आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ राजदूतले नेपालपछि किन भेटिन झलनाथ खनाल, यस्तो छ कारण

प्रकाशित
1K
SHARES

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चुलिएका बेला चिनियाँ राजदूतले नेकपा शीर्ष नेतासँगको भेटवार्तालाई तीव्रता दिएकी छन् । दुईदिन अघि बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर छलफल गरेकी राजदूत होउ यान्छीले आज अर्का बरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन् ।

नेता खनाललाई भेट्न राजदूत यान्छी खनाल निवास डल्लु पुगेकी थिइन् । बिहान ९ बजेर १० मिनेटमा खनाल निवास पुगेकी उनी झण्डै एक घण्टा बसेर फर्किएकी थिइन । नेता खनाल र राजदूत यान्छीबीच दुई देशको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि पनि राजदूत यान्छीले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेकी थिइन । सत्तारुढभित्रको विवाद चर्किँदा चिनियाँ राजदूतले बढाएको राजनीतिक भेटवार्तालाई महत्वका साथ हेरिएको छ । नेकपाभित्रको विवाद मिलाउनकै चिनियाँ राजदुतले एक एक गर्दै नेताहरुलाई भ्त्न थालेकी हुन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको आइतबार नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भएको भेटलाई भारतीय सञ्चारमाध्यमले विशेष महत्त्वका साथ चर्चामा ल्याएका छन् । भारतीय मिडियाले राजदूत होउको विगतको जिम्मेवारी, सामाजिक सञ्जालमा सक्रियतादेखि सुन्दरतासम्मको टिप्पणी गर्दै आएका छन् । उनको राजनीतिक भेटघाटलाई विशेष चासोका साथ हेर्दै ‘नेपालमा चीनको बढ्दो हस्तक्षेप र नेपालको चीनप्रतिको झुकाव’ का रूपमा व्याख्या गर्दै आएका छन् ।

नेपालले लिम्पियाधुरासम्म समेटेर नक्सा प्रकाशन गर्नुका पछाडि चीनको हात रहेको समेत केही कूटनीतिज्ञ र विश्लेषकले दाबी गर्दै आएका छन् । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले पनि नेपालले धार्चुला–लिपुलेक पास जोड्ने सडकको विरोध गरेपछि घुमाउरो पाराले नेपालले चीनको आडमा विरोध भएको दाबी गरेका थिए । नेपालका लागि भारतका एक पूर्वराजदूतले होउको सक्रियता चीनको दीर्घकालीन रणनीतिअनुसार भइरहेको दाबी गरे । ‘सधैं पञ्चशीलको वकालत गर्ने चीनले नेपालको आन्तरिक राजनीतिमा यसरी खुलेर सक्रिय बन्नु सामान्य होइन, त्यसैले दिल्ली स्वाभाविक रूपमा चनाखो हुनुपर्छ’ उनले भने ।

केही भारतीय सञ्चारमाध्यमले पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन आउनाका पछाडि राजदूत होउको सक्रियतालाई ठानेका छन् । भारतीय हिन्दी दैनिक अमर उज्यालाले भारतको छिमेकी देश नेपालसँग सम्बन्ध बिग्रनुमा राजनीतिक कारणका साथै चीनको कूटनीति पनि जिम्मेवार रहेको र त्यसका लागि राजदूत होउको भूमिका रहेको दाबी गरेको छ । पत्रिकाले राजदूत होउ फेसबुक ट्वीटर र इन्स्टाग्राममार्फत पनि नेपालहरूमाझ लोकप्रिय बनेको उल्लेख गरेको छ ।

प्रतिक्रिया