आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा स्थायी बैठक फेरी स्थगित

प्रकाशित
812
SHARES

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजलाई बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न अध्यक्षद्वय जुटेको र विवाद समाधानका लागि केहि समय लाग्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् ।  स्रोतकाअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको हो। स्थायी समितिको अर्को बैठक असार २२ गतेका लागि बोलाइएको नेकपाले जनाएको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताएका छन् । आज बिहान ९ बजे दुई अध्यक्षबीच छलफल तय भएको थियो। शुक्रबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भए पनि ठोस सहमति भएको थिएन।

दुई दिनअघि पार्टीभित्र देखिएका समस्या समाधानका लागि अध्यक्षद्वय तथा अन्य नेताहरूबीच छलफल गरी समस्या समाधान गर्न भन्दै बैठक स्थगित गरिएको थियो।

नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई राजीनामा दिन आग्रह गरेपछि विवाद हुँदै आएको छ।

ओली किन छाड्न चाहँदैनन् ?

प्रधानमन्त्री ओली अहिले दुईमध्ये एउटा पद छोड्दा आफू कमजोर भएको र गलहत्याइएको सन्देश जाने ठान्छन् । त्यसैले उनी आफ्नो अडानबाट हल्लिएका छैनन् । ‘दुई अध्यक्षबीच मात्रै या कमिटीमा सल्लाह भएको भए प्रधानमन्त्रीले सरकार छाड्न पनि सक्नुहुन्थ्यो तर अब छाड्नुुहुन्न,’ ओली निकट स्रोतले भन्यो, ‘अब छाड्दा त जिम्मेवारी हस्तान्तरण गरेको भन्दा पनि गलहत्याइएको भन्ने सन्देश जान्छ । अलिअलि त इगोले पनि काम गर्छ नि ।’

ओलीले निकटस्थ नेताहरुसँग पनि अहिले सरकार छाड्दा त्यसको अर्थ छाडेको भन्दा पनि निकालिएको रुपमा बुझिने र आफ्नो मानसम्मान गुम्ने भएकाले त्यस्तो खालको कुरै नगर्न भनेका छन् । शुक्रबारको बैठकमा ओली कड्किएपछि बैठकमा सहभागी महासचिव विष्णु पौडेलले सहजीकरण गर्न खोजेका थिए । उनले मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गरेर अघि बढ्नुपर्ने बताएका थिए ।

‘अरु कता कता के के गर्न सकिन्छ सोचौं, कार्यकारी अध्यक्षको भूमिकालाई व्याख्या गरौं, मंसिर ४ को सहमतिअनुसार अघि बढौं,’ बैठकमा महासचिव पौडेलको प्रस्ताव थियो, ‘दुई अध्यक्षकै बीचमा सहमति हुनुपर्‍यो ।’ तर यो प्रस्तावमा अध्यक्ष प्रचण्ड र नेता शर्मा सहमत हुन सकेनन् । पौडेलले भने अध्यक्षद्वयबीचको संवाद सकारात्मक रुपमा अघि बढेको दाबी गरे । ‘दुई अध्यक्षबीच मन माझामाझ भयो, बैठक सकरात्मक रुपमा अघि बढेको छ, छिट्टै निकास निस्किन्छ,’ उनले भने ।

प्रचण्डले पार्टी कमिटीमा व्यापक कुरा उठिसकेकाले अब प्रधानमन्त्रीले निकास दिनुपर्ने बताए । वरिष्ठ नेता झलनाथ खनालले दिनभरिमा सहमति जुटाउने भनिए पनि अध्यक्षद्वयबीच कुरा मिलि नसकेको खबर पाएको बताए । शुक्रबार साँझको खुमलटार बैठकपछि खनालले भने, ‘उहाँहरुबीच करिब ४ घण्टा कुरा भएछ तर केही पनि मिलेनछ, केपीजीले राजीनामा दिन्न भन्नुभयो, दाहालले निकास दिनुस् भन्नुभयो, सारमा कुरा यत्ति हो ।’

उनले आफूले अब स्थायी कमिटी बैठकलाई दृढतापूर्वक अघि बढाउन र बैठकबाटै निकास खोज्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेको बताए । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबार बिहान अध्यक्षद्वयबीच फेरि एकपटक छलफल हुने कुरा थियो। तर हुन सकेन

दुई पक्षलाइ मिलाउने समूहहरु पनि सक्रिय रहेकाले ओली र प्रचण्डबीचको विवाद चर्किइरहँदा पनि केही अन्य विकल्पको चर्चा चाही भइरहेको छ । दुईमध्ये एक–एक पद बाँडफाँड गर्ने, सरकार सञ्चालनका लागि पाँच जना नेता ओली, प्रचण्ड, खनाल, माधव नेपाल र वामदेव गौतम रहेको एउटा संयन्त्र निर्माण गर्नेलगायत कुरा आएका छन् । तर मुख्य रुपमा एकता गरेर जाने विषयमै नेताहरुको एकै खालको मनस्थिति बनिसकेको छैन । शुक्रबारको बैठक केही बढ्ता उपयोगी हुने ठानिए पनि ओली र प्रचण्डबीच हार्दिकतापूर्ण संवाद नै हुन सकेन ।

प्रतिक्रिया