काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको उनले विरोध गरेकी थिइन् । उक्त विधेयकमाथि गिरीले संशोधन प्रस्तावसमेत दर्ता गराएकी थिइन् ।
पार्टी प्रमुख सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन भन्दै गिरीलाई निर्देशन दिए पनि उनले मानेकी थिइनन् । संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको ह्विपविपरीत संसद्मा उपस्थित भएर उनले संशोधन प्रस्तावको विरोध गर्दै बाहिष्कार गरेकी थिइन् ।
प्रतिक्रिया