आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुनकोशी र भोटेकोशीमा बाढी आएलगत्तै मौसम पूर्वानुमान महाशाखाले दियो यस्तो कडा चेतवानी

प्रकाशित
1.9K
SHARES

काठमाडौं । सुनकोशी र भोटेकोशी नदीमा अचानक बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ । विभागको सिन्धुपाल्चोकस्थित बलेफी नदी जलविरे बाढी मापन केन्द्रका अनुसार एक्कासी जलसतह १ मिटर बढेर बाढी बढ्दो क्रममा रहेको छ ।

यस्तै सिन्धुपाल्चोकको बाह्रबीसेस्थित भोटेकोशी नदीमा पनि एक्कासी बाढी आएकाले ती नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेमै गत असार २४ गते बाढीपहिरो जाँदा २० जना बेपत्ता भएका थिए ।

यसैबीच मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो मुलुकका अधिकांश प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आज दिउँसो र राति भारी वर्षाको सम्भावना छ । यस्तै भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा बेपत्ता भएका पाँच जनाको पहिचान खुलेको छ ।

अविरल वर्षापछिको पहिरोले घर बगाउँदा बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।

पहिरोले एउटा स्कूलमा पनि पहिरोले क्षति पुर्‍याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न नसकेको उनले जानकारी दिएका छन् ।

उता सङ्खुवासभाको शिलिचोङ–१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा बिस्थापित भएकालाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । शिलिचोङ–१ वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि टेन्ट र शौचालय निर्माण गरिदिएको हो ।

पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका विस्थापित ८२ घरका ३८० जनालाई अस्थायी बसोबासका लागि प्रदेश नं १ सरकारले मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामग्री बुधबारे बजारमा पुर्‍याएको थियो । सामग्री पुगेसँगै सेनाले टेन्ट निर्माण गरेको हो ।

विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने र थप राहत र उद्धारको कामलाई प्रभावकारी र सहज बनाउने शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले बताए ।

अस्थायी बसोबासका लागि तयार गरेको टेन्टमा, शौचालय, खानेपानी र बिजुलीबत्ती जडान भइरहेको उनले जानकारी दिए । पहिरोमा हराइरहेका ११ जनाको खोजी जारी रहे पनि अवस्था पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

असार २७ गते राति गएको पहिरोमा ११ बेपत्ता भएका छन् भने बेपत्ताको खोजीमा खटिएका एक जनाको मृत्युसमेत भएको थियो । यस्तै पूर्वखानेपानीमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङ्मा शेर्पाले निजी खर्चमा हेलिकोप्टरबाट १५ जनालाई उद्धार गरेका छन् ।

बिरामी, सशक्त र वृद्धवृद्धालाई चित्रेको शेर्पा बस्तीबाट वालाको बुधबारेमा उद्धार गरिएको हो । दुई जना पहिरोमा परेर घाइते भएकालाई उद्धार गरेर जिल्ला सदरमुकाम खाँदबारीमा उपचारका लागि ल्याइएको छ ।

उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । सेनाको एमआई–१७ हेलिकोप्टर पहिरोग्रस्त बेसिन्दामा बस्न नसकेपछि पूर्वमन्त्री खड्का र पर्यटन व्यवसायी शेर्पाले निजी खर्चमा उनीहरुको उद्धार गरेका हुन् ।

प्रतिक्रिया