आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मौसमबारे आयो फेरी यस्तो नयाँ अपडेट, कहाँ-कहाँ हुदैछ बर्षा ?

प्रकाशित
848
SHARES

काठमाडौं । आइतबार रातिदेखि देशका बिभिन्न स्थानमा भारी वर्षा भइरहेका बेला मौसमसम्बन्धी अर्को नयाँ अपडेट आएको छ । नेपालमा मनसुनी वायु सक्रिय रहँदा रातिदेखि मुलुकका अधिकांश स्थानमा लागातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एकाध ठाउँमा भने भारी वर्षा पनि मापन गरिएको छ ।

बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै विभागले एसएमएसमार्फत पनि सन्देश पठाएर अलर्ट गराएको छ । विभागले त्यस क्षेत्रका नदी किनार र डुवान भईरहने होचा स्थानमा दिउँसो सम्म सतर्क अपनाउँन आग्रह गरेको छ ।

पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको तथा थप वर्षा हुन सक्ने भएकाले डुडवा खोला, राप्ती नदी आसपासका क्षेत्रमा पनि सतर्क रहन आह्वान गरिएको छ ।

यस्तै परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा पनि भारी वर्षा मापन भएको विभागले जनाएको छ । त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने भएकाले आरूण खोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

डडेल्धुरा जिल्ला रंघुन -पन्टुरागाड नदीजलाधारमा अति भारी वर्षा मापन भएपछि विभागले एसएमएस पठाएर अलर्ट गराएको छ । त्यस क्षेत्रमा थप बर्षा हुने भएकाले रंघुनको महाकाली दोभान सम्मको क्षेत्रमा खतरा आसपासको बाढीको सम्भावना भएकाले तटीय क्षेत्रमा उच्च सतर्कताका लागि आह्वान गरिएको विभागले जनाएको छ ।

विभागले सोमबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार मुलुकभर बुधबारसम्म वर्षा भइरहने पूर्वानुमान गरिएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।

सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन् ।

जिल्लाको बागमती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत शुरू गरेको जिल्लाका किसानहरुले बताएका छन् ।

गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।आइतबारकै तुलनामा पानी परिरहे डुबानको समस्या बढ्न सक्ने उनको भनाइ छ ।

मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकसमेत हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ । सर्लाहीको कर्णाली भनेर मानिने नारायणखोलामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सवारी आवातजावत ठप्प भएको छ ।

प्रतिक्रिया