आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाढी पहिरो पीडितहरुका लागि उद्धार र राहतमा कुनै कमी हुन्न- गृहमन्त्री थापा

प्रकाशित
1.2K
SHARES

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापन कार्यमा कुनै कमी नगरिने बताएका छन् । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत जनप्रतिनिधिहरुसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । जाजरकोटमा बाढी, पहिरोबाट पीडित भएकाहरुको उचित व्यवस्थापनको माग गर्दै उनीहरुले आज गृहमन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले बाढी र पहिरो प्रभावितहरुको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकोसमेत जानकारी दिए । उनले बाढीपीडितहरुका लागि तत्काल आधारभूत आवश्यकता पूर्ति गरिसकेपछि पुनःस्थापन र पुनःनिर्माणको कामलाई तीव्रता दिने जानकारी गराए ।

मुलुकभर पछिल्लो एक महिनामा पहिरोबाट मात्रै ९७ जनाको मृत्यु भइसकेको छ । ४३ जना बेपत्ता छन् । सरकारले बेपत्ताको खोजी तथा राहत र उद्धारको कामलाई तिव्रता दिँदै आएको छ । यस्तै मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् ।

पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसवर्ष पहिरोका अकल्पनीय घटना हुँदा धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

पहिरो विज्ञका अनुसार एकै ठाउँमा धेरै पानी पर्ने, पानीको निकास व्यवस्थापन नहुने र ठाउँठाउँमा जथाभावी खनेर सडक बनाउने गर्दा पहिरो खसेको हो । प्राप्त विवरणअनुसार जेठ ३० देखि असार ३१ गतेसम्म पहिरोका कारण ८३ जना घाइते भएका छन् । एक महिनामा चट्याङका कारण १७ जनाले ज्यान गुमाएका छन् ।

मुख्यतः पहिरोले पर्वत, बझाङ, सिन्धुपाल्चोक, पाल्पा, गुल्मी, जाजरकोट, तनहुँलगायत जिल्लामा बढी क्षति पुर्‍याएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । सिन्धुपाल्चोकलगायत केही जिल्लामा भने धेरै मानिस हराइरहेका छन् । अझै पनि खोजी कार्य जारी राखिएको छ । बाढी र डुबानका घटना भएपछि त्यसले ठूलो मानवीय क्षति भने गरेको छैन ।

पछिल्लो २४ घण्टामा मात्रै मुलुकका विभिन्न सात स्थानमा पहिरो, आठ स्थानमा अविरल वर्षा भएको छ । एकदिनमा मुलुकभर कूल विपद्जन्य घटना २१ वटा भएको प्राधिकरणले जनाएको छ

प्रतिक्रिया