आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीपछि राष्ट्रपति भेट्न एकाएक शीतल निवास किन पुगे फेरी प्रचण्ड ?

प्रकाशित
1.3K
SHARES

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भए लगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि  राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भए लगत्तै उनी शीतल निवास पुगेका हुन् । स्रोतका अनुसार ओलीसँग भएको भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने तर संसद अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भनेर प्रश्न गरेका थिए । ओलीले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश फेरि ल्याउन खोजेको नेताहरुको आशंका छ ।

जवाफमा ओलीले ‘दुई तीन दिन त केही हुन्न’ भनेको बालुवाटार स्रोतले जनाएको छ । यसले अध्यादेश ल्याउने तयारीको आशंकालाई बल पुर्‍याएपछि प्रचण्ड शीतल निवास गएका हुन् । ‘तपाई पार्टीको एउटा पक्षमा लाग्नु हुँदैन है’ भन्ने आग्रह गर्न प्रचण्ड शीतल निवास गएको स्रोतले बताएको छ ।

यस्तै राजीनामाको दवाव बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक छल्न थालेको भन्दै नेताहरुले आक्रोश पोखेका छन् । बिहीबार बिहान प्रचण्ड निवास खुमालटारमा बसेको बैठकले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने निष्कर्ष निकालेपछि आफ्नो राजीनामा टार्ने प्रयासस्वरुप पार्टी बैठक छाडेको नेताहरुको आक्रोश छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमै बसेको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । त्यस्तै सचिवालय बैठक समेत सोही बीचमा बसेपनि ओलीले बस्ने अनिच्छा नजाएको स्थायी समिति सदस्य एनके प्रयाईँले जानकारी दिए । आजको बैठकमा ओलीलाई राखेर गम्भीर सवाल जवाफको प्रयास भएपनि ओलीले एकपछि अर्को बैठक छल्ने प्रयास गरेको नेताहरुको भनाइ छ ।

बरु ओलीले पार्टी बैठक छल्दै संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । ओलीले स्थायी समिति बैठककै बीचमा एकाएक मन्त्रिपरिषद् बैठक बोलाउँदा आधा मन्त्री स्थायी समिति र अधाजसो मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए ।

संसदको बिजनेस रहेकै अवस्थामा ओलीले एकाएक अधिवेशन अन्त्यको निर्णय गरेका हुन् । जुन निर्णय अनुमोदनका लागि राष्ट्रपतिकहाँ सिफारिस भएकोमा स्वीकृत भइसकेको छ ।

सरकारले अधिवेशन अन्त्यका लागि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग समेत कुनै छलफल नगरेको बताइएको छ । यस्तै प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसले पनि आफूहरुसँग परामर्श नभएको जनाएको छ ।

संसद सचिवालयले पनि चालु अधिवेशन कम्तीमा असार महिनासम्म लम्बिने बताउँदै आएको थियो । नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्त सम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी रहेको सन्दर्भमा ओलीले हतारमा निर्णय लिएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ ।

मंगलबारको स्थायी कमिटि बैठकमा के भयो ?

बैठक सुरु हुनअघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका थिए । ओली आउन ढिलाइ भएपछि अध्यक्ष प्रचण्डले बैठक सुरु गरेका थिए । प्रचण्डले बोल्दाबोल्दै ओली बैठकमा प्रवेश गरेका थिए । ओलीतर्फ लक्षित गर्दै प्रचण्डको भनाइ थियो, ‘मैले वैशाखमा बसेको सचिवालयको बैठकमा पनि तपाईंको राजीनामा मागेको हुँ, अहिले पनि माग्छु । सरकारले डेलिभरी दिन सकेन, कम्युनिस्ट आन्दोलन नै बदनाम भयो, देशभित्रका जनताले र पार्टीका नेताले राजीनामा मागेका छन् । तर, तपाईं भारतले हटाउन खोज्यो भनेर देश र जनताको अवहेलना गर्दै हुनुहुन्छ, सबै स्थिति हेर्दा तपाईं हट्दा राम्रो हुन्छ, हट्नुस् ।’

ओलीको जवाफ थियो, ‘तपाईहरूले मेराविरुद्ध मोर्चाबन्दी गर्नुभएको छ, खुमलटारमा बसेर रणनीति बनाएर यहाँ आउनुहुन्छ । भारतीय मिडियामा त्यही भाषामा समाचार आइरहेका छन् । दुवैतर्फको भाषा कसरी हुबहु मिल्छ ? प्रचण्डले ओलीको राजीनामा मागे भनेर त दिल्लीकै मिडियाले भनिरहेका छन् नि । मैले भारतको विषयमा बोल्दा तपाईंहरूलाई दुख्नपर्ने कारण के छ ?

तर, वरिष्ठ नेता माधव नेपालले पहिलो पुस्ताको त्याग र दोस्रो पुस्ताको योगदानले बनाएको पार्टी अहिले भद्रगोल भएको भन्दै त्यसका लागि जिम्मेवार ओलीले राजीनामा दिनुपर्ने बताए । नेपालको भनाइ थियो, ‘पहिलो पुस्ताको त्याग र बलिदानबाट बनेको सुन्दर पार्टीलाई दोस्रो पुस्ताले पनि त्यत्तिकै ठूलो योगदान ग¥यो, तर आज पार्टी दुरावस्थामा पुगेको छ । कहीँ पार्टी छ भन्ने स्थिति छैन, कमिटी संगठित छैन, परिचालित छैन, कमिटी भए पनि बैठक बस्दैन । सरकार झन्झन् अलोकप्रिय बन्दै गएको छ । नियुक्तिहरूमा कुनै मापदण्ड छैन, मनपरी छ । पार्टी नामको संस्था छैन, अस्तव्यस्त छ । यहाँ केही भन्यो भने गीत गायो भनिन्छ, तर गीत गाएको होइन, यो अहिलेको वास्तविक तस्बिर हो । त्यसकारण अब तपाईंबाट चल्न सक्दैन, दुवै पदबाट राजीनामा दिनुस् ।’

नेपालको प्रश्नमा पनि ओलीले जवाफ दिए- ‘तपाईहरूले त्यागको कुरा कसरी गर्नुहुन्छ ? प्रचण्डले ३४ वर्षदेखि एकछत्र पार्टीमा शासन गर्ने, माधव नेपालले १६ वर्ष पार्टी महासचिव हुने, झलनाथले पनि दुईपटक गरेर १३ वर्ष पार्टी चलाएको हामीले हेरेकै हो । तपाईंहरूले त्याग भनेर अरूलाई नैतिकता सिकाउन मिल्दैन होला । बरु अब म प्रधानमन्त्री पनि हुन्नँ, पार्टी अध्यक्ष पनि चाहिँदैन, चुनाव नै लड्दिनँ ।’

साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका छन् । ओलीको दोस्रो पटकको सत्तारोहणपछि पार्टीभित्रबाट सबै मुख्य नेताहरूले संगठित रूपमै उनलाई एकैस्वरमा पदबाट हट्न भनेको यो पहिलो पटक हो ।

यसअघिसमेत उनीहरूले राजीनामा मागेका भए पनि यो स्तरको संगठित शैलीमा ओलीविरुद्ध प्रस्तुत भएका थिएनन् । भारतको योजनामा सत्ताच्युत गर्न खोजिएको र त्यसमा पार्टी नेताहरूको समेत संलग्नता रहेको भन्ने केही दिनअघिको ओलीको अभिव्यक्तिबाट झनै चिढिएका नेताहरूले ओली अब प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा बस्न अयोग्य रहेको बताएका छन् । मंगलबारको स्थायी कमिटी बैठकबाट पनि ओली सत्तामाथि आफ्नै पार्टीभित्रबाट संकटको बादल मडारिएको देखिएको छ ।

गत १० गतेदेखि जारी बैठकमा सरकारको कामको समीक्षा गर्ने एजेन्डा राखिएको भए पनि गत आइतबार ओलीले आफ्नो पदीय मर्यादा प्रतिकूल हुने गरी सरकार ढाल्न भारतीय चलखेल भएको र त्यसमा आफ्नै पार्टीका नेताहरूको संलग्नता रहेको भन्ने खालका अभिव्यक्ति दिए । त्यही अभिव्यक्तिपछि उनको राजीनामाको विषय संगठित रूपमा उठेको हो ।

यसअघि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै गत वैशाख १७ गतेको पार्टी सचिवालय बैठकमा अध्यक्ष दाहालसहित केही नेताहरूले उनको राजीनामा मागेको भए पनि यसरी कमिटीमा ओलीले सरकार र पार्टी दुवै छोड्नुपर्ने विषय सामूहिक रूपमा आउन सकेको थिएन । त्यसबेला पार्टीलाई मिलाएर लैजाने प्रतिबद्धतापछि ओली सच्चिने आशा नेताहरूले गरेका थिए । तर ओलीले योबीचमा आफूलाई सुधारेनन् ।

आफ्नै पार्टीको बलमा प्रधानमन्त्री बनेका ओलीले उनका कार्यशैलीमाथि प्रश्न उठ्नेबित्तिकै दलका नेतालाई समेत भारतीय चलखेलमा जोडिने पात्रका रूपमा चित्रण गर्न थालेपछि शीर्षनेताहरू उनको अहंकारले सीमा नाघेको निष्कर्षमा पुगेका थिए । त्यही आक्रोशको प्रतिबिम्ब मंगलबारको बैठकमा देखा परेको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली नै पार्टीलाई सिध्याउने अभियानमा लागेको बताए । ‘ओलीजीको दम्भ, आडम्बर, अहंकार र व्यक्तिवादी चिन्तनले सीमा नाघ्यो,’ नेपालले भने, ‘७० वर्षको इतिहास बोकेको कम्युनिस्ट आन्दोलन तपाईंको चाहनामा ढल्दैन चेतना भया ।’ उनले आफू मालिक बनेर अरूलाई दास ठान्ने प्रवृत्ति ओलीमा रहेको भन्दै उनी जहिले पनि गुटको नेतामात्रै बन्न सक्ने र कहिल्यै पार्टीको नेता बन्न नसक्ने टिप्पणी गरे । नेपालले पनि सरकार र पार्टी नेतृत्वबाट राजीनामा दिन ओलीलाई सुझाए ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले ओलीमा गम्भीर कूटनीतिक विचलन आएको टिप्पणी गरे । उनले मदन भण्डारी स्मृति दिवसका दिन दिएको अभिव्यक्तिका कारण ओलीलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिक अधिकार नभएको बताए । ‘सरकार ढाल्न भारतले खोजेको र पार्टीभित्रैका नेताको साथ रहेको भनेर के प्रमाणित गर्न खोज्नुभएको हो ?,’ खनालले सोधे, ‘के हामी भारतका एजेन्ट हौं ?’ उनले ओलीबाट अब सरकार र पार्टी दुवै चल्न नसक्ने बताउँदै लिखित प्रस्ताव ल्याएरै दुवै जिम्मेवारीबाट मुक्त गर्नुपर्ने धारणा राखे ।

उपाध्यक्ष वामदेव गौतमले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्रीले बोलेको कुरा गम्भीर र मर्यादाविपरीत भएकाले अब जिम्मेवारी त्याग्नुपर्ने बताए । ‘पहिलो कुरा त ओलीजीको त्यो अभिव्यक्तिकै कारण उहाँ नेतृत्वमा बस्नै मिलेन,’ गौतमले भने, ‘दोस्रो तपाईंबाट पार्टी पनि चलेन, सरकार पनि चलेन भन्ने थाहा भइसक्यो । चलेन भन्ने थाहा पाउँदापाउँदै किन बस्नु, राजीनामा दिनुस् ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो राजनीतिक स्वार्थलाई केन्द्रमा राखेर मुलुकको कूटनीति र परराष्ट्र नीतिमाथि खेलबाड गर्ने काम भएको भन्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको बताए ।

‘यदि भारतीय दूतावास सरकार ढाल्ने खेलमा लागेको तथ्य छ भने भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिन र निष्कासन गर्न सक्नुहुन्थ्यो, किन सक्नुभएन ?’ श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘भारतीय पक्षले आफ्ना नेतालाई चलाउँछन् भनेर अपमान गर्ने ?’ प्रवक्ता श्रेष्ठले ओलीको व्यक्तिवादी सर्वसत्तावादका कारण पार्टीको विचार पद्धति, दस्तावेज र निर्णयको अपमान भएको बताए ।

‘म ब्रह्मज्ञानी हुँ, संसार सबै मलाई थाहा छ, अरूलाई थाहा छैन भन्ने सोच प्रधानमन्त्रीजीमा छ, उहाँले मतभेद राख्ने सबैलाई बैरी कित्तामा पार्नुहुन्छ,’ श्रेष्ठले भने, ‘कहिले माधव नेपाललाई भेटेर यी माओवादी जंगलीहरूसँग नमिलौं भन्नुहुन्छ, कहिले प्रचण्डलाई भेटेर नेपालमा समस्या छ, छोडिदिउँ भन्नुहुन्छ । तपाईंको यो समस्याले पार्टी र सरकार चल्न कठिन भयो, निकास दिनुस् ।’

सचिवालयका यी सदस्यहरूसहित आफ्ना धारणा राख्ने बाँकी स्थायी कमिटी सदस्यहरूले पनि ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने मत व्यक्त गरेका छन् । मंगलबार सचिवालयका पाँच सदस्यसहित स्थायी कमिटी सदस्यहरू बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्त, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली, भीम आचार्यले धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ओली पक्षीय नेताहरूले बुधबार आफ्ना भनाइ राख्ने बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिबारे बुधबार पनि छलफल हुने र अध्यक्षहरूबीच कुराकानी भएपछि सचिवालय बैठक बसेर पार्टीले त्यसबारे थप निर्णय गर्ने श्रेष्ठले जनाए ।

एमाले दर्ताको निवेदनबारे जानकारी माग

नेकपा एमाले नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको भन्दै अध्यक्ष दाहालले त्यसको जानकारी दिन अर्का अध्यक्ष ओलीसँग माग गरेका छन् । ‘निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको र त्यसमा प्रधानमन्त्री कार्यालयका साथीहरूको पनि संलग्नता छ भन्ने खबर आएको छ,’ दाहालले भने, ‘कसले के स्वार्थमा दल दर्ताको निवेदन गराएको हो, जानकारी चाहियो ।’ जवाफमा प्रधानमन्त्री ओलीले नागरिकले कता–कता के–के गर्छन् आफूलाई थाहा नहुने बताए । ‘होलान् कोही नागरिक, सबै कुरा त मलाई कहाँ थाहा हुन्छ र ?,’ ओलीले भने, ‘गोपाल किराँतीले पनि नेकपा माओवादी केन्द्र दर्ता गराएका छन्, मैले त केही भनेको छैन त ।’

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको भन्ने सूचनापछि बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । ‘नयाँ दल नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको भन्ने सुन्नमा आयो । यसमा हाम्रो पार्टीका नेता–कार्यकर्ता कसैको संलग्नता छ कि छैन भन्ने प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले बैठकमा विषयवस्तु प्रवेश गराउनुभयो र त्यसबारे छलफल भयो,’ बैठकपछि श्रेष्ठले भने । बैठकमा उपाध्यक्ष गौतमले आयोगमा एमाले नामको दल दर्ता गराउन निवेदन दिने काम प्रधानमन्त्रीकै निर्देशनमा भएको हो भन्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

प्रतिक्रिया