आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डको आँखा छलेर ओलीले देउवासँग के गरे गोप्य सम्झौता ? यसो भन्छन देउवा

प्रकाशित
1.4K
SHARES

काठमाडौँ । नेकपाभित्रको आन्तरिक शक्ति संघर्ष विभाजनउन्मुख दिशामा अघि बढिरहेका बेला नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट नेताहरूसँग कांग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेको भेटवार्तालाई रहस्यका साथ हेरिएको छ । भेटलाई लिएर भइरहेका विभिन्न आशंका र अड्कलबाजीका बीच देउवाले आइतबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री ओलीसँग कुनै किसिमको गोप्य सम्झौता नभएको प्रस्ट्याएका छन् ।

पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा बसेको बैठकको सुरुमै यही विषय प्रवेश भएको थियो । सुरुवातमै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटको प्रसंग कोट्याउँदै बैठकलाई जानकारी गराउन माग गरेका थिए । देउवाले असार १७ गते बालुवाटारमा ओलीसँग र आइतबार ओलीका विश्वासपात्र संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँग बूढानीलकण्ठमा भेटवार्ता गरेका थिए ।

नेम्वाङसँग भेटवार्तापछि देउवा कांग्रेस बैठकमा गएका थिए । प्रधानमन्त्रीसँग एक्लै र नेम्वाङसँग पार्टीकै नेता मीनेन्द्र रिजाललाई सँगै राखेर भेटवार्ता गरेका उनले बैठकमा संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति र एमसीसीका विषयमा छलफल भएको बताएका थिए । नेम्वाङको भेटबारे भने नेता रिजाललाई जानकारी गराउन लगाएका थिए ।

नेम्वाङसँगको भेट संसद् अधिवेशन बोलाउन लागेको भन्ने आशंकाबीच भएको थियो । नेम्वाङले शनिबार कांग्रेस नेता रिजाललाई टेलिफोनमार्फत कांग्रेस र जनता समाजवादी मिलेर संसद् अधिवेशन बोलाउन खोजेको सूचना आफूहरूले पाएको भन्दै प्रस्ट हुन चाहेका थिए । प्रधानमन्त्री ओलीले सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई जानकारीसम्म नदिई असार १८ गते संसद् अधिवेशन अन्त्य गराएका थिए ।

त्यसबाट असन्तुष्ट कांग्रेस र जनता समाजवादी मिलेर अधिवेशन बोलाउने तरखर गर्न लागेको सूचना कसैले सुनाइदिएपछि आफ्ना दूतका रूपमा प्रधानमन्त्री ओलीले देउवासँग भेट्न पठाएका थिए । अधिवेशन अन्त्य भए पनि संसद्का एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ ।

‘नेम्वाङले यही विषयमा प्रस्ट हुन सभापतिलाई भेट्न खोज्नुभएको रहेछ,’ रिजालले कांग्रेस बैठकमा भनेका थिए, ‘त्यसैको सिलसिलामा आज सभापतिसँग भेटको समय मिलाइएको हो ।’ नेम्वाङले भने संसद् अधिवेशन बोलाउनेबारेको प्रसंग उल्लेख गरेनन् । उनले छाया सरकार बनाएर अघि बढेको प्रतिपक्षसँग अहिलेका समसामयिक राजनीतिक विषय, संवैधानिक आयोगका बाँकी पदाधिकारी नियुक्ति, कोभिड–१९ को संक्रमणलगायतमा खुलस्त छलफल भएको बताए ।

पार्टी दुर्घटनामा पर्न लागेकै बेला सत्ता साझेदारी गर्नेसम्मको कुराकानी भएको भनेर आएको छ नि भन्ने कान्तिपुरको प्रश्नमा नेम्वाङले भने, ‘पहिलो कुरा त हाम्रो पार्टी दुर्घटनामा पर्दैन । नेताहरूले वार्ता र संवादमार्फत एकताको निष्कर्षमा पुर्‍याउनु हुन्छ । दुवै अध्यक्षहरू यसमा प्रस्ट हुनुहुन्छ । अर्को, प्रमुख प्रतिपक्षसँग सरकार बनाएर जाने कुरा भनेका छैनौं । निर्वाचन सकिएपछि सुरुमा भनेका थियौं, अहिले भनेका छैनौं तर सञ्चारकर्मीले माया गरेर लेखिदिएका छन् ।’

देउवाले ओलीसँग मिलेको र गोप्य सम्झौता गरेको भनेर बाहिरका चर्चा सत्य नभएको बताएका थिए । पार्टीको आसन्न महाधिवेशनलाई लिएर आन्तरिक प्रतिस्पर्धा सुरु भइसकेका बेला देउवाका लागि सत्ता राजनीतिको विषय बढ्दा रुचिकर बने पनि इतर खेमालाई भने यो विषयले सशंकित तुल्याएको छ ।

प्रधानमन्त्री ओलीलाई भेटेको जानकारी पाएदेखि नै वरिष्ठ नेता पौडेलले अंकगणितको जोड–घटाउमा लाग्न नहुने भन्दै नेतृत्वलाई मनोवैज्ञानिक दबाब दिन थालेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा पनि उनैले यस विषयलाई प्रवेश गराएका थिए । सत्तारूढ नेकपाभित्र पनि ओली इतर खेमाका लागि कांग्रेस सभापतिसँगको भेटले चस्का दिएको छ । कांग्रेस केन्द्रीय सदस्य रिजालले प्रधानमन्त्री ओलीले कांग्रेसलाई देखाएर आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल खेमालाई दबाबमा पार्ने रणनीतिबमोजिम पनि यस्तो भेटवार्ता भएको हुन सक्ने अनुमान लगाए ।

नेकपा नेता नेम्वाङले भने त्यस्तो योजनाअन्तर्गत भेटवार्ता नभएको दाबी गरे । ‘यस्तो प्रश्न गर्ने, टिप्पणी गर्ने विषय स्वाभाविक हो । तर, व्यावहारिक र यथार्थ होइन,’ नेम्वाङले थपे, ‘सम्बन्ध नराखौं निरंकुश भयो भन्ने, सम्बन्ध राखौं अर्को पक्षलाई दबाब दिन भन्ने ?’ नेम्वाङले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिहरूका विषयमा भने छलफल गरेर अघि बढ्नेबारे कुराकानी भएको बताए । कांग्रेसकै कतिपय केन्द्रीय सदस्यहरूले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडानमा रहेका र त्यसैका कारण पार्टी विभाजित हुने अवस्था बनेमा कांग्रेससँगको सहकार्य आवश्यक हुने ठानेर अहिल्यैदेखि सम्बन्ध बढाएको दाबी गरेका छन् ।

रिजाल भने त्यसलाई अहिल्यै पत्याइहाल्दैनन् । स्वयं सभापति देउवाले समेत पार्टी विभाजन हुनेमा पत्याएका छैनन् । ‘जुन दिन सभापति देउवालाई नेकपा फुट्ने भयो भन्ने विश्वास जाग्छ, त्यसबेला ओलीले खोज्नै पर्दैन, आफैं लाग्नुहुन्छ,’ देउवानिकट अर्का एक केन्द्रीय सदस्यले भने, ‘अहिले के हुन्छ भनेर चाखपूर्वक हेर्नु मात्रै भएको छ ।’ उनका अनुसार देउवा यतिबेला ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवैसँग सम्पर्कमा छन् ।

देउवासँग सम्बन्ध बढाउन ओली लागेपछि दाहाल र नेपाललाई सशंकित बनाएको छ । सशंकित नहुन आश्वस्त पार्दै देउवा आफैंले दाहालसँग सम्पर्क कायम राख्दै आएको स्रोतको दाबी छ । दाहालसँग उनी आफैं नभई विश्वासपात्रहरूलाई संवादको जिम्मा लगाएका छन् । ओलीसँग असार १७ भेटेलगत्तै विश्वासपात्रमार्फत दाहालसँग शुक्रबार भेट भएको थियो ।

नेम्वाङसँगको भेटमा भने देउवाले आफू ओली र दाहाल कतैतिर पनि नरहेको बताएका थिए । ‘नेकपाभित्रको विवाद आन्तरिक हो, यसमा म ओली र दाहाल कतैतिर पनि छैन,’ देउवाको भनाइ उद्धृत गर्दै रिजालले भने, ‘पार्टी मिलाउनुहोस्, शुभकामना छ ।’ पार्टी सभापतिसँग भएको छलफलमा सरकार निर्माण, सरकारको साझेदारी, ओलीलाई समर्थनजस्ता कुनै पनि विषयमा छलफल नभएको दाबी पनि रिजालले गरे ।

‘न अहिले नेकपा विभाजन भएको सूचना निर्वाचन आयोगमा पुगेको छ न त संसद्मा अविश्वास प्रस्ताव आएको छ, विकल्प दिने संख्या नेकपाभित्रै छ, हामीसँग छैन,’ रिजालले भने, ‘संवैधानिक आयोगमा विगतमा प्रमुख प्रतिपक्ष दलको नेतालाई बाइपास गरेर भएका नियुक्ति, आगामी दिनमा गरिने निर्णय र सत्तारूढ दलभित्रको संकटका विषयमा छलफल भएका हुन्, त्यसभन्दा बाहेक अरू छलफल भएको छैन ।’ बोल्ने क्रम नसकिएकाले बैठक सोमबार पनि बोलाइएको छ ।

प्रतिक्रिया