आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मोदीको निर्वाचन क्षेत्रमा नेपालीमाथि भएको अत्याचारबारे मुख्यमन्त्री आदित्यनाथले लिए यस्तो कडा एक्सन

प्रकाशित
1K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थानबारे दिएको बयानको विषयलाई लिएर भारतमा रहेका नेपालीलाई नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले हदैसम्मको लज्जास्पद हर्कत देखाएपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ एक्शनमा उत्रेका छन् ।

मुख्यमन्त्रीको निर्देशनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिनुभएको हो । भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो राख्दै शुक्रबार मुख्यमन्त्री आदित्यनाथसँग टेलिफोनमा चासो व्यक्त गरेको थियो ।

मुख्यमन्त्री आदित्यनाथले भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँगको कुराकानीका क्रममा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार सह्य नभएको बताएका थिए ।

उनले भने, “नेपालीहरू उत्तरप्रदेशमा सुरक्षित रहनेछन्, कारबाही सुरु भइसकेको छ, नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ र जनस्तरको सम्बन्ध बलियो छ त्यसलाई बिथोल्न र खल्बलिन हामी दिँदैनौँ ।’

विश्वहिन्दु सेनाका कार्यकर्ताले त्यहाँस्थित एक नेपालीलाई जबरजस्ती केसमुण्डन गरी टाउकोमा श्रीराम लेखेर प्रधानमन्त्री ओली र नेपालविरुद्ध नारा लगाउन लगाएको भिडियो सार्वजनिक भएपछि चर्को विरोध हुँदै आएको छ । साथै बनारसको ललिताघाटस्थित पशुपतिनाथको मन्दिरमा नेपाल विरोधी पोस्टरसमेत टाँसिएका थिए ।

यो मन्दिर नेपालका तात्कालिन राजा रणबहादुर शाहले आफू प्रवासमा रहँदा निर्माण गरेका थिए । पछिल्लो जानकारी अनुसार यस घटनामा संलग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिइएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’ को जन्मभूमिबारे दिएको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको फरक व्याख्या भएको भन्दै त्यसमा स्पष्ट पारेको हो । उक्त अभिव्यक्ति कसैको भावनामा चोट पुर्‍याउने मनसायबाट नआएको समेत परराष्ट्रले जनाएको छ।

राम र उनीसँग जोडिएका धार्मिकस्थलबारे धेरै मिथ र सन्दर्भ सामग्री रहेको भन्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीले ‘रामायणले समेट्ने विशाल सांस्कृतिक क्षेत्र, राम, रामायण र यो समृद्ध सभ्यताबारे थप अध्ययन र अनुसन्धानमा जोड दिएको’ दाबी गरेको छ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति अयोध्याको महत्व र यसको सांस्कृतिक मूल्यको अवमूल्यन गर्नका लागि थिएन’, विज्ञप्तिमा भनिएको छ। हरेक वर्ष विवाह पञ्चमीको अवसरमा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म जन्ती आउने प्रचलन रहेको समेत जनाइएको छ

दुवै देशका प्रधानमन्त्रीले सन् २०१८ को मे महीनामा रामायण सर्किटको उद्घाटन गर्दै जनकपुर-अयोध्या यात्रुवाहक बस सेवा सञ्चालन गरेको सन्दर्भ जोड्दै परराष्ट्रले विज्ञप्तिमा भनेको छ, ‘यस्ता तथ्यले दुई देशका संस्कृति र जनताबीचको सौहार्दपूर्ण सम्बन्धबारे प्रकाश पार्छन्।’

नेपाल र भारतका जनताबीचको सांस्कृतिक सम्बन्धलाई नेपालले महत्त्वका साथ लिएको पनि जनाइएको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सत्तारुढ नेकपाका नेताहरूले नै आलोचना गरिरहेका छन् । उनको अभिव्यक्ति पदीय जिम्मेवारी र कूटनीतिक मर्यादाअनुसार नआएको उनीहरूको भनाइ छ ।

२९ असारमा भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिको नेपाल र भारतमा समेत सार्वजनिक रुपमा आलोचना भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारि गरेको हो ।

परराष्ट्र मन्त्रालयको वक्तव्यको अनौपचारिक नेपाली अनुवाद
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आदिकवी भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती समारोहमा व्यक्त गर्नुभएका विचारहरुलाई लिएर भइरहेका विविध व्याख्याहरुमाथि सरकारको ध्यानाकर्षण भएको छ । उक्त सन्दर्भलाई परराष्ट्र मन्त्रालय यसप्रकारले स्पष्ट पार्न चाहन्छ : १) प्रधानमन्त्रीको टिप्पणी कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावना र संवेदनालाई चोट पु¥याउने आशय राखिएको थिएन ।

२ श्रीराम र उहाँसँग सम्वद्ध स्थानहरुका बारेमा धेरै किंवदन्ती र भनाइहरु छन् । प्रधानमन्त्रीले श्रीराम र उहाँसँग जोडिएका विभिन्न स्थानहरुका बारे नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्वमाथि सामान्य जोड दिनुभएको हो । ३) टिप्पणीले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन ।

स्मरणीय यो छ कि विवाह पञ्चमी समारोहको परम्परा, जसमा भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने गर्छन्, प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ को मे महिनामा रामायण सर्किटको उद्घाटन गर्नुभएको थियो, जसमा जनकपुर–अयोध्या यात्रु बस सेवा एउटा महत्वपूर्ण तत्वका रुपमा रहेको छ । यी तथ्यहरुले दुई देश र जनताबीचको सांस्कृतिक समानतालाई संकेत गर्छन् ।

यसैबीच नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मको विषयमा सोमबार दिएको अभिव्यक्ति सच्चाउन र जनतासमक्ष आत्मालोचना गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया