आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय कोरोना महामारीकाबीच गयो ६.३ म्याग्नीच्यूडकाे शक्तिशाली भूकम्प, कहाँ हो केन्द्रबिन्दु

प्रकाशित
579
SHARES

एजेन्सी । सारा विश्व प्राणघातक कोरोना माहामारीविरुद्ध लडिरहेका बेला शक्तिशाली भूकम्प गएको छ । भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन् ।

सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ । साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार नै ४.७ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

यस्तै उता जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण सोमबारसम्ममा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ। त्यस्तै ५० भन्दा बढी अझै वेपत्ता भएको जापानी टाइम्सले जनाएको छ।

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौं प्रहरी, अग्निनियन्त्रक र सेना परिचालन गरिएको छ। धेरै जसोको मृत्यु पहिरोमा पुरिएर भएको बताइएको छ।

केही दिनयताको अविरल वर्षाले बाढी र पहिरो निम्त्याएपछि जोखिम स्थानबाट २० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको सरकारी अधिकारीहरूले जनाएका छन्।

जापान मौसम विभागका अधिकारीहरूले यस्तो भीषण वर्षा आजसम्म नदेखेको बताएका छन्। उनीहरूका अनुसार बिहीबारदेखि यो क्षेत्रमा साविक जुलाइ महिनामा हुने वर्षाभन्दा तीन गुणा बढी वर्षा भइसकेको छ।

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको छ। त्यसैगरी शनिबारदेखि हिरोसिमा, क्योटोलगायतका सहरमा पनि भारी वर्षा भएको छ।

पहिरोमा पुरिएकाहरूलाई निकाल्न सोमबार बिहानैदेखि उद्धार फेरि सुरु गरिएको छ। वर्षा विस्तारै कम हुँदै गएकाले यहीबेला आपतकालीन टोलि सबभन्दा बढी प्रभावित क्षेत्रमा उद्धार निम्ति जाने बताइएको छ। बाढीका कारण सबभन्दा धेरै मृत्यु हिरोसिमामा भएको छ।

त्यस्तै बन्यजन्तुको चोरी शिकार तथा दुरूपयोग हुँदै गए कोरोना भाइरसभन्दा घातक अरू धेरै खाले महामारी आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

जुनोटिक रोग अर्थात् जनावरबाट मानिसमा सर्ने रोग झन् झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै विस्तार हुने संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले चेतावनी दिएका हुन्।

कोभिड-१९ जस्तो रोगको उदय हुनुमा जनावरको मासुप्रति मानिसहरूको आशक्ति, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको विज्ञहरूको ठहर छ ।

५० वर्षयता मासु उत्पादन २६० प्रतिशतले बढेकोसमेत राष्ट्रसंघले जनाएको छ ।राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच सन्तुलन हुनुपर्ने पनि बताएको बीबीसीले जनाएको छ।

बेवास्ता गरिएका जुनोटिक भनिने जनावरबाट सर्ने रोगले हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको उसले बताएको छ। बितेको एक शताब्दीमा हामीले कम्तीमा छवटा नयाँ प्रजातिका कोरोना भाइरसजस्ता महामारी देखेका छौँ,’ राष्ट्रसङ्घकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनले भनिन्।

गएको दुई दशकमा कोभिड-उन्नाइस भन्दा अगावै यस्ता रोगले एक सय अर्ब डलर बराबरको आर्थिक नोक्सानी गराइसकेका एन्डरसनको भनाइ छ ।

यस्तै विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३ हजार ५८३ को मृत्यु भएको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ४० हजार ६१८ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड १७ लाख ३७ हजार ९५५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७१ हजार ५०८ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ६६ लाख ३७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ९८९ जनाको मृत्यु भएको छ । २४ लाख ९२ हजार ८०४ जना संक्रमित भएकोमा १४ लाख ३७ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३५ लाख ५५ हजार ६७ पुगेको छ । त्यसमध्ये १५ लाख ९३ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६३ हजार २९३ जनाको मृत्यु भएको छ । २६ लाख ३० हजार ११७ जना संक्रमित भएकोमा १७ लाख ७८ हजार ३१५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९४ हजार ९२५ जनाको मृत्यु भएको छ । २५ लाख ४९ हजार ५१७ जना संक्रमित भएकोमा १५ लाख ६६ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ११ हजार ४६९ जनाको ज्यान गएको छ भने ४ लाख ९३ हजार ७१० संक्रमित छन् । संक्रमितमध्ये २ लाख ३८ हजार ४६४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार २३३ जना संक्रमित भएकोमा ९ हजार १७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया