आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुई वर्षको पर्खाइपछि रोनाल्डोले बनाए नयाँ रेकर्ड

प्रकाशित
1K
SHARES

काठमाडाैं । क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्समा आबद्ध भएको दुई वर्ष बित्न लागिसकेको छ। दुई वर्षको बीचमा रोनाल्डोले क्लबका लागि फ्रिकिकबाट गोल गर्न सकेका थिएनन्।

स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्दा रोनाल्डो फ्रिकिङ गोल गर्न माहिर थिए। फ्रिकिक हान्नुअघि उनको शैली र हानेपछिको सेलिब्रेनस हेर्न लायकको हुन्थ्यो। तर पछिल्ला दुई वर्षमा उनले फ्रिकिकबाट गोल नगर्दा त्यो सेलिब्रेसन फुटबलप्रेमीले मिस गरेका थिए।

दुई वर्षको पर्खाइपछि रोनाल्डोले शनिबार इटालियन सिरी ‘ए’ फुटबलमा फ्रिकिक गोल गरेका छन्। इटालियन सिरि ए अन्तर्गत टोरिनोविरुद्धको खेलमा युभेन्ट्सले ४-१ ले जित हात पारेको खेलमा रोनाल्डोले ६१ मिनेटमा फ्रिकिकबाट गोल गरेका थिए।

उनले सो फ्रिकिक गोल ४३औं प्रयासमा गर्न सफल भए। यसअघि उनले ४२ पटक हानेका फ्रिकिक सफल भएका थिएनन्। योसँगै रोनाल्डोले सिजनमा २५ गोल गर्न सफल भए। युभेन्ट्सका लागि एकै सिजनमा २५ गोल गर्ने रोनाल्डो ६० वर्षपछि पहिलो खेलाडी बने। यसअघि सन् १९६०-६१ को सिजनमा युभेन्ट्सका लागि ओमार सिभोरले २५ गोल पूरा गरेका थिए। फ्रिकिकमार्फत गोल गरेसँगै रोनाल्डोले आत्मविश्वास फर्किएको प्रतिक्रिया दिएका छन्।

‘मलाई साँच्चै फ्रिकिक गोल चाहिएको थियो। किनभने मैले फ्रिकिकमार्फत गोल गरेपछि आत्मविश्वास फर्काउन सक्छु,’ उनले स्काई स्पोर्ट्स इटालियालाई भनेका छन्,’यो कठिन खेल हुनेछ भन्ने हामीलाई थाहा थियो। हामीले कडा मिहिनेत गर्‍यौ र जित्यौ। अहिले हामीले लाजियोलाई दबाब दिएका छौं।’

रोनाल्डोले कसले गोल गर्‍यो भन्दा पनि टिमको जित महत्वपूर्ण भएको प्रतिक्रिया दिए। उनले टिम राम्रो संरचनामा रहेको भन्दै बाँकी रहेका कठिन खेल जित्न प्रयास गर्न बताए। खेलको तेस्रो मिनेटमा नै अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२९ औं मिनेटमा क्वाडराडोले युभेन्टसको अग्रता दोब्बर पारे । रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई क्वाडराडोले अगाडी बढाउँदै गोल गरे । इन्ज्युरी समयमा म्याथिस डी लिग्टले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि टोरिनोले खेलमा फर्कने अवसर पायो । टोरिनोका कप्तान आन्द्रीए बेलोट्टीले पेनाल्टीमा गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए ।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै युभेन्टसलाई पुन: २ गोलको अग्रता दिलाए । ८७ औं मिनेटमा डग्लस कोस्टाको क्रसमा कोफी जिजीले आत्मघाती गोल गरे । जीतसँगै युभेन्टसले अंक तालिकाको शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । युभेन्टसको ३० खेलमा ७५ अंक भएको छ । दोस्रो स्थानको लाजियोले २९ खेलमा ६८ अंक बनाएको छ ।

प्रतिक्रिया