आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीको अयोध्याबारेको अभिव्यक्तिप्रति भीम रावलले गरे यस्तो कडा ट्वीट

प्रकाशित
864
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका सम्बन्धमा दिएको विवादित अभिव्यक्तिको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रै आलोचना सुरु भएको छ । नेकपाका स्थायी समिति सदस्य डा. भीम रावलले प्रधानमन्त्रीको अभिव्यक्तमाथि प्रश्न उठाउँदै टि्वट गरेका छन् ।

रावलले आफ्नो टि्वटमा लेखेका छन्, ‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवम् कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो ?

यस्तै नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मको विषयमा सोमबार दिएको अभिव्यक्ति सच्चाउन र जनतासमक्ष आत्मालोचना गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र भारतले नक्कली अयोध्या खडा गरेको भन्ने अभिव्यक्तिले राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको भन्दै गौतमले ओलीलाई आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्न फेसबुकमा सुझाव दिएका हुन् । यस्तो छ गौतमले प्रधानमन्त्रीलाई दिएको सुझाव–

”राम जन्मभूमि र विवाद
नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क. केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आजभन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषय बारे चर्चा गर्नुभएको थियो ।

मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई तपाईंले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण बिना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो ।

क. केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँले चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नुपर्दथ्यो ।

भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौं । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रशंसा गरिरहिने छ ।

संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुँदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौं ।

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।”

प्रतिक्रिया