आज : गते

ताजा शिर्षकहरु

गोप्य वार्तामा ओली-प्रचण्डबीच के भयो कुराकानी, बैठकमा संगै रहेका बिष्णु पौडेलले गरे यस्तो खुलासा

प्रकाशित
568
SHARES

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार झन्डै तीन घन्टा वार्ता भएको छ। उक्त वार्तामा निकै खुलस्त कुराकानी भएको नेकपा महासचिव बिष्णु पौडेलले खुलासा गरेका छन् ।

‘उहाँहरूबीच आज निकै खुलस्त कुराकानी गर्नुभयो। दुबै अध्यक्षले आफूलाई लागेका कुराहरू राख्नुभयो,’ पौडेलले भने। बालुवाटार वार्तामा ओली-प्रचण्डसँगै महासचिव पौडेल स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि उपस्थित थिए।

बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षले भोलि बिहान स्थायी समिति बैठक बस्नुअघि फेरि वार्ता गर्ने गरी आजको छलफल सकेका छन्। पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए।

जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए। जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ। अहिलेसम्म बोलेका अधिकाशं सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।

शुक्रबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरूसँगै बसेर पार्टी एकतालाई जोगाउनु पर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नु पर्नेमा छलफल गरेका थिए। कृषि मन्त्री घनश्याम भुसालको निवासमा भएको छलफलमा प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल पक्षमा नेताहरू सहभागी थिए।

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो। उक्त सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र प्रचण्डका तर्फबाट शर्माले हस्ताक्षर गरेका थिए।

यसअघि ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरुले शुक्रबार बिहान एकै ठाउँमा भेला भएर शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेका छन् ।

शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीसमेतको सहभागिता थियो । भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।

दोस्रो पुस्ताका नेताहरुको भेलाले एकताको आधार खोज्ने सहमति गरेका छन् । यसका लागि थप छलफल गर्दै जाने नेताहरुवीच सहमति भएको छ । दोस्रो पुस्ताका नेताहरुको भेलाले पार्टीभित्रको अन्तरविरोध मथ्थर पार्न सबैले शीर्षनेताहरुलाई संयमित रहन आग्रह गर्ने निर्णय गरेको भेलामा सहभागी टोपबहादुर रायमाझीले बताए ।

पूर्वमाओवादी खेमाका नेता रायमाझीले भने, ‘हामी ११ जना बस्यौं । पार्टीभित्र जुन स्तरको विवाद भइराखेको छ, यसलाई नियन्त्रणमा लिने, साम्य पार्ने र त्यसपछि असहमतिहरुलाई सहमतिमा बदल्दै एकतालाई सुदृढ पार्ने निर्णय भएको छ ।’

युद्धविराम’ को प्रयास

नेकपाभित्र पछिल्लो विवादले पार्टी विभाजनको संघारमा पुग्न लागेको संकेत मिलेको शीर्ष नेताहरुले नै बताएपछि दोस्रो पुस्ताका नेताहरू एकता बचाउन संगठित भएका हुन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली एकातिर छन् भने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अर्कोतिर छन् । यद्यपि सहमतिको प्रयास जारी राख्न शुक्रबार दुवैतिर रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठक बसेको हो ।

११ नेताकाे बैठकले पार्टी एकतालाई हरहालतमा जोगाउन पर्नेमा जोड दिएको छ । ‘यसका लागि युद्धविराम गरौं भनेका छौं’, एक नेताले भने, ‘अहिले जुनखालको आरोप प्रत्यारोप, ब्लेम गेम भइरहेको छ, त्यसलाई रोकौं ।’

पार्टीलाई एकतावद्ध बनाउँदै महाधिवेशनतिर लैजाने मोडलको खोजी गर्ने नेताहरुले बताएका छन् । यसका लागि अध्यक्षद्धय र अरु नेताहरुको बीचमा पनि सम्वाद गर्नुपर्नेमा दोस्रो पुस्ताका नेताहरुले जाोड दिएका छन् ।

प्रतिक्रिया