आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देशभर बाढीपहिरोको वितण्डा- अहिलेसम्म २६ जनाको मृत्यु, ४१ बेपत्ता, थप विवरणसहित

प्रकाशित
857
SHARES

काठमाडौँ । लगातार वर्षासँगै आएको बाढीपहिरोले म्याग्दी, कास्की, लमजुङ, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । गत २४ घन्टामा गण्डकी प्रदेशमा शुक्रबार मात्रै १३, कर्णालीमा १० र प्रदेश ५ मा तीन गरी २६ जनाको मृत्यु भएको छ । थुप्रै बेपत्ता र घाइते भएका छन् ।

म्याग्दीको धौलागिरि, रघुगंगा र मालिका गाउँपालिकाका विभिन्न ठाउँमा बिहीबार रातिदेखि आएको पहिरो र बाढीमा परी तीन जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । ३९ वटा घर पुरिएका छन् । धौलागिरि–६ मराङको पहिरोमा परी बेपत्ता भएका स्थानीय तुलबहादुर केसीको शुक्रबार साँझ शव फेला परेको छ । त्यही वडाको कल्लेनीमा अर्का एक जनाको शव देखिए पनि फेरि खसेको पहिरोले तलतिर हुत्याएकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ । त्यसैगरी रघुगंगा–६ ठाडाखानीका ललितमान छन्त्यालको ठाडोखोलाको बाढीमा बगेर मृत्यु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा धौलागिरि–६ मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक र कम्दीका २१ जना, धौलागिरि–७ ताकमका ३, मालिका गाउँपालिका–७ र विमका आठ जना बेपत्ता छन् । दुवै गाउँपालिकाका गरी २ सय ४० जना अलपत्र परेका छन् । धौलागिरिको कल्लनीबाट प्रहरी र स्थानीयले ७० जनालाई उद्धार गरी सुरक्षित स्थलतर्फ लगेका छन् । पहिरोमा घाइते सात जनालाई पनि उद्धार गरिएको छ ।

बाढीपहिरोबाट धौलागिरिको मराङमा २० घर, ताकममा ५ र मालिकाको विममा १० घर पहिरोमा पुरिएका छन् । धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनका अनुसार ताकम मावि, हुलाक कार्यालय, स्वास्थ्यचौकी भवनसहित सयौं रोपनी धानखेती पनि पुरिएको छ ।

कास्कीको पोखराका विभिन्न ठाउँमा खसेको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । पोखरा–१८, सराङकोट गोठादीमा बिहान साढे २ बजेतिर खसेको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुर्दा पाँच जनाको मृत्यु भएको छ । मृतकमा घरधनी ५० वर्षीय टंकबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाइका नातिनातिना ६ वर्षीय सुवान थापा र ११ वर्षीया इसिका थापा छन् ।

आठ वर्षीय शीतल श्रेष्ठको पनि मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । पहिरोमा पुरिएर २२ वर्षीया पिंकी, १८ वर्षीया आशा थापामगर र पिंकीकी ५ वर्षीया छोरी पिरिसा थापामगर घाइते छन् । घटनामा तनहुँको दमौली घर भएकी मृतक सोममायाकी बहिनी २८ वर्षीया सरस्वती श्रेष्ठ पनि घाइते भएकी छन् । मृतक शीतल उनकै छोरा हुन् । सरस्वतीका १० वर्षका अर्का छोरा पनि घाइते छन् । यसैगरी छिमेकी १९ वर्षीय अनिश तामाङ, रशी थापा, रश्मी थापामगर घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२५ हेम्जा मेलबोटमा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारी र पोखरा–२६ पैतेडाँडामा दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । पोखरा–१७ छोरेपाटन सिमलटुडाका चन्द्रबहादुर मगरको घरमाथिबाट पहिरो आई भत्किँदा तीन जना घाइते भएका छन् । पोखरा–१९ तल्लोडाँडाका गिरीधारी बास्तोलाको धन्सार पुरिएको छ ।

त्यसैगरी, लमजुङको बेंसीसहर नगरपालिका–७, सातबिसेमा घरमाथिबाट खसेको पहिरोले पुरिँदा वडा १०, खाँचेका एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ३३ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २७ वर्षीया भीममाया र छोरा १० वर्षीय छेवाङको घटनास्थलमै मृत्यु भएको हो । दीपकका बुबा हर्कबहादुर, आमा र ६ वर्षीया छोरी पनि बिहीबार गाउँबाट फर्केका थिए तर बेंसीसहरस्थित घरमा कामदार भएपछि दीपककी दिदी सावित्रीकामा गएका थिए । दीपक, भीममाया र छेवाङ पनि जाने तयारी गरे पनि मुसलधारे पानी परेकाले रोकिएका थिए ।

दीपकसँगै काम गर्ने ६ जना सातबिसेस्थित घरमा बस्ने भएपछि परिवारका अन्य सदस्य घर नबसेका हुन् । घरभित्र पुरिएका सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमन गुरुङ घाइते छन् ।

पश्चिम नवलपरासीमा खहरे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दघाट नगरपालिकाको खहरे खोलाले बगाउँदा वडा १५ का २० वर्षीय सुधीर विक र १८ वर्षका प्रवीण विकको मृत्यु भएको हो । खोलामा बाढी आएको समयमा माछा मार्न गएका बेला विकद्वयको खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख होमनाथ रेग्मीले बताए ।

यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–४, फुस्रेमा पहिरोले पुरिएर शुक्रबार ६२ वर्षीय यमबहादुर श्रीसको मृत्यु भएको छ । घरनजिकै खेतमा कुलोको भल काट्न गएका उनलाई माथिबाट खसेको पहिरोले च्यापेको प्रहरीले जनाएको छ । उनलाई पहिरोले पुर्दा श्रीमती पनि सँगै भएको र तत्काल स्थानीयलाई खबर गरे पनि बचाउन नसकिएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ ।

उता जाजरकोटको बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा बिहीबार राति आएको पहिरोमा ७ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । पहिरोले सार्कीगाउँका २ घर बगाएको छ । ती घरमा परिवारका ८ जना र पाहुना बस्न आएका ४ जना थिए । प्रहरीका अनुसार ५२ वर्षीय गोपाल सार्की, उनकी पत्नी ५० वर्षीया पुष्पा, छोरी १३ वर्षीया लक्ष्मी र छोरा ११ वर्षीय अर्जुन, अर्काे घरका ३५ वर्षीया कलु सार्की, उनकी १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला, ६ वर्षीय छोरा सुभास र पाहुना बस्न आएका कुशे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की पहिरोमा पुरिएका थिए । तीमध्ये गोपाल, अर्जुन, तिर्खा, डिल्ली र वीरेन्द्र सार्कीको शव फेला परेको छ । अन्य २ जनाको सनाखत हुन सकेको छैन ।

त्यस्तै, बारेकोट–६, धुमास्थित खहरेखोलाले बगाएर २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धुमका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने रहेका छन् । बेपत्ता ७ जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार बाढीपहिरोमा परेर ३ जना गम्भीर घाइते भएका छन् ।

गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहका अनुसार बेपत्ताको शव पहिरोले बगाएको घरदेखि करिब १० मिटर तल भेटिएको थियो । उता रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–३ स्यालाखदीमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ६ बजे स्थानीय तुलबहादुर दमाईको घर पहिरोले पुरेको थियो । घरभित्र रहेका २८ वर्षीया सीता दमाई र उनका छोरा ६ वर्षीय हाविलको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी ८ वर्षीया छोरी हीरा घाइते भएकी छन् ।

यसैबीच पहिरोमा परेर गत शुक्रबार कालीकोटको नरहरिनाथ–७, माल्कोटमा ३५ वर्षीया तुला बटालाको मृत्यु भएको छ । लेकको गोठमा भैंसी हेरालो गएकी बटालालाई राति पहिरोले पुरेको थियो । उनको शव भोलिपल्ट मात्र भेटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । पहिरोले सोही राति नरहरिनाथ–७ को वडा कार्यालय रहेको घर पनि भत्काएको छ । पहिरोमा ६ कोठे घर भत्किएपछि वडा कार्यालयका सबै कागजात नष्ट भएका वडाध्यक्ष दलबहादुर विकले बताए ।

त्यस्तै सिन्धुपाल्चोकको भोटेकोसी नदीले बगाएर थप तीन जना बेपत्ता भएका छन् । शुक्रबार बिहान ८ बजेतिर भोटेकोसी गाउँपालिका–४ लार्चाका नाम्टे मगर र पहिचान नखुलेका दुई जना बाढीमा बेपत्ता भएका हुन् । शुक्रबारै लार्चा पुलछेउमा एउटा शव भेटिए पनि पहिचान नखुलेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

बुधबार रातिको बाढीले भोटेकोसीमा बेपत्ता बाह्रबिसे नगरपालिका–५ जम्बुका १६ र भोटेकोसी–५ बुर्कटेका चार जना अझै फेला परेका छैनन् । प्रहरी, सेना र स्थानीय खोजीमा खटिएका छन् । बिहीबार दुई शवबाहेक अरू नभेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया