आज : गते

ताजा शिर्षकहरु

कोरोना संक्रमणबाट नेपालमा डेढ महिने शिशुको मृत्यु

प्रकाशित
819
SHARES

काठमाडौँ । कोरोना संक्रमणबाट ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ । टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डाक्टर सन्तकुमार दासले अस्पतालमा उपचारत ४६ दिनका शिशुको मृत्यु भएको जानकारी दिए ।

डा दासका अनुसार उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको हिजो (बुधबार) साँझ मृत्यु भएको डा दासले जानकारी दिए । त्रिवि शिक्षण अस्पतालमा घाँटीको समस्या लिएर उपचारका लागि ३ साता अघि भर्ना भएका थिए । म्याग्दी घर भएका ती शिशुको घाँटीमा समस्या देखिएपछि शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।

शिशुको अवस्था जटिल भएपछि चिकित्सकहरुले कोरोनाको रिपोर्ट नआउँदै सोमबार आइसोलेसन विभागमा नै शिशुको घाँटीको शल्यक्रिया गरेका थिए । मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा नै राखिएको थियो । शिशुको हिजो बेलुका मृत्यु भएपछि शव व्यवस्थापन समेत गरिसकेको डा दासले जानकारी दिए ।

रोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बिहीबारसम्म विश्वभरमा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार संसारभरि मृत्यु भएकाहरुको संख्या पाँच लाख १८ हजार ४४ पुगेको छ ।

विश्वभरमा हालसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५९ लाख ३० हजार २२ पुगेको छ भने कुल सङ्क्रमितको संख्या १ करोड ७ लाख ९२ हजार पुगेको छ । संसारभरका २ सय १५ मुलुकमा कोरोना भाइरस देखिएको छ ।

पछिल्लो २४ घण्टामा संसारभर १ लाख ९५ हजार ७ सय ८९ जना संक्रमित थपिएका छन् । कुल सङ्क्रमितहरूमध्ये सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकामा २७ लाख ७८ हजार १ सय ४३ जना सङ्क्रमित पुगेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ५० हजार २ सय ९० जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणपछि अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३० हजार ७ सय ८८ पुगेको छ । कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल छ । केही समयअघिसम्म प्रभावितको सूचीमा पछाडि रहेको ब्राजिलमा अहिले तीव्र रुप्मा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ४४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

ब्राजिलमा हालसम्म १४ लाख ५३ हजार ३ सय ६९ जना सङ्क्रमित भएका छन् भने ६० हजार ७ सय १३ ले ज्यान गुमाएका छन् । त्यसैगरी तेस्रो धेरै प्रभावित भएको राष्ट्र रुसमा ६ लाख ५४ हजार ४ सय ५ जना सङ्क्रमित हुँदा ९ हजार ५ सय ३६ जनाको मृत्यु भएको छ । सङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौंमा पेरु, आठौँमा चिली, नवौँमा इटली र दशौँमा इरान रहेका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ५ हजार २ सय २० पुगेको छ । यस्तै भारतमा बिहीवार बिहानसम्म मृत्यु हुनेको संख्या १७ हजार ८ सय ४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वभरि सङ्क्रमितहरुको संख्यामा कमी नआए पनि मानवीय गतिविधिमा भने बृद्धि हुन थालेको छ । धेरैजसो देशले कोरोना भाइरस फैलिन नदिन भन्दै गरिएको लकडाउनलाई पनि खुकुलो बनाउन थालेका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।

प्रतिक्रिया