आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्तो छ मंगलबारको मौसम पूर्वानुमान, यी स्थानहरुमा हुनेछ वर्षा

प्रकाशित
557
SHARES

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ।

साथै, अहिले देशभर आँशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानमा मंगलबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । र, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

यस्तै भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ ।

लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पुर्‍याएको छ ।

भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ । खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए । शव आएको बेला अत्यन्तै दुर्गन्ध फैलिने गरेको मण्डलले जानकारी दिए । बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ ।

खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ । पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ ।

बर्सेनी करौडौँ रकम खर्च हुँदै आए पनि तिलाठी र बेल्हीको आन्तरिक विवाद तथा भारतको अवरोधका कारण तिलाठी र बेल्ही डुबानबाट बच्न सकेको छैन । बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जोखिममा रहने गरेको छ । चुरेबाट निस्केको खाँडो नदीले नेपाली भूभागमा तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्छ ।

खासगरी पूर्वपश्चिम राजमार्गदेखि दक्षिणको खाँडो नदीसित टाँसिएका गाउँहरु हरेक वर्ष बाढीको चपेटामा पर्छन् । सबभन्दा बढी निशानामा पर्ने गाउँ भने तिलाठी र बेल्ही नै हो ।

प्रतिक्रिया