमा मिल्नुपर्छ भन्ने लामो कुरा सुनिसकेपछि प्रचण्डले आफूलाई अपमानित महसुस गरे । र, शीतलनिवासबाट फर्कनासाथ वीच बाटोबाटै उनले छोरी गंगा दाहाललाई फेसबुकमा स्टाटस लेख्न लगाए ।

स्टाटसमा यसो भनिएको थियो– ‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’

आइतबार बिहान खुमलटारमा भेला भएका नेताहरुसँग प्रचण्डले भने, ‘यसरी मलाई परिबन्दमा पारेर शीतलनिवास जान बाध्य पारिएको हो, मलाई अपमानित गर्ने, फसाउने र बदनाम गराउने योजना बुनिएको रहेछ भन्ने महसुस भएको छ ।’

प्रचण्डले आफ्नो समूहका नेताहरुसँग भने, ‘अब साथीहरुको भावना, तपाईहरुको सुझावभन्दा तलमाथि गएर केही पनि हुँदैन । एकपछि अर्को तुरुप कार्ड ल्याउनुभएको छ, कुनै पनि भरपर्दो छैन, विश्वसनीय छैन । त्यस्तो भ्रममा म पर्दिनँ ।’

मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा आफ्नो सहमति नरहेको प्रष्टले स्पष्ट पारेका छन् । ‘महाधिवेशन गर्नका लागि होइन । यो भरपर्दो प्रस्ताव पनि होइन । विचारमा छलफल छैन, सदस्यता टुंगिएको छैन, विषयान्तर गर्ने प्रयत्न हो’ प्रचण्डले भने, हिजै हुँदैन भनेको थिएँ, बाहिर गलत समाचार सम्प्रेषण भयो । हिजो सचिवालयबाट खण्डन गर्न लगाएँ ।’

प्रचण्डले अगाडि भने, ‘शीतलनिवासमा जाने कुनै कार्यक्रम थिएन, अरु साथी पनि गएका रहेछन्,तपाई पनि आउनुपरो एकछिन भन्नुभयो । अपर्झट गएको हो । सहमति भएको छैन । अब साथीहरुको भावना, तपाईहरुको सुझावभन्दा तलमाथि गएर केही पनि हुँदैन ।’

मंसिरमा अर्ली महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएका नेकपा अध्यक्ष प्रचण्ड १२ घण्टा नबित्दै पछि हटेको ओली पक्षका नेताहरुको आरोप छ । उनीहरुको दाबी के छ भने विष्णु पौडेल र जनार्दन शर्माले ओली र प्रचण्डवीच सहमतिको मस्यौदा नै तयार पारिसकेका थिए । शीतलनिवासमा त्यो सहमतिमा प्रचण्डलाई मनाउने तयारी थियो, तर उनी सहमति नगरी फर्किए ।

यसअघि पनि आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा हस्ताक्षर गर्दा विष्णु पौडेल र जनार्दन शर्मा नै साक्षी बसेका थिए । अहिले केपी ओलीले त्यो लिखित सम्झौता अस्वीकार गर्दै आएका छन् । खुमलटारमा प्रचण्डले पूर्व माओवादी नेताहरुलाई बोलाएर छलफल गरेपछि बालुटाहल्लिएको अनुमान सुरु गरिएको छ ।

प्रचण्डले आफुहरुबिरुद्ध ठुलै तयारी गरेको भन्दै ओली ससंकित भएका छन् । उनले पनि आफूनिकटका नेताहरुलाई बालुवाटार बोलाउदै छलफल गर्दै गरेका छन् ।

प्रतिक्रिया