आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडाैंमा कोरोनाबाट थप १ जनाको मृत्यु, कुन अस्पतालमा उपचाररत थिए उनी ?

प्रकाशित
518
SHARES

काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्द राज जोशीले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ । ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सु, रु गरिएको थियो ।

कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ । नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको छ ।

यसैबीच शुक्रबार कतारबाट फर्किएका केही व्यक्तिलाई कोरोना संक्रमणको शंका लागेपछि एक बालिका र छ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी सीधै भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगेर राखिएको छ ।

कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशंका भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सीधै क्वारेन्टिन लगिएको हो । क्वारेन्टिनमा लगेर पीसीआर परीक्षणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् ।

उता विश्व स्वाथ्य संगठन(डब्लूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख २८ हजार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा सबैभन्दा बढी संक्रमित थपिएका छन् । यसभन्दा पहिले जुलाई ४ मा एकैदिन २ लाख १२ हजार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार अहिलेसम्म विश्वभर एक करोड २४ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणका कारण ५ लाख ५९ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ६८ लाखभन्दा बढी निको भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा पीडित अमेरिकामा अहिलेसम्म एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ३१ लाख ८२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १८ लाख नाघेको छ भने ७० हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमणका हिसाबले तेस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या करिब ८ लाख पुगेको छ । शनिबार बिहानसम्म भारतमा २१ हजार ६ सय ४ जनाको मृत्यु भएको छ भने करिब ५ लाख निको भएका छन् ।

प्रतिक्रिया