आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपाल पक्षसँग गोप्य छलफल सकेर ओलीलाई भेट्न किन पुगे प्रचण्ड

प्रकाशित
2K
SHARES

काठमाडौं । आइतबार विहानभर आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुसँग गोप्यरुपमा छलफल गरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष प्रचण्ड अपरान्हति भने सुटुक्क बालुवाटार पुगेका छन् । शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर प्रचण्डले नेपाल पक्षलाई स्पष्टिकरण दिएपछि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर सहमतिको प्रयास गर्नका लागि प्रचण्ड बालुवाटार पुगेको र त्यहाँ छलफल भइरहेको स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्ड समय लिएर प्रधानमन्त्रीलाई भेट्न आएको बालुवाटार स्रोतले जनाएको छ । माधव नेपालसहितका नेताहरुसँग भेट्नुअघि प्रचण्डले आज विहान उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग अलग अलग छलफल गरेका थिए ।

प्रचण्डले आफूनिकटका नेताहरुलाई के भने ?

प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ता र छलफलबारे खुमलटार बैठकमा ब्रिफिङ गरेका छन् । आज बिहानैदेखि दिउसोसम्म प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा प्रचण्डले ओलीले विभिन्न अफर ल्याएर सबैलाई झुक्याउन खोजेको भन्दै उधारो सहमति नमान्ने बताएका छन् ।

खुमलटारमा उपस्थित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठसँगको छलफलमा प्रचण्डले विभिन्न चरणमा ओलीसँग गरिएका वार्ताबारे जानकारी गराउँदै आफूहरुबीच साझा धारणा बनाएर अघि बढ्ने बताएको स्रोतले जनाएको छ ।

खुमलटार स्रोतले भन्यो, ‘प्रचण्डले नेताहरुसँग केपी ओलीसँग भएको छलफलको ब्रिफिङ गर्नुभएको छ । ब्रिफिङका क्रममा प्रचण्डले साझा धारणा बनाई अघि बढ्ने बताउनुभएको छ । ओलीको महाधिवेशनको प्रस्ताव सकारात्मक र राम्रो उद्देश्यले नआएको उहाँको भनाइ छ ।’ शनिबार सचिवालय बैठकमा दुवै अध्यक्षले मंसीरमा महाधिवेश गर्ने सहमतिको प्रस्ताव गरेका थिए ।

नाटकीय रुपमा नयाँ प्रस्ताव अगाडि सारेपछि असन्तुष्ट सचिवालयका चार नेतालाई प्रचण्डले आइतबार बिहानै खुमलटार बोलाएका थिए । शनिबारको बसेको सचिवालय बैठकमा मंसीरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा प्रचण्डले समर्थन जनाएपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।

एक नेताका अनुसार प्रचण्डले यसरी महाधिवेशनको प्रस्ताव अल्झाउने, स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न भएको बताएका छन् । ‘अर्ली महाधिवेशनको प्रस्ताव अल्झाउने प्रस्ताव हो । न सदस्यताको टुंगो लागेको छ । न पार्टी एकीकरणको प्रक्रिया पूरा भएको छ । न वैचारिक छलफल हुने समय छ । प्राविधिक कुरा गरेर मात्रै महाधिवेशन हुँदैन, ’प्रचण्डको भनाई उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘महाधिवेशन भनेपछि सबै विधि पूरा गर्नुपर्छ । यसकारण यो प्रस्ताव जसरी आयो त्यो अल्झाउने, स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न हो । हिजो केही सहमति गरिएको छैन ।’

ती सदस्यका अनुसार प्रचण्डले सामूहिक रुपमा कमिटीको निर्णयअनुसार अगाडि बढ्ने पनि बताएका छन् । उनको भनाईउद्धृत गर्दै ती सदस्यले भने, ‘बाहिर सहमति भयो भनेर हल्ला गरियो, हामी त्यसमा सहमत छैनौं । राष्ट्रपतिकहाँ गएको पनि जुन ढंगले हल्ला गरियो, त्यो कुनै पुर्वनिर्धारित कार्यक्रम थिएन । अप्रत्याशित रुपमा बोलाएर गएको हुँ । पार्टी कमिटीले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने हो । त्यसरी नै जानुपर्छ । सामूहिक रुपमा कमिटीको निर्णय अनुसार अगाडि बढ्ने हो । बाहिर आएका हल्ला मात्रै हुन् ।’

नेकपाको आइतबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भइसकेको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानका कारण असार १० देखि सुरु नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित छ । ओलीले दुवै पद नछाड्ने बताएका छन् । यही तनावबीच मंसीरमा महाधिवेशन गर्ने प्रस्तावले नेकपा विवाद नयाँ मोडमा पुगेको छ ।

प्रतिक्रिया