आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीको अभिव्यक्तिलाई लिएर बाबुराम भट्टराईले गरे यस्ता २ ट्वीट, सामाजिक सञ्जालमा खैलाबैला

प्रकाशित
1K
SHARES

काठमाडाैं । एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर चर्को आलोचना भएको छ।

सोमवार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले ‘नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको’ भन्ने टिप्पणी गरेका थिए। सामाजिक सञ्जालमा केही थोरैले उनको टिप्पणीको समर्थन गरेको पनि देखिन्छ भने केहीले प्रधानमन्त्रीको भनाइप्रति व्यङ्ग्य पनि गरेका छन्।

टिप्पणी गर्नेहरूमा सामाजिक सञ्जालका नियमित प्रयोगकर्ताहरूका साथै विभिन्न पेशाकर्मी लेखक, पत्रकार र राजनीतिक कार्यकर्ताहरू पनि रहेको उनीहरूको परिचयबाट बुझ्न सकिन्छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओलीको भनाईबारे व्यङ्ग्य गर्दै ‘नयाँ रामायण श्रवण गरौँ’ भन्दै ट्विट गरेका छन्।

त्यस्तै अर्को ट्वीटमा उनले भनेका छन् – ‘अति गरे खति हुन्छ भन्छन्!प्रम @kpsharmaoli का वचन/कर्मले सीमा नाघ्दैछन्!संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं!’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो प्रकरणले नेपाल भारतबीच थप विवाद सिर्जना गर्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको जस्तो नदेखिएको भन्दै ट्विट गरेका छन्।

‘प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन’ उनले भनेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अङ्ग्रेजीमा ट्विट गर्दै लेखेका छन्: “धर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो निकै भावनात्मक विषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ?”

नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले समेत ओलीबाट ‘एकपछि अर्को’ यस्तो अभिव्यक्ति आउनु ‘रहस्यमय’ रहेको ट्विट गरेका छन्। ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ ।अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ।’ उनले भनेका छन् ।

ओलीले के भनेका थिए?
सामाजिक सञ्जालमा निकै फैलिएको ओलीको सम्बोधनको अंशमा उनले रामायणमा उल्लेख भएको देश अयोध्याबारे विभिन्न दाबीहरू गरेका हुन।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने,’हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं। भारत हैन अध्योध्याकालाई दिएका हौं। अयोध्या भनेको वीरगन्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,’ उनले भने।

अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै उनले भने, ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो ।’

उनले अयोध्या भारतले दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे भनेर प्रश्न गरे । त्यसबेला न टेलिफोन न मोबाइल रहेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कताबाट थाहा होस्, थाहा हुन सम्भव थिएन । नजिकै खोजिन्थ्यो र बिहे भइहाल्थ्यो ।’

अयोध्या ठोरीमै भएको तर्क गर्दै उनले भने, ‘रामले सीतालाई (अहिले भनिँदै आएको) अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मिकी आश्रममा छोडेको होइन । जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर वाल्मिकी आश्रम पुर्‍याइदिए, फर्किए ।’

यसो भन्दा आफूमाथि विद्धानहरुले हमला गर्न सक्ने उनले बताए । प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञानको सुरुआत र विकास नेपालमा भएको भएपनि त्यो श्रृङ्खलाले निरन्तरता पाउन नसकेको बताए।

प्रतिक्रिया