आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

प्रकाशित
578
SHARES

चितवन । लगातारको वर्षापछि आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले इमानदार मिडियालाई दिएको  जानकारीअनुसार  इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेको छ।

पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने प्रहरीले जनाएको छ । त्यसैले आज यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

जिप्रका चितवनले पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ । त्यसैले एकतर्फी सवारी लामबद्ध गरिदिन प्रहरीले अनुरोध गरेको छ । चारकिलोमा यसअघि पनि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।

दर्के झरीले देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्मै वर्षाको सम्भावना छ ।

विभागका अनुसार गएराति प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्यधिक वर्षा मापन भएको छ । मौसमविदहरुले मध्यमदेखि भारी वर्षाको सम्भावना अझै रहेकाले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

काठमाडौंका खोला–नदीमा बहाव बढ्यो

विभागका अनुसार पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ । त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएकाले अझै तीन घण्टा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया