आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पटक–पटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज बस्दै

प्रकाशित
715
SHARES

काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग उठेपछि असार २० यता लगातार स्थगित हुँदै आएको बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

गत असार १० गते सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि फुटको संघारमा पुगेको नेकपाको विवाद तत्कालका लागि मत्थर हुने संकेत देखिएको छ ।

शनिबार भएको सचिवालय बैठकमा ओलीले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेपछि प्रचण्डले सहमति जनाएको बताइएको छ । योसँगै ओलीले तत्काल दुबै पदबाट राजीनामा दिन नपर्ने भएको छ । तर, अग्रिम महाधिवेशनको प्रस्तावमा माधवकुमार नेपालले असहमति राखेकाले अझै ठोस सहमति हुन सकेको छैन ।

पार्टी एकताको काम नै पूरा नभएको अवस्थामा आउने मंसिरमै महाधिवेशन गर्न सम्भव नहुने नेपालको भनाइ छ । वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि ओलीको प्रस्तावमा असहमत देखिएका छन् ।

अग्रिम महाधिवेशनको विषय दुई अध्यक्षको सहमतिमा मात्र नभई स्थायी कमिटी र केन्द्रीय कमिटीबाट टुंग्याउनुपर्ने नेता नेपालको माग छ । नेपालले दुई अध्यक्षबीचको सहमतिबाट मात्रै नभई पार्टी कमिटीबाट निर्णय हुनुपर्ने अडान लिएका छन् ।

सचिवालय बैठकलगत्तै शनिबार साँझ अध्यक्षद्वय ओली र प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए । राष्ट्रपतिको मध्यस्थतामा ओली-प्रचण्डबीच गोप्य सहमति भएको अनुमान गरिएको छ । तर त्यसबारे कुनै कुनैपनि पक्षले अहिलेसम्म खासै कूनै खुलासा भने गरेका छैनन् ।

प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा विवाद समाधानमा छलफल भए पनि स्थायी कमिटीबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया