आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा स्थायी कमिटी बैठकबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले गरे यस्तो ट्वीट

प्रकाशित
0.9K
SHARES

काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

यसअघि २४ गते बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक आज बिहान ११ बजेसम्मका लागि सारिएको थियो । पटक पटक बैठक स्थगित हुदै गएपछि नेकपा नेता कार्यकर्ता हैरान भएका छन् ।

राजीनामा मागिएको विषयले पार्टी नै फुटको संघारमा पुगेपछि तत्कालको संकट टार्न स्थायी कमिटी बैठक रोकेर नेकपाका नेताहरूले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई गहन छलफलमा बस्न सुझाव दिएका थिए । त्यही सुझावअनुसार ओली र दाहाल गत शनिबारदेखि दुईपक्षीय छलफलमा बसे ।

तर विवाद मिलाउन दिनहुँ घण्टौं छलफलमा बसेका दुई नेताबीच बुधबारको बैठक भने हार्दिकतापूर्ण नभएपछि फेरि नेकपाभित्र एकता भत्किने संशय बढेको छ । ओली र दाहालबीच बिहीबार संवादसमेत हुन सकेन ।

बुधबारको कुराकानीमा ओली आफ्नो अडानबाट पछि हट्ने कुनै छनक नपाएपछि प्रचण्डले बिहीबार ओलीनिकट नेताहरू सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवालीलाई आफ्नै निवासमा बोलाएर कुराकानी गरेका थिए । प्रचण्डले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग पनि छुट्टाछुट्टै भेटे । तर सहमतिको बिन्दु फेला परेको छैन । ‘अध्यक्षज्यूले बोलाएर हामी गएका थियौं, पार्टीलाई एकताबद्ध बनाएर लैजान अध्यक्षद्वयको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसका लागि तपाईंहरू नै सहमतिमा पुग्नुहोस् भन्ने सुझाव दिएका छौं,’ स्थायी कमिटी सदस्य नेम्वाङले भने, ‘पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी तपाईंहरूको हो, जे सहमति गर्नुहुन्छ, हामी बोक्न तयार छौं भनेका हौं ।’

ओली र प्रचण्डसँग निरन्तर भेट गरेका नेताहरूका अनुसार शनिबारयताका छलफलमा दुवै नेताले अडान फेरेनन्, बरु झन् कसिलो बनाए । त्यसले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने/नदिने भन्ने विषयमा निकास निस्केन । अध्यक्ष दाहाललगायतका नेताहरू ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गर्नैपर्ने अडानमा छन् । ओली कुनै हालतमा राजीनामा नदिने जिकिर गरिरहेका छन् ।

प्रतिक्रिया