आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

के हावाबाट पनि कोरोना फैलिन्छ ? यी देशका २३९ वैज्ञानिकले यस्तो दाबी गरेपछि विश्वभर त्रास

प्रकाशित
513
SHARES

काठमाडौं । २ सयभन्दा बढी वैज्ञानिकहरूले हावाको कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिने दाबी गरेका छन् । विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनले हावाको स-साना कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दाबी गरिएको हो । आगामी सातासम्म यसको प्रमाणसहित कुनै एउटा जर्नलमा रिपोर्ट प्रकाशित गर्दै यसबारे विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को ध्यानाकर्षण गराइने उनीहरूले बताएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

डब्ल्युएचओले भने अहिलेसम्म एक संक्रमित र अर्को संक्रमितबीच २ मिटरभन्दा कमको दूरी कायम गरेर बस्दा कोरोना भाइरसको संक्रमण हुने बताउँदै आएको छ । डब्ल्युएचओले वैज्ञानिकहरूको पछिल्लो दाबीबारे कुनै प्रतिक्रिया नदिए पनि यसबारे ठोस प्रमाण नभएको र अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।

यस्तै भारतको राजधानी दिल्लीमा १० हजार शय्या रहेको कोरोनाभाइरस स्याहार गृह उद्घाटन गरिएको छ । उक्त स्याहार गृहमा सामान्य लक्षण भएका तथा कोभिड-१९ पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकाहरूको उपचार गरिने बताइएको छ । २० वटा फुटबल मैदानजत्रो आकारको उक्त स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो कोरोनाभाइरस केन्द्रका रूपमा व्याख्या गरिरहेका छन् ।

दिल्ली भारतको सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४२१ जनाको मृत्यु भएको छ २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ४ लाख २४ हजार ८९१२ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा पुगेको छ । सबैभन्दा बढी प्रभावित अमेरिका छ भने त्यसपछि ब्राजिल प्रभावित मुलुकको रुपमा रहेको छ ।

त्यस्तै स्पेनमा फेरि कोरोना भाइरसको महामारी देखिने संकेतपछि विभिन्न ठाउँमा पुनः लकडाउन सुरू गरिएको छ । कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा पुगिसकेको स्पेनमा फेरि महामारीको अर्को लहर सुरु हुने संकेत देखिएपछि उत्तर–पश्चिमी क्षेत्र गालिसियाका विभिन्न ठाउँमा पुनः लकडाउन गरिएको छ ।

७० हजार मानिसको बसोबास रहेको उक्त क्षेत्रमा आइतबार मध्य रातिदेखि शुक्रबारसम्म लागु हुने गरी गालिसियाको तटीय जिल्ला मासिनामा कामका लागि जाने वा आउनेलाई मात्रै प्रवेश र बाहिरिने अनुमति दिइएको छ । यसअघि उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएपछि लकडाउन गरिएको थियो ।

गालिसिया क्षेत्रमा फेरि २५८ जना कोरोना भाइरसका संक्रमित देखिएपछि महामारी फैलन नदिन सरकारी अधिकारी फेरि लकडाउनको निर्णयमा पुगेको बीबीसीले जनाएको छ ।

वर्ल्डोमिटर्सका अनुसार स्पेनमा सोमबारसम्म २ लाख ९७ हजार ६२५ जना संक्रमित भएकामा ६१७ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये २८ हजार ३८५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया