आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय मिडियाबिरुद्ध सरकारले पठायो यस्तो कूटनीतिक नोट

प्रकाशित
576
SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा pआपत्तिजनक, ‘झूटो, आधारहिन र असंवेदनशील’ भन्दै नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस सम्बन्धमा भारतलाई कूटनीतिक नोट पठाउँदै परराष्ट्र मन्त्रालयले ‘ती समाचार सामग्रीले नेपाल र यसको नेतृत्वको अपमान गरेको’ उल्लेख गरेको छ।

‘त्यस्ता समाचार सामग्रीले गलत सूचना दिएर भ्रम छर्नुका साथै सभ्य समाजमा अपेक्षा गरिने न्यूनतम सार्वजनिक शिष्टता र मर्यादा उल्लंघन गरेको छ,’ नेपालले पठाएको कूटनीतिक नोटमा उल्लिखित विवरण उद्धृत गर्दै परराष्ट्र स्रोतले भन्यो, ‘केही भारतीय मिडियाले चलाएको यस्तो दुष्प्रचारले नेपाली जनता र नेपाली नेतृत्वको भावनामा गहिरो चोट पुगेको छ।’

परराष्ट्रले नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत् आइतबार उक्त कूटनीतिक नोट भारत सरकारलाई पठाएको हो। कूटनीतिक नोटमा दुई देशबीच लामो समयदेखि रहेको गहिरो र बहुआयामिक सम्बन्ध एकअर्काको सार्वभौमिक समानता, मित्रता र समझदारी तथा आपसी रुचि र सरोकारको सम्मानमा आधारित रहेको उल्लेख गरिएको छ।

‘यो सम्बन्ध अगाडि बढाउन मिडियाले सही सूचना र सही दृष्टिकोण प्रवाह गरेर रचनात्मक भूमिका खेल्नुपर्छ,’ कूटनीतिक नोटमा भनिएको छ, ‘हामी प्रेस स्वतन्त्रताको सम्मान गर्छौं, तर त्यस्तो स्वतन्त्रताले न्यूनतम शालीनता र नैतिक सीमा नाघ्नु हुँदैन।’

‘एक्काइसौं शताब्दीमा आपसी हितका लागि ठोस आधार तयार पार्न दुई देशको नेतृत्वबीच भएको घोषित समझदारीविपरीत भारतीय मिडियामा आएका झूटा सामग्रीहरूले नेपाल र नेपाली जनताको अपमान गरेको छ,’ कूटनीतिक नोटमा उल्लेख छ।

नेपालबारे भारतीय मिडियामा प्रसारित सामग्रीले दुई देशका जनतामा पुस्तौंसम्म एकअर्काप्रति घृणा र आक्रोश जगाउने पनि परराष्ट्रले औंल्याएको छ।

‘त्यसैले नेपालविरूद्ध प्रसारित अपमानपूर्ण सामग्रीहरूविरूद्ध तत्काल कदम चाल्न र त्यस्ता सामग्रीले भारतीय मिडियामा ठाउँ पाउने छैन भनी सुनिश्चित गर्न हामी आग्रह गर्छौं,’ परराष्ट्रले भनेको छ। यस्तै सरकारले भारतीय न्यूज च्यानलहरुमाथिको प्रतिबन्ध तत्काल नखोल्ने तथा बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने स्पष्ट पारेको छ ।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिँदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताए । सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा.खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताएका हुन् ।

नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भएपनि भारतीय न्यूज च्यानलहरुले दुरासायपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उनले बताए । उनले भने, ‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यवद्धता हामीले प्रदर्शन गरेका छौँ ।

यो नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन् । एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जन कुनै पनि मिडियाले सुहाउँँदैन ।

भारतीय मिडियाहरुको कदमलाई हामीले दुरासायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वस्फुर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिबन्ध लगाए । परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिबन्ध कायम राख्न म अग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलिबारे के थियो भारतीय मिडियाको आपत्तिजनक टिप्पणी ?

भारतीय टीभी च्यानल जी मिडियाले हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको थियो । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सम्वन्धमाथि काल्पनिक कथा बुन्दै सो टीभीले अनर्गल प्रचार गरेको थियो ।

‘ओली कि ईश्कीया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनिया राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै टिभीले उनैको जालमा फसेर ओलीले भारतविरोधी कदम चालिरहेको दाबी गरेको थियो ।

आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढाइ, लेकिन वा हनि ट्र्याप मे फसगए ।’ यान्कीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दावी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दावीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्कीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ ।

भारतीय टीभीको अफवाह यतिमा मात्रै सीमित छैन । उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरेहको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही संसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दावी गरिएको छ ।

जीटीभीमा प्रशारित यो रिपोर्ट भारतीय पत्रकारिताको नांगो रुप हो । यो रिपोर्टलाई ‘पितपत्रकारिता’ वा ‘प्रपोगाण्डा’ भनेर दुत्कारेर मात्रै पुग्दैन । यो पत्रकारिताको खोल ओडेर गरिएको संगीन अपराध हो । सत्यतासँग एक प्रतिशत पनि सम्वन्ध नरहेको विषयलाई १६ मिनेटको रिपोर्ट बनाएर प्रशारण गर्ने भारतीय टिभी च्यानललाई के गर्ने ? हामी त इन्डियन च्यानलले जे पनि भन्छन् भनेर मुन्टो बटारौंला, तर यसले भारत र अन्य देशका मानिसहरुलाई पक्कै प्रभाव पार्छ ।

कुनै अमुक देशका प्रधानमन्त्री र महिला राजदूतबीच काल्पनिक कथा रचेर प्रायोजित रिपोर्ट बनाउनु जी टीभीको अक्षम्य अपराध हो । यसमाथि नेपालको सरकारले एक्सन लिनैपर्छ । केही समयअगाडि नेपालमा एक अखबारले माओत्सेतुङको तस्वीरमा मास्क लगाइदिएको सामान्य घटनामा काठमाडौंस्थिति चिनीया दूतावासले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको थियो । जीटीभीको हर्कत त्योभन्दा सयौं गुणा आपत्तिजनक छ ।

तर, दिल्लीस्थित नेपाली दूतावास भने भारतीय मिडियाले एकपछि अर्को कपोलकल्पित र भ्रामक समाचारहरु प्रकाशन/प्रशारण गरिरहँदा पनि मस्त निद्रामा छ । टाइम्स अफ इन्डियाजस्तो प्रतिष्ठित पत्रिकाले समेत नेपालका प्रधानमन्त्रीको तस्वीर दुरुपयोग गर्यो । त्यसमा आपत्ति जनाएर दूतावासले एउटा पत्रसमेत पठाउन सकेन ।

जिटीभीको रिपोर्टमा पनि उसले अहिवलेसम्म चासो दिएको छैन । विषयको संवेदनशीलताका कारण अब नेपाल सरकारले नै जीटिभीमाथि एक्सन लिनुपर्ने समय आएको छ । नेकपा भित्रको विवाद र नेपाल मामिलाबारे हालै भारतीय सञ्चार माध्यमले सम्प्रेषण गरिरहेका कपोलकल्पित र निकै आपत्तिजनक फेक समाचारप्रति नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले आपत्ति जनाएका थिए ।

विगत केही दिनदेखि भारतीय मिडियाले चिनियाँ राजदूतसँग जोडेर प्रधानमन्त्रीबारे काल्पनिक र निकै आपत्तिजनक सामग्री प्रशारण गरिरहेका छन्। यस्तो हदैसम्मको लज्जास्पद यो हर्कतमा उत्रने भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा चौतर्फी चर्को बिरोध सुरु भएको छ

भारतीय मिडियाको विरोध भइरहँदा नेकपा प्रवक्ता श्रेष्ठले एक ट्विट गर्दै अनर्गल प्रचारले सीमा नाघेको उल्लेख गरेका थिए । ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर।’ नेता श्रेष्ठले भनेका छन्, ‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्का छौं। बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।

प्रतिक्रिया