आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

प्रकाशित
731
SHARES

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  नेकपाभित्रको विवाद मिलाउन नेताहरु परामर्शमा व्यस्त भएका छन् । यसैक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ । विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।

हाल स्थायी कमिटीको बैठक स्थगित गरेर नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । सोमबार बस्ने भनिएको स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आन्तरिक शक्ति संघर्षले पार्टी बिभाजनको अवस्थामा पुगेको भन्दै दोस्रो तहका नेताहरुले सहमतिका लागि पहल गर्दै आएका छन् । कार्यकर्ताहरुले पनि जिल्ला जिल्लामा प्रदर्शन गर्दै पार्टी बिभाजन नगर्न र एकताबद्ध हुन दबाव दिँदै आएका छन् ।

अध्यक्षद्वयको एक्लै वार्ता अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने असन्तुष्ट  भएको छ। नेता नेपाल निकटका नेताहरूका अनुसार नेपालसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि दुई अध्यक्षको गोप्य वार्ताप्रति असन्तुष्ट छन् ।

दुई अध्यक्षले विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मासहित छलफल गर्दा आफ्नो पक्षका नेतालाई सहभागी नगराएकोमा नेपालका पक्षका नेताहरू असन्तुष्ट देखिएका छन् ।

एक नेताका अनुसार स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको राजीनामा माग्ने धेरै नेता नेपाल समूहका भए पनि त्यही विषयमा गरिएको छलफलमा एजेन्डा उठाउने समूहलाई नै राखिएको छैन ।

दुई अध्यक्षको वार्तामा भएका सबै समझदारी बैठकले अनुमोदन गर्ने भन्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै उनले जे जति निर्णय हुने हो सबै स्थायी कमिटीमै हुनुपर्ने बताए ।

अर्का एक नेताले भने, ‘अध्यक्षद्वयबीच वार्ता भइरहेको हामीले पनि सुनेका छौँ तर के कुराकानी भएको छ हामीलाई थाहा छैन । उहाँहरूको समझदारी स्थायी कमिटीमा मान्य हुनेगरी आयो भने अनुमोदन हुन सक्ला नत्र स्थायी कमिटीले मान्नै पर्छ भन्ने छैन ।’

नेकपाका दोस्रो तहका नेताहरूले पनि चाँडै सहमति गरेर अघि बढ्न नेतृत्वलाई खबरदारी गरिरहेका छन् । केन्द्रीय सदस्यहरूको एउटा समूह पार्टी कार्यालय, धुम्बाराहीमा धर्नामा बस्दै आएका छन्।

प्रतिक्रिया